सर्वाधिक छक्काको कीर्तिमान पनि नेपालकै नाममा
काठमाडौँ । नेपाली पुरुष क्रिकेट टोलीले टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पाली (इनिङ्स) मा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान पनि आफ्नो नाममा पारेको छ । चीनमा जारी १९औँ एसियाली खेलकुदको बुधबार खेलिएको मंगोलियाविरुद्धको खेलमा नेपालले उक्त कीर्तिमान बनाएको हो ।
मंगोलियाविरुद्धको उक्त खेलमा नेपाली ब्याट्सम्यानहरुले कुल २६ वटा छक्का हिर्काएका थिए । कुशल मल्लले सर्वाधिक १२ वटा छक्का हिर्काएका थिए । दीपेन्द्रसिंह ऐरीले पनि आठवटा छक्का प्रहार गरेका थिए । यसका अतिरिक्त कप्तान रोहित पौडेलले पनि ६ वटा छक्का हिर्काएका थिए ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक छक्का हिर्काउने राष्ट्रको कीर्तिमान अफगानिस्तानको नाममा थियो । अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ तारिखमा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा २२ वटा छक्का हिर्काएको थियो ।
यसैगरी सन् २०२३ को मार्च २६ तारिखमा खेलिएको दक्षिण अफ्रिकाविरुद्धको वेस्ट इन्डिजले पनि २२ वटा छक्का हिर्काएको थियो । नेपाली टोलीले बुधबार अफगानिस्तान र वेस्ट इन्डिजको नाममा रहेको सोही कीर्तिमान तोडेको हो ।
यसैगरी मंगोलियाविरुद्धको खेलपछि नेपाल छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन जोड्ने राष्ट्र पनि बनेको छ । मंगोलियाविरुद्धको खेलमा नेपाली टोलीले छक्का र चौकाबाट मात्र दुई सय १२ रन जोडेको हो । यसका क्रममा नेपालले २६ छक्काका अतिरिक्त १४ वटा चौका पनि हिर्कायो ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा छक्का र चौकाको मद्दतले एकै पालीमा सर्वाधिक रन बनाउने राष्ट्रको कीर्तिमान भारतको नाममा थियो । सन् २०१७ को डिसेम्बर २२ मा खेलिएको श्रीलंकाविरुद्धको खेलमा भारतले छक्का र चौकाबाट दुई सय १० रन बनाएको थियो ।
श्रीलंकाविरुद्धको उक्त खेलमा भारतले २१ छक्का र २१ वटा चौका हिर्काएको थियो । मंगोलियाविरुद्धको खेलमा बुधबार नेपालले भारतको नाममा रहेको त्यही कीर्तिमान ताडेर आफ्नो नाममा नयाँ कीर्तिमान बनाएको हो ।
मंगोलियाविरुद्धको बुधबार खेलिएको खेलमा नेपालले अन्य थुप्रै विश्व कीर्तिमान पनि बनाएको थियो । नेपालले उक्त खेलमा टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमै विश्व कीर्तिमानी जित हासिल गरेको थियो । नेपालले मंगोलियालाई दुई सय ७३ रनको विशाल अन्तरले हराएको थियो ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठुलो अन्तरको जितको कीर्तिमान चेक गणतन्त्रको नाममा थियो । चेक गणतन्त्रले सन् २०१९ को अगस्त ३० मा खेलिएको खेलमा टर्कीलाई दुई सय ५७ रनले हराएको थियो । नेपालले त्यो कीर्तिमान तोडेको हो ।
मंगोलियाविरुद्धको खेलमा टस हारी पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित ओभरमा तीन विकेट गुमाएर तीन सय १४ रन बनायो । त्यो पनि विश्व कीर्तिमान थियो । यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान अफगानिस्तानको नाममा थियो ।
अफगानिस्तानले सन् २०१९ को फेब्रुअरी २३ मा खेलिएको आयरल्यान्डविरुद्धको खेलमा तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । नेपाली टोली बुधबार मंगोलियाविरुद्धको खेलमा अफगानिस्तानको नाममा रहेको त्यही कीर्तिमान तोडेको हो ।
पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको मंगोलियाविरुद्ध नेपाली टोलीका ब्याट्सम्यान कुशल मल्लले अविजित एक सय ३७ रन बनाएका थिए । कुशलले पनि मंगोलियाविरुद्धको खेलमा कीर्तिमान बनाएका थिए ।
कुशलले केवल ५० बलको सामना गरी १२ छक्का र आठ चौका पनि हिर्काएका थिए । उनले सबैभन्दा छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान बनाएका हुन् । ्बायाँहाते ब्याट्सम्यान कुशलले केवल ३४ बलमा शतक पुरा गरेका थिए ।
यसअघि टी—२० अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो शतक पुरा गर्ने खेलाडीको कीर्तिमान भारतका रोहित शर्माको नाममा थियो । भारतीय टोलीका वर्तमान कप्तान शर्माले ३५ बलमा शतक बनाएका थिए । शर्माका अतिरिक्त दक्षिण अफ्रिकाका डेभिड मिल्लर र चेक गणतन्त्रका एस. बिक्रमाशेकराले पनि ३५ बलमा अर्धशतक बनाएका थिए । कुशलले उनीहरूकै कीर्तिमान तोडेका हुन् ।
यसका अतिरिक्त मंगोलियाविरुद्धको खेलमा दीपेन्द्रसिंह ऐरीले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा चाँडो अर्धशतक पुरा गर्ने खेलाडीको कीर्तिमान पनि बनाए । ऐरीले केवल नौ बलमा अर्धशतक पुरा गरेका थिए । उनले अविजित ५२ रन बनाएका थिए ।
दीपेन्द्रले १० बलाको सामना गरी आठ छक्का पनि प्रहार गरेका थिए । यसअघि, भारतका ब्याट्सम्यान युवराज सिंहले सन् २००७ मा इंग्ल्याण्डविरुद्ध १२ बलमा सबैभन्दा चाँडो अर्धशतक बनाएका थिए । ऐरीले युवराज सिंहको त्यही कीर्तिमान तोडेका थिए ।
यसका अतिरिक्त दीपेन्द्र सिंह टी—२० अन्तर्राष्ट्रिय क्रिकेटको एकै पालीमा सर्वाधिक स्ट्राइक रेटसहित रन बनाउने खेलाडी पनि बनेका छन् । मंगोलियाविरुद्ध केवल १० बलमा अविजित ५२ रन बनाउँदा दीपेन्द्रको स्ट्राइक रेट ५२० रहेको थियो ।
यसअघि उक्त कीर्तिमान वेस्ट इन्डिजका ब्याट्सम्यान ड्वेन स्मिथको नाममा रहेको थियो । उनले सन् २००७ को सेप्टेम्बर १३ मा बंगलादेशविरुद्ध ४१४.२८ को स्ट्राइकर रेटमा रन बनाएका थिए । उक्त खेलमा उनले सात बलको सामना गरी २९ रन बनाएका थिए ।
क्यानडाका साद बिन जाफरले पनि सन् २०२२ को नोभेम्बर १४ मा बहराइनविरुद्ध ४१४.२८ को स्ट्राइकर रेटमा रन बनाएका थिए । उनले त्यो खेलमा सात बलको सामना गरी अविजित २९ रन जोडेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री कप महिला क्रिकेटको छनोट आजदेखि
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस