जवानीको जोस, विद्रोह, निर्दोषता र उन्मत्त प्रेम कहानी भएकाे ‘बबी’ को ५० वर्ष
सन् १९७३ को कुरा हो, बबी नामको यस्तो फिल्म रिलिज भयो जसमा नायक नायिका दुवै नयाँ थिए । नायिका डिम्पल कपाडियाको त कसैले नामसमेत सुनेका थिएनन् ।
यसका निर्देशक राज कपुरको पछिल्लो फिल्म नराम्रोसँग फ्लप भएको थियो । तर यो फिल्म रिलिज भएपछि भने गाउँ–टोलदेखि सबै ठुला सहरका थिएटरका लागि विशेष बस चल्थ्यो जसलाई ‘बबी बस’ भनिन्थ्यो । यो बसले मानिसलाई फिल्म देखाएर गाउँमा फिर्ता लगिदिन्थ्यो ।
डिम्पल कपाडियाको पोल्का डट ड्रेस ‘बबी ड्रेस’ को नामले चर्चित भयो र मानिसहरूले नायक ऋषि कपुरको मोटरसाइकललाई ‘बबी मोटरसाइकल’ भन्ने गर्थे ।
फिल्म ‘बबी’ ५० वर्षअघि २८ सेप्टेम्बर १९७३ मा रिलिज भएको थियो । बबीको लोकप्रियताको अर्को उदाहरण सन् १९७७ मा देखियो जब बाबु जगजीवन रामले दिल्लीको रामलीला मैदानमा चुनावी र्याली गर्ने निर्णय गरे ।
उनी इन्दिरा गान्धीसँग अलग भएका थिए । त्यस साँझ जानीजानी दूरदर्शनमा बबी देखाइयो भन्ने गरिन्छ । यसो गरेर मानिसलाई र्यालीमा जानबाट रोक्न चाहन्थे । तर यस्तो भएन र अर्को दिन पत्रिकाको हेडलाइन थियो ‘बाबु बिट्स बबी’ ।
त्यति बेलासम्म हिन्दी सिनेमामा परिपक्व प्रेम कहानी बन्दै आएको थियो तर बबी सायद पहिलो हिन्दी टिनएज लभ स्टोरी थियो जसमा जवानीको जोस, विद्रोह, अबोधता र उन्मत्त प्रेमको मेल थियो ।
वितरक भेटिएको थिएन
यद्यपि, बबी सफल हुनु पछाडिको सङ्घर्ष छुट्टै छ । चर्चित फिल्म विश्लेषक जयप्रकाश चौकसे राज कपुरका निकै नजिक थिए ।
जयप्रकाश चौकसेले भनेका थिए, ‘राज साहबको अफिसमा आर्चीका कमिक्स हुन्थे । उनले कमिक्समा एक पात्रबारे पढे जो प्रेममा थिए, त्यसपछि उनका बुवाले भन्छन्, ‘तिम्रो यो प्रेम गर्ने उमेर हो ?’’
‘यु आर टु यंग टु फल इन लभ । यहीँबाट यस्तो फिल्म बनाउनुपर्छ भन्ने आइडिया आयो । सन् १९७० मा राज कपुरको फिल्म ‘मेरा नाम जोकर’ फ्लप भएको थियो ।’
‘त्यसको एक वर्षपछि राज कपुरले निर्माण गरेको र उनका छोरा रणधीर कपुरले निर्देशन गरेको फिल्म ‘कल आज कल’ पनि फ्लप भयो । त्यति बेला राज कपुरका बुवा पृथ्वी राज कपुरको निधन भयो । उनकी आमा बितिन् । उनका नजिकका साथी तथा सङ्गीतकार जयकिशनको पनि मृत्यु भयो । ’
यही त्यो समय थियो जब तमाम चुनौतीको बीचमा, राज कपूरले एक युवा प्रेम कहानी बनाउने निर्णय गरे । तर फिल्मका लागि पैसा चाहिएको थियो जसका लागि हिन्दुजा परिवार अघि बढ्यो । त्यति बेला हिन्दुजा परिवारले विदेशमा खास गरी इरानमा हिन्दी फिल्म वितरण गरेर आफ्नो व्यवसाय विस्तार गरिरहेको थियो ।
जयप्रकाश चौकसे भन्छन्, ‘फिल्म तयार थियो । राजले फिल्मको लागि महँगो मूल्य मागेका थिए । त्यो राजेश खन्नाको समय थियो र राज कपुर राजेश खन्नाको फिल्मबाट एक लाखभन्दा बढी मूल्य मागिरहेका थिए । शशी कपुर पहिलो वितरक थिए जसले दिल्ली–युपी किने र एक वकिलले पन्जाबको अधिकार किने । कति ठाउँका लागि फिल्मी बिक्री नै भएनन् । फिल्ममा लगानी गरेको हिन्दुजा परिवार अदालतसम्म पुग्यो ।’
‘राज कपुरलाई लाग्यो कि फिल्म हिट भए अरू ठाउँको अधिकार पनि बिकिहाल्छ तर हिन्दुजालाई भने दुई ठाउँको अधिकारले कसरी पैसा उठाउने । उनले उनी विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गरे । रिलिज अघि राज कपुरले उनीहरूलाई पैसा फिर्ता दिए । तर फिल्मको पहिलो सो हाउस फूल भयो र फिल्म राम्रोसँग चल्यो । मानिसहरूले राज कपुरलाई पुनः महान् निर्देशक मान्न थाले । ती मानिसहरू पनि जसले राज निर्देशन बिर्सिसके भन्न थालेका थिए ।’
धितो राखिएको थियो राज कपुरको आरके स्टुडियो
आफ्नो आत्मकथा खुल्लम खुल्लामा ऋषि कपुर लेख्छन्, ‘सिनेमाका लागि राज कपुरको प्यासन यस्तो थियो कि फिल्मबाट कमाएको सबै पैसा उनी फिल्ममा नै लगाउँथे । मेरा नाम जोकरपछि आरके स्टुडियो धितो राखिएको थियो ।’
‘राज कपुरको आफ्नै घर पनि थिएन । बबी सफल भएपछि उनले आफ्नो घर किने । बबी आरके ब्यानरको उत्थानका लागि बनाइएको थियो, मलाई लन्च गर्नका लागि होइन । यो फिल्म नायिकामा केन्द्रित थियो । डिम्पलको खोजी पुरा भएपछि म बाई डिफल्ट हिरो छानिएको हुँ । यो अलग कुरा हो कि सबै क्रेडिट मैले पाएँ किनभने डिम्पलको विवाह भयो र फिल्म हिट हुँदा मैले वाहवाही पाएँ ।’
बबी बनाउने बेला इन्डस्ट्रीका नाम चलेका धर्मेन्द्र, प्राण, राजेन्द्र कुमारले आरके ब्यानरलाई पुनः सफल बनाउन उनीहरू पैसा बिना नै काम गर्न तयार भएको बताइन्छ । तर राज कपुरले सबैलाई धन्यवाद दिँदै भनेका थिए, ‘यति बेला मेरो फिल्म फ्लप भइसकेको छ, त्यसैले मेरो स्तर अलि खस्किएको छ भने तपाईंहरु माथि हुनुहुन्छ । तपाईंहरु र मेरो स्तर बराबर भयो भने हामी सँगै काम गर्नेछौँ । ’
र राज कपुरले यसो गरेर पनि देखाए ।
‘बबी’ रिलिज भएपछि ऋषि कपुर–डिम्पलको जोडीले हङ्गामा मच्चायो । बबी फिल्म मात्र नभई फेशन स्टेटमेन्ट पनि थिए । डिम्पलको त्यो मिनी स्कर्ट, पोल्का डट सर्ट, हट पाइन्छ, ठुला चस्मा, पार्टीहरू...राज कपुरले एक जीवनशैलीको परिचय जवान भारतसँग गराए ।
अमृत गंगर फिल्म इतिहासका विशेषज्ञ हुन् । बीबीसीकी सहयोगी पत्रकार सुप्रिया सोगलेसँग कुरा गर्दै उनले भने, ‘बबी ब्रागान्जा अर्थात् बबीको ५० वर्षपछि पनि क्रेज छ । यो युवा पीढीको प्रेम कहानी थियो जुन समाजका विभिन्न वर्गका थिए, राजा (ऋषि कपुर) एक हिन्दु धनी परिवारका थिए र बबी इसाई परिवारका हुन् ।’
‘यो त्यो समय थियो जब भारत १९७१ को युद्धबाट निस्किरहेको थियो । मेरा नाम जोकर फ्लप भएको थियो । यस्तोमा देशलाई, युवालाई, ताजा हावा, एउटा परिवर्तनको आवश्यकता थियो । यही माहौलमा बबी थप छायो । ’
राजेश खन्नाले किन फ्याँके ऋषि कपुरको औँठी ?
