एमाले प्रतिनिधिको प्रश्न : रामेछाप की मकवानपुर ?
काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व सहमतिमै चयन गर्ने प्रयास लगभग असफल भएको छ । अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित २४० सदस्यीय नयाँ नेतृत्व चयन गर्दैछ ।
असोज ८ र ९ गते दुई दिनका लागि तय भएको अधिवेशन अरू दुई दिन लम्बिने देखिएको छ । नेतृत्व चयन गरेर मात्र अधिवेशन समापन हुने भएकाले अधिवेशन अवधि लम्बिने भएको नेताहरूको भनाइ छ । प्रदेश नेतृत्वका लागि आकाङ्क्षीहरूको लर्को लाग्दा अधिवेशन थप रोचक बन्दै गएको र केन्द्रीय नेताहरूले समेत चासोका साथ हेरेका छन् ।
प्रदेश नेतृत्व (अध्यक्ष) पदका लागि नेताहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, कृष्णभक्त पोखरेल, केशव पाण्डे र सानु श्रेष्ठले अध्यक्षमा आकाङ्क्षा देखाएका छन् । आकाङ्क्षीहरूले एकले अर्कालाई छोड्न तयार भइनसकेकाले निर्वाचनमार्फत नै नेतृत्व चयन हुने सम्भावना बढ्दै गएको प्रतिनिधि र नेताहरूले बताएका छन् ।
‘मंगलबार बेलुकासम्म आकाङ्क्षीहरू कसैले पनि अर्कोलाई छोड्ने मनस्थिति बनाएको देखिँदैन । त्यसैले निर्वाचन हुने लगभग निश्चित जस्तै छ’, निर्वाचन मण्डलका सदस्य रामेश्वर फुयाँलले रातोपाटीसँग भने, ‘सहमतिको प्रयास पनि जारी नै छ ।’
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा उद्घाटन गरेको अधिवेशनको मंगलबार प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र चलेको छ । बन्द सत्रमा प्रदेश कमिटी अध्यक्षले पेश गरेको प्रतिवेदनमा समूहगत छलफल गरेर पारित गरेसँगै निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन मण्डलका सदस्य तथा एमाले नेता शेरबहादुर तामाङले जानकारी दिए ।
‘बन्दसत्रबाट प्रतिवेदन पास हुनेबित्तिकै निर्वाचन प्रक्रिया सुरु हुन्छ’, तामाङको भनाइ छ । उनका अनुसार निर्वाचन एमाले पार्टी कार्यालय च्यासलमा गर्ने तय भएको छ ।
बागमती प्रदेश इन्चार्ज समेत रहेका गुरु बरालको नेतृत्वमा ११ सदस्यीय निर्वाचन मण्डल गठन भएको छ । जसमा शेरबहादुर तामाङ, देवी ज्ञवाली, आनन्दप्रसाद पोखरेल, गोकुलप्रसाद बाँस्कोटा, कमल चौँलागाईँ, रामेश्वर फुयाँल, कृष्णबहादुर राई, सुशीला नेपाल, पार्वत गुरुङ र रत्ना गुरुङ सदस्य छन् ।
रामेछाप कि मकवानपुर ?
बागमती प्रदेशमा नेकपा एमालेका संगठित सदस्य झण्डै एक लाख १० हजार रहेका छन् । उनीहरूमध्येबाट ११ सय ३८ जना प्रतिनिधि छानिएर काठमाडौँमा अधिवेशनका लागि सहभागी छन् । एमाले अध्यक्ष केपी ओलीले अधिवेशन उद्घाटन गर्दै व्यक्ति व्यक्तिलाई चुनावी निर्वाचनमा प्रतिस्पर्धा गर्न छुट भए पनि प्यानल बनाएर निर्वाचनमा गए उम्मेदवारी नै खारेज गर्ने चेतावनी दिएपछि नेताहरू प्यानलविनै निर्वाचन प्रतिस्पर्धा गर्ने मुडमा देखिन्छन् ।
प्रज्ञा भवनमा भेटिएका अध्यक्षका आकाङ्क्षी कैलाश ढुंगेलले भने, ‘सहमति भए ठिकै छ, नभए भोली मतदान हुन्छ ।’ निर्वाचन प्रक्रिया सुरु भैनसकेकाले अधिवेशन प्रतिनिधिहरू भने अन्योलमा देखिन्छन् । ‘खै के हुन्छ भन्न सकिँदैन । निर्वाचन हुन्छ भन्ने पनि छ, सहमतिको प्रयास भइरहेको पनि भन्ने सुनिन्छ’, प्रतिनिधि तारानिधि पोखरेलले भने, ‘जे भए पनि ठिकै छ । सहमति कि निर्वाचन भन्ने अन्योल हुँदा प्रतिनिधिहरू भने आपसमा यदि निर्वाचन भए अध्यक्षमा कसलाई भोट हाल्ने भनेर कोण भाषामा खासखुस गरिरहेका भेटिए ।
एकले अर्कोलाई भेट्दा उनीहरूबिच कुरा गरेको प्रस्टै सुनिन्थ्यो, ‘रामेछाप कि मकवानपुर ?’ रामेछापको अर्थ कैलाश ढुंगेल र मकवानपुरको अर्थ कृष्णप्रसाद दाहाल भन्ने प्रस्टै बुझिन्थ्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क
-
घट्न थाल्यो डेंगु सङ्क्रमण, जोखिम कायमै रहने
-
बाढीले बागमती कोरिडोरमा भएको क्षतितर्फ सरकारको अझै पुगेन ध्यान (तस्बिरहरू)
-
हेटौँडा–१२ : नागरिकको घरघरमा कांग्रेस उम्मेदवार तिवारी
-
एमाले तेह्रथुममा संस्थापनलाई पराजित गर्न दुङ्गानाले बेहोरेको सकस