उत्तरसँगको तनावबिच दक्षिण कोरियाको शक्ति प्रदर्शन, तस्बिरहरू
बुधबार, १० असोज २०८०, १४ : ५३

सोल । एक दशकपछि गरिएको सैन्य परेडमा दक्षिण कोरियाले मंगलबार आफ्ना उन्नत हतियारहरू प्रदर्शन गरेको छ । वर्षाले भिजेको राजधानी सोलको सडकमा ट्याङ्क र मिसाइलहरू बोकेका सैन्य गाडीहरू प्रदर्शन गरिएको थियो ।
‘७५ औँ आर्मड फोर्सेस डे’को अवसरमा देशको सेना स्थापना भएको सम्झनामा आयोजित सो परेड आयोजना गरिएको हो । पछिल्लो समय उत्तर कोरियासँग तनाव बढिरहेका बेला दक्षिण कोरियाले आयोजना गरेको यो परेडलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
मंगलबार बिहानदेखि सुरु भएको कार्यक्रममा सोलको हवाई अड्डामा पुगेर राष्ट्रपति युन सुक योलले प्योङयाङलाई परमाणु हतियार प्रयोग नगर्न चेतावनी दिएका थिए । ‘यदि उत्तर कोरियाले परमाणु हतियार प्रयोग गर्छ भने उसको सत्तालाई हाम्रो गठबन्धनको सशक्त प्रतिक्रियाबाट अन्त्य गरिनेछ,’ युनले भने ।