बबीको सुटिङ अन्तिम चरणमा हुँदा डिम्पल कपाडियाले राजेश खन्नासँग विवाह गरिन् ।
डिम्पल कपाडियालाई नायिका छान्ने कहानीबारे जयप्रकाश चौकसेले बताएका थिए । उनले भने, ‘किशन धवन चरित्र कलाकार थिए । उनकी श्रीमती बुन्दी धवन, राज कपुरकी श्रीमती कृष्णाकी साथी थिइन् । उनले डिम्पल कपाडियाको नाम सुझाइन् । स्क्रिप्टसँगै डिम्पलका सिन आरके स्टुडियोमा धेरै वर्षसम्म कतै राखिएका थिए । ती दृश्य हेर्दा तपाईंलाई विश्वास नै लाग्दैन कि उनी त्यही डिम्पल कपाडिया हुन् । त्यति बेला डिम्पल १५ वा १६ वर्षको मात्र भएको हुनुपर्छ ।’
यो फिल्म सन् १९७३ अर्थात २० औँ शताब्दीमा बनेको हो । तर, बबीको एउटा दृश्यमा डिम्पलले ‘म २१औँ शताब्दीकी केटी हुँ, मलाई कसैले छुन सक्दैन’ भन्छिन् । ऋषि कपुरले उनलाई अहिले २० औँ शताब्दी नै चलिरहेको छ भनेर रोक्दा उनले भन्छिन्, ‘२० औँ शताब्दी बुढो भइसक्यो र म आफ्नो सुरक्षा आफैँ गर्न सक्छु ।’ डिम्पलले साँच्चै नै आफ्नो जीवन यसरी नै बाँचेकी छिन् ।’
आफ्नो आत्मकथा खुल्लम खुल्लामा ऋषि कपुर लेख्छन्, ‘डिम्पल हाम्रो घरको हिस्सा बनेकी थिइन् । म राज कपुरलाई पापा भन्थेँ, डिम्पलले पनि पापा नै भन्थिन् । पछि मैले राज जी भन्न सुरु गरेँ तर डिम्पलले अन्तिमसम्म पापा नै भनिरहिन् ।’
बबीको सुटिङका बेला म यासमिनसँग सम्बन्धमा थिएँ । उनले मलाई एउटा औँठी दिएकी थिइन् । तर सुटिङका बेला डिम्पलले कति पटक त्यो औँठी निकालेर लगाउँथिन् । राजेश खन्नाले डिम्पललाई प्रपोज गर्दा उनले त्यो औँठी निकालेर समुद्रमा फ्याँकिदिए । प्रेसमा धेरै कुरा चर्चा भए । त्यति बेला हामी बारे धेरै कुरा छापिए । तर हामीबीच त्यस्तो केही पनि थिएन । हो, एक नायिकाको रूपमा पनि म उनका लागि पोजेसिभ भने थिएँ ।’
अमृत गंगर भन्छन्, ‘राज कपुरको भिजनलाई ऋषि र डिम्पलले निकै उत्कृष्ट तरिकाले उतारे चाहे त्यो गीत होस्, डान्स होस् वा अभिनय । फिल्ममा ऋषि कपुर र डिम्पलको पहिलो भेटले त्यही पल दोहोराउँछ जब राज कपुर र नरगिस पहिलो पटक भेटेका थिए । ख्वाजा अहमद अब्बासले ट्र्याजिक अन्त्य लेखेका थिए जसलाई पछि ह्याप्पी एन्डिङमा परिवर्तन गरियो ।’
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उर्वर जग्गा रेल्वे ट्र्याकमा परेपछि अन्योलमा किसान
-
नेपाली विद्यार्थीलाई चीनमा सरकारी छात्रवृत्तिको अवसर, खुल्यो दरखास्त
-
१२ बजे, १२ समाचार : सभामुखलाई चिठी पुग्नासाथ रविको सांसदपद निलम्बनदेखि डीपी अर्याल कार्यवाहक सभापतिसम्म
-
एकपछि अर्को कार्यवाहकको अभ्यासमा रास्वपा !
-
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
-
बागमतीमा सर्वदलीय बैठक : विकास योजना कार्यान्वयन गर्न सरकारलाई आग्रह