फ्लोरिङ र फर्निसिङमा जस्तै फर्निचरमा आत्मनिर्भरता नजिक पुग्न राज्यले सहजीकरण गर्नुपर्छः अनिल महेश्वरी
नवौँ संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो (फर्नेक्स २०२३) असोज १० गतेदेखि राजधानीको भृकुटीमण्डपमा सुरु हुँदै छ । एक्स्पोको एशोसिएट पार्टनरका रूपमा प्रेष्टिज कार्पेटले सहकार्य गरेको छ । नेपाली उत्पादन प्रेष्टिज कार्पेटजस्तै अन्य उद्योगले बजारमा पठाएको कार्पेटका कारण अहिले नेपालले आयात गर्नुपरेको छैन ।
प्रेस्टिज कार्पेट उद्योगका निर्देशक अनिल महेश्वरी विगत २६ वर्षदेखि नेपालमा व्यवसाय गरिरहेका छन् । ५ वर्ष पहिले स्थापना भएको जेमहोम टेक्सटाइल नामक उद्योगले सोफाका लागि कपडा उत्पादन गर्दै आएको छ । महेश्वरीले प्रेस्टिज कार्पेट उद्योग पनि स्थापना गरेका छन् भने भारतीय ब्राण्ड किङ कोयलको नेपालका लागि आधिकारिक बिक्रेता समेत हुन् । पछिल्लो समय आर्थिक क्रियाकलापमा आएको सुस्तताले उद्योग तथा व्यवसाय सञ्चालनमा समस्या भएको बताउने महेश्वरीसँग फर्नेक्स २०२३ का साथै समग्र बजारको अवस्थाका सम्बन्धमा गरिएको कुराकानी-
बजार असहज छ भन्दै गर्दा तपाईँले महसुस गरेको अनुभव कस्तो छ ?
व्यक्तिगत रूपमा भन्नु पर्दा विगतका दिनमा जति सहज अवस्था थियो, त्यो अहिले छँदै छैन । आर्थिक क्रियाकलापमा आएको मन्दीले मेरो व्यवसाय तथा उद्योग मात्र नभई समग्र उद्योगहरू प्रभावित बनेको अवस्था छ । कतिपय उद्योग त बन्द हुने अवस्थामा छन् । त्यसमा पनि राज्यले वास्तविकता नबुझी छिनछिनमा गर्ने नीतिगत परिवर्तनले झनै समस्या थपिएको छ ।
यस्ता समस्याको कुरा गर्दै गर्दा हामी अझै पनि आशावादी छौँ । मेरो हकमा नै भन्नुहुन्छ भने व्यापारबाट सुरु भएको यात्रा अहिले उद्योगसम्म पुगिसकेको छ । आउने दिनमा वाइनल पीभीसी फ्लोरिंगको पनि उत्पादन सुरु गर्दैछौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा धेरैसँग सहकार्य गरिरहेका छौँ । भारतको ग्रिन प्यानलको ल्यामिनेट फ्लोरिंगको नेपालको वितरक, ट्राइडेन्ट टावल, जेम फ्लोरिंग लगायतका उत्पादनको बिक्री वितरण हामीले नै गरिरहेका छौँ । अवस्था अलि सहज भएको खण्डमा उल्लेखित ब्राण्ड मध्ये केहीको उत्पादन प्लान्ट नै नेपालमा हाल्ने योजना बनाएका छौँ । तर, अहिले कै अवस्थामा चैं यसै भन्न सकिन्न ।
फर्नेक्स २०२३ मा ठुलो लगानी गरेर सहभागिता जनाउनु भएको छ नि ?
मैले अघि पनि भने, निराशाका बिच आशा खोज्ने हो । अफ्टेरो बेला आयो भनेर सबै चुप लागेर बस्ने हो भने अहिले भएका सबै उद्योग बन्द हुन्छन् । असहज अवस्थामा भोलिका सम्भाव्यतालाई हेरेर असोज १० देखि १४ गतेसम्म आयोजना हुन गइरहेको नवौँ संस्करणको फर्निचर एक्स्पोमा हामीले सहभागिता जनाएका हौँ । ५ दिने एक्स्पोमार्फत नेपालको फर्निचर तथा फर्निसिङ बजारको उत्थान गर्दै नेपालमा उत्पादित वस्तु तथा सेवालाई एउटै छानामुनि प्रदर्शनीमा ल्याउने उद्धेश्य हाम्रो संस्थाले लिएको सन्दर्भमा त्यो उद्देश्यलाई सघाउँदै आफ्ना उत्पादनको ब्राण्डिङ र प्रवर्द्धन गर्न हामी एक्स्पोमा जोडिएका हौँ । आज नभए भोलिको बजार बलियो बनाउन एक्स्पोमा टाइटल स्पोन्सोरमा प्रेस्टिज कार्पेट र एशोसिएट पार्टनरमा पैष्टिज कार्पेट गरी २ वटा ब्रान्डलाई मैले एक्स्पोमा सहभागि गराएको छु । भारतदेखि नेपालसम्मका सम्बद्ध पक्षहरुसँगको लामो छलफलपछि मात्र हामीले एक्स्पोमा आफ्ना ब्रान्डलाई अघि बढाउने निर्णय गरेका हौँ । यसमा दीर्घकालमा हामीले के पाउन सक्छौँ भन्ने अपेक्षा सहित सहभागिता जनाएका हौँ ।
एक्स्पोबाट कस्तो अपेक्षा राख्नु भएको छ ?
हाम्रो संघले बर्सेनि यो प्रदर्शनी गरिरहेको छ । उपभोक्ताको ज्ञान बढाउने र प्रदर्शनीमा आइसकेपछि केही किन्ने सोच आउँछ र यसले बजार फेरि पुनर्जीवित हुन्छ भन्ने एउटा पाटो हो । नेपालमा राम्रो गुणस्तर भएका उत्पादन तयार हुन्छन् र मेड इन नेपाल नै प्रयोग गर्नुपर्छ भनेर सन्देश प्रवाह गर्नका एक्स्पोले मद्दत गर्छ भन्ने लाग्छ, यसले हामीले नेपालमा उत्पादन गर्दै आएका फ्लोरिङका उत्पादनको बजारीकरणमा सहयोग पुग्छ भन्ने हो । प्रेस्टिज कार्पेटमा हामीले धेरै नयाँ उत्पादनहरू सार्वजनिक गरेका छौँ । जुन प्रदर्शनीमा राख्नु जरुरी छ । नेपालमा बनेका यस्ता उत्पादनका बारेमा सर्वसाधारणहरूले जान्नु आवश्यक छ ।
कस्टमाइजेसनलाई हामीले प्राथमिकता दिएका छौँं । यो पटक प्रेस्टिज कार्पेटले बजारमा कस्टमाइज गर्न मिल्ने कार्पेट लिएर आएको छ । ग्राहकहरूको रोजाइ अनुसार साइज, डिजाइन र रंगमा कार्पेट बनाउन सक्षम भएको अवस्थामा त्यो कुरा उपभोक्ताले थाहा पाउनु पर्छ भन्ने हो ।
किंग कोइलको कुरा गर्दा हामी चार वा पाँच वटा नयाँ मेटिरियल लन्च गर्दै छौँ । एक्स्पोको अवसरमा नै ती उत्पादन लन्च गर्दा एकै पटक उपभोक्तासम्म जानकारी पुग्छ भन्ने अपेक्षा छ ।
फर्निचर र फर्निसिंगमा नेपाल कति आत्मनिर्भर छ ?
अहिले हामी समग्रमा फर्निसिङका उत्पादनमा आत्मनिर्भर छौँ । हाम्रो पहिलाको शतप्रतिशत आयातको रेसियो अहिले ९० प्रतिशतभन्दा धेरैले घटिसकेको छ । अहिले समग्रमा १० प्रतिशत हाराहारी आयात हुँदा ९० प्रतिशत हिस्सा नेपाली उत्पादनले धानेको अवस्था छ । प्लास्टिकका कुर्ची नेपालमै बन्छ , भारतबाट ५ प्रतिशत पनि आउँदैन । कार्पेट ९० प्रतिशत स्वदेशमा उत्पादन हुन्छ । सोफाका कपडाहरू ५० प्रतिशत लोकल र ५० प्रतिशत बाहिरबाट आउने गर्दछ । पीभीसी फ्लोरिंग ७० प्रतिशत लोकल बिक्री हुने गरेको छ । समग्रमा ९० प्रतिशत सामाग्री नेपालमा नै उत्पादन हुने गरेको छ । फर्निचरतर्फको कुरा गर्दा ६० प्रतिशत जति स्वदेशी उत्पादनले धानेको छ जस्तो लाग्छ ।
निर्यातको अवस्था कस्तो छ ?
आयात प्रतिस्थापनको अवस्थामा पुग्नु नै ठुलो कुरा हो जस्तो लाग्छ । अहिले निर्यात नगण्य मात्रा हुन्छ । विश्व बजारमा कस्ट म्याचिंग गर्न नसक्नु, मुलुक भुपरिवेष्ठत हुनु, विद्यमान कानुनी व्यवस्था समयसापेक्ष नहुनु जस्ता कारणले कच्चा पदार्थ र लजिस्टिक खर्च जति छ, अथवा त्यो ठाउँमा पुग्न जुन खर्च लाग्छ, त्यसे हामीलाई बाहिरको बजारमा प्रतिष्पर्धी हुनबाट बञ्चित गरिरहेको छ । लजिस्टिक खर्च मात्र व्यवस्थापन गर्न सक्यौँ भने निर्यातको हिस्सा भिजिबल बनाउन सकिन्छ । तर, अहिले निर्यात नै नभएको चाहिँ होइन, तर त्यसको हिस्सा नगण्य छ ।
तपाईँले व्यवसाय सुरु गरे यताका २६ वर्षमा फर्निचर र फर्निसिङ उद्योग तथा व्यवसायमा देख्नुभएको परिवर्तन के हो ?
धेरै परिवर्तन भएको छ । आजभन्दा २० वा २५ वर्ष अगाडि जुन कुराको फर्निसिंग फ्लोरिंग बिक्थ्यो, आज त्यो अवस्था अलग भइसकेको छ । पहिला दोकानदारको भरमा सामान किनिन्थ्यो तर अहिले आर्टिटेक्ट, इन्टेरियर डिजाइन सबै अनुमोदन भएपछि मात्र उपभोक्ताले सामान किन्छन् । यो ट्रान्सफर्मेशन ठुलो उपलब्धि हो भन्ने लाग्छ ।
अहिले उद्योगका हिसाबले पनि धेरै परिवर्तन भएको छ । पहिलो हुने आयात बिस्तारै हट्दै लोकल फ्लोरिंग र फर्निसिंगको ८५ प्रतिशत सामाग्री अहिले नेपालमा नै बन्न थालिसकेको छ । कार्पेट मात्र नभएर मोड्युलेट फर्निचर, हामीले बिक्री वितरण गरिरहेको डल्फिन कुर्ची, जस्तै भारतमा पनि एकाध हुने उत्पादन अहिले नेपालमा नै बनिरहेको छ । नेपालमा मेसिन नहुँदा सोफाका कपडा भने धेरै आयात हुने गरेको छ ।
काठ बाहिरबाट आयात गरिए पनि फर्निचर भने नेपालमा नै बन्ने गरेको छ । १० वर्षअघि चिनियाँ फर्निचरका बजार बढेको भएपनि राम्रो गुणस्तर नपाउँदा विस्थापित भयो । अहिले ग्राहकहरूको नेपाली फर्निचरमाथि नै आकर्षण बढिरहेको छ ।
पछिल्ला केही वर्षको आर्थिक क्रियाकलापमा आएको सुस्तताले कस्तो असर पर्यो ? अहिले कसरी पुनर्स्थापित हुँदै हुनुहुन्छ ?
व्यापारिक सङ्ख्याको हिसाबले बजार बिस्तारको क्रम घटेको छैन । केही हदसम्म वृद्धि नै भएको छ । फ्लोरिंग र फर्निसिंगमा विगत ५ वा १० वर्षमा अपेक्षित वृद्धि भएको छ । जसले गर्दा निर्माण र उत्पादन पनि भइरहेको छ । तर, सबै उद्योगहरू यो मन्दीका कारण पूर्ण क्षमतामा सञ्चालन भएका छैनन् । उद्योग बन्द गर्ने कुरा भएन, जसले गर्दा बाध्यात्मक अवस्थामा तल्लो मूल्यमा उत्पादन बिक्री गर्न उद्योगीहरू बाध्य छन् । यो सबै अघि भनेको जस्तै भोलिका दिनमा अवस्था सुधार हुने अपेक्षामा अस्तित्व जोगाउने काम भएको हो ।
कोभिड पछि सरकारी योजना धेरै भएकोले बजार राम्ररी बढेको छ । तर पछिल्लो डेढ वर्षयता आर्थिक मन्दीका कारण सब परियोजनाहरू रोकिए । जसका कारण एक वर्षमा व्यापार २५ प्रतिशतले घटेको छ । घट्ने क्रम अझै एक वा डेढ वर्ष घट्दो अवस्थामा रहने देख्छु । सरकारकारतर्फबाट आर्थिक अवस्था सुधारका लागि ठोस कदम नचाल्दासम्म उपभोक्ताको क्रयशक्ति बढ्दैन । जब उपभोक्तासम्म राज्य कोषबाट खर्च हुने पैसा पुग्छ अनि केही सहज हुन्छ भनेर पर्खिने मात्र अहिलेको विकल्प हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चले सुनायो सरकारको पक्षमा आदेश, निस्सा पाएसँगै फैसला कार्यान्वयन तत्काल नहुने
-
माछापोखरीमा छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला
-
कृषि विकास रणनीति परिमार्जन हुँदैछ : कृषिमन्त्री अधिकारी
-
राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरे स्वदेश फिर्ता
-
परिवर्त्य विदेशी मुद्रामा सूचीकृत भयो ओमानी रियाल
-
भारतीय सेना अध्यक्ष उपेन्द्र द्विवेदीद्वारा हनुमानढोका दरबार स्क्वायरको भ्रमण (तस्बिरहरु)