बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
एमाले बागमती अधिवेशन

च्यासलमा दिक्दारी मान्दै एमाले प्रतिनिधिहरू : सहमतिका नाममा ४ दिन बित्यो, पाँचौँ दिन पाउला त नेतृत्व ?

बिहीबार, ११ असोज २०८०, २० : ५३
बिहीबार, ११ असोज २०८०

काठमाडौँ । नेकपा एमालेको बागमती प्रदेश अधिवेशन लम्बिँदा प्रतिनिधिहरू दिक्दारी मान्न थालेका छन् । बिहीबार साँझ एमाले मुख्यालय च्यासलमा भेटिएका केही प्रतिनिधिहरूले शुक्रवार पनि तोकिएको समयमा मतदान नभए अव कुरेर नबस्ने मनस्थितिमा बनाएको बताए ।

अधिवेशन सुरु भएको बिहीबार चौथो दिन बित्यो,पाँचौँ दिनमा नेतृत्व चयनका लागि मतदानको भाखा सरेको छ । असोज ८ गते भृकुटी मण्डपमा उद्घाटन भएको अधिवेशन दोस्रो दिन ९ गते प्रज्ञा भवनमा बन्द सत्र चल्यो ।

तेस्रो दिन असोज १० गतेबाट अधिवेशन स्थल फेरेर ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालयमा पुग्यो । दश गते नै मतदानमार्फत नेतृत्व छनोट गरेर आ आफ्ना घर फर्कने सोच बनाएका केही प्रतिनिधिहरू ११ गते बेलुकासम्म पनि च्यासलमै धाउनु पर्दा दिक्दारी लागेको अनुभव सुनाइरहेका थिए ।

निर्वाचन मण्डलले दुई दिनमा तीन पटक भन्दा बढी निर्वाचन कार्य तालिका परिवर्तन गर्‍यो र पछिल्लो कार्य तालिका अनुसार शुक्रवार बिहान ८ बजे मतदानको समय निर्धारण गरिएको सूचना टाँसेको छ । 

‘शुक्रवार पनि मतदान भएन भने म चाहिँ अब अधिवेशन भनेर बस्दिनँ,’ दोलखाबाट आएका एक प्रतिनिधिले अधिवेशन स्थल च्यासलमा रातोपाटीसँग भने, ‘सहमति गरे पनि चुनाव गरे पनि समयमा गर्नुपर्‍यो नि । दुई दिनका लागि भनेर आइयो ५ दिन बित्न लाग्यो अब पनि यहाँ बसेर आफ्नो व्यवहार बिगार्नु छैन ।’ उनले कतिपय प्रतिनिधिहरू बिहीबारै घर हिँडिसकेको पनि बताए । 

‘कतिपय साथीहरू बिहीबार बिहानै घरतिर लागे । हामी केही चाहिँ मतदान गरौं न भनेर बसियो । बिहान बेलुका भन्दाभन्दै कहिल्यै हुँदैन’, दिक्क मान्दै ती प्रतिनिधिले सुनाए ।

नयाँ नेतृत्व चयन गरेर समयमै घर फर्कन आतुर दोलखाका जस्तै अर्का सिन्धुलीका प्रतिनिधि पनि अधिवेशन आयोजक समितिको भद्रगोल व्यवस्थापनप्रति सन्तुष्ट देखिएनन् । सहमतिका नाममा अधिवेशन लम्ब्याएर पार्टी नेतृत्वले कार्यकर्तालाई अल्मल्याएकोमा उनले आक्रोश पोखे ।

‘यो तरिका देख्दा त थकाउने, गलाउने र भगाउने नीति लिएको जस्तो देखियो’, उनले भने, ‘हामी काम गरेर खाने मान्छेलाई यसरी बराल्नु त राम्रो भएन नि ।’

अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवका लागि पार्टी नेतृत्वले सुरुबाटै सहमतिका लागि प्रयास गरेको थियो । रामेछापका कैलाश ढुङ्गेल र मकवानपुरका कृष्णप्रसाद दाहालसहित काठमाडौँका सानु श्रेष्ठ, रामेछापकै केशर बुढाथोकी र नुवाकोटका केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गरेका थिए ।

अध्यक्षमै ५ जना आकाङ्क्षी देखिएपछि सहमतिका लागि नेतृत्वले गरेको प्रयास प्रभावहीन बन्यो । यद्यपि बिहीबार केशव पाण्डे र सानुकुमार श्रेष्ठले आफ्नो उम्मेदवारी फिर्ता लिए । श्रेष्ठ र पाण्डेले उम्मेदवारी फिर्ता लिएपछि ढुङ्गेल र दाहालकै बीचमा प्रतिस्पर्धा हुने देखिएको छ ।

१३ जिल्लाका झन्डै १२ सय प्रतिनिधिले पाँच पदाधिकारीसहित २४५ सदस्यीय नयाँ प्रदेश कमिटी चयन गर्दैछन् । अधिवेशन अवधि लम्बिँदै जाँदा उम्मेदवार बनेकाहरू भने बिहीबार साँझैसम्म प्रतिनिधिसँग हात जोडेर भोट माग्न व्यस्त देखिन्थे । 

मजदुर क्लस्टरमा निर्विरोध 

एमाले बागमती प्रदेश अधिवेशनमा मजदुर क्लस्टरतर्फ तीनजना सदस्य भने निर्विरोध बनेका छन् । 

निर्विरोध हुनेमा जिफन्ट राष्ट्रिय कमिटी सचिव तारानिधि पन्त (काभ्रे), जिफन्ट बागमती प्रदेश उपाध्यक्ष अर्जुन अर्याल (मकवानपुर) र पूर्व उपमहासचिव गीता कार्की (मकवानपुर) छन् । आवश्यक तीन पदमा तीन जनाको मात्र उम्मेदवारी परेपछि उनीहरू निर्विरोध भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप