बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय
व्यवसाय

गाउँमा बाख्रा पालन, राजधानीमा घरघडेरी, मासिक लाखौँ आम्दानी !

देशका ७० जिल्ला पुगे हिरालालले पालेका बाख्रा
मङ्गलबार, ०९ असोज २०८०, ०६ : १५
मङ्गलबार, ०९ असोज २०८०

सुर्खेत । उमेरले ६५ वर्ष नाघेका हरिलाल ढकाल जवान युवाजस्तै बाख्रा पालन व्यवसायमा संघर्ष गरिरहेका छन् । वीरेन्द्रनगरदेखि १४ किलोमिटर पूर्वउत्तरतर्फ पर्ने लेकबेशी नगरपालिका–१०, टिमुरकोटमा उनको बाख्रा फार्म छ, जहाँ अहिले १२३ वटा बोयर जातका बाख्रा छन् ।

उनको फार्ममा ४५ वटा जति ब्याउने बाख्रा छन् । अबको केही महिनाभित्रै बाख्राको संख्या दुई सय पुग्ने उनको अनुमान छ ।

वैदेशिक रोजगारीका लागि युवाहरु मरिहत्ते गरिरहेको समयमा ढकालले गाउँमै बाख्रा पालन गरेर राम्रो आम्दानी गरिरहेका छन् । उनले १२ वर्ष अघिदेखि नै व्यावसायिक रुपमा बाख्रा पालनको सुरुवात गरेका रहेछन् ।

भन्छन्, ‘म जन्मने बेला मेरो बुबा बितिसक्नु भएको रहेछ, आमाले जसोतसो हुर्काउनुभयो, बिहे गरिदिनुभयो, मैले पनि सानैदेखि कम दुःख गरिन । गाई, भैँसी पालियो, बाख्रा पालियो, निकै कमजोर आर्थिक अवस्था थियो । कहिल्यै हरेस खाइनँ, अहिले त हामी निकै खुुसी छौँ । व्यवसायमा रमाइरहेका छौँ ।’

ढकालको घर पहिला वीरेन्द्रनगर नगरपालिका–१६, खलाकाँटेमा थियो । कम जमिन भएकाले पशुपालन गर्ने जस्तो ठाउँ थिएन । बाख्रा पालन गर्ने भनेर जम्मा दुई लाखमा सबै बेचेर उनी खलाकाँटेबाट टिमुरकोट गएका रहेछन् ।

ऋण खोजे, सुरुमा २२ लाख खर्चेर जमिन खरिद गरे । १२ लाख रुपैयाँ उनले खोर निर्माणमा लगानी गरे भने ५ लाख बराबरको घर (ढुंगा, माटोले बनाएको टिनले छाएको) बनाए ।

goat

फार्म उनका छोरा टंक ढकालको नाममा दर्ता छ । फार्म दर्ता गर्नुअघि उनीसँग स्थानीय जातका ५० बाख्रा थिए । फार्म दर्ता गराएसँगै बाख्राको उत्पादन र आम्दानी कसरी गर्ने भन्नेतर्फ उनको ध्यान गयो । उनी भन्छन्, ‘पहिला गाई, भैँसी, बाख्रा थिए । यसरी भएन, अब व्यावसायिक रुपमै बाख्रामात्र पाल्नुपर्छ भनेर थालनी गरेको हुँ ।’

पछि ०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा ढकालले नेपालमै सर्वोत्कृष्ट बाख्रा पालक कृषकको रुपमा पुरस्कार पाए । त्यो पनि प्रधानमन्त्रीकै हातबाट । पुरस्कार पाएपछि ढकाललाई ठुलै हौसला मिल्यो । त्यहीबेला जिल्ला पशु सेवा कार्यालय र कृषि सम्बन्धी एक संस्थाको सहयोगमा बोयर बाख्रा उत्पादन सुरु गरियो । ०७१ सालदेखि खाद्य सुरक्षा कार्यक्रम अन्तर्गत अष्ट्रेलियाबाट सरकारले १÷१ वटा बोका ल्याएर गाउँमा समूह बनाई वितरण गर्यो ।

तर, ढकालले बोयर जातको ठुलो बाख्रा पनि ल्याउने निधो गरे । वीरेन्द्रनगरकै एक व्यापारी अष्ट्रेलिया जाने रहेछन् । उनीसँग ढकालले तीन वटा माउ ल्याइदिन आग्रह गरे । अष्ट्रेलियाबाट बाख्रा काठमाडौँ ल्याए, एक महिना क्वारेन्टाइनमा राखेपछि मात्रै सुर्खेत ल्याइएको थियो ।

अष्ट्रेलियादेखि सुर्खेत ल्याउँदासम्म साढे ९ लाख रकम खर्च भएको उनले बताए । त्यसपछि नार्कबाट पनि उनले एउटा बोका र तीन वटा बाख्रा खरिद गरे । तिनै बाख्राबाट दिन प्रतिदिन संख्या बढ्ने र विक्री हुने क्रम सुरु भयो ।

केही अघिसम्म उनको फार्ममा दुई सय ५० वटासम्म बाख्रा थिए रे । अहिले बिक्री भएर १२३ मा झरेका छन् । बाख्राको संख्या यसरी नै घटबढ भइरहन्छ । उनीसँग अहिले २३ वटा बोका छन् भने बाँकी बाख्रा छन् ।

photo (2)

ढकालको दैनिकी बिहान पाँच बजेबाट सुरु हुन्छ । ७ बजेभित्र उनी सबै बाख्रालाई पहिलो चरणको दाना खुवाइसक्छन् । त्यसपछि घाँस राखिदिन्छन् । १२ बजेपछि अर्को पटक घाँस खुवाउँछन् । त्यसपछि खोले खुवाउँछन् अनि साँझ फेरि घाँस खुवाउँछन् ।

‘प्रत्येक दिन बाख्राको चेकजाँच पनि गर्छु, चेकजाँच सम्बन्धी तालिम समेत लिएको मान्छे हुँ,’ ढकालले भने, ‘औषधि उपचार पनि सबै आफैँ गर्छु, घरमै औषधि राखेको छु ।’

घाँसका लागि पनि उनलाई कुनै चिन्ता रहेन छ । अढाई बिघा जमिन पूरै घाँसखेतीका रुपमा विकास गरेका रहेछन् । कान्लाहरुमा पनि घाँस हुन्छ नै । घाँस काट्ने मेसिन पनि उनीसँग छ । उनले दुई जना सहयोगी पनि राखेका छन्, त्यो पनि दम्पती । सहयोगीहरुको बस्ने, खानेदेखि बच्चाको पढाइ खर्च पनि ढकालले उपलब्ध गराएका छन् ।

बाख्राका लागि दानापानी भने खरिद गर्नुपर्छ । ढकालले अगाडि थपे, ‘सिजन अनुसार मकै र जौ खरिद गर्छु । पहिला बजारबाट दाना ल्याउँथेँ । तर, जुकाको प्रकोप देखियो, त्यो भन्दा बरु महँगो परे पनि स्थानीय लोकल दाना खरिद गर्छु भनेर स्थानीय दानापानी नै खुवाइरहेको छु ।’

हिरालालले पालेका बाख्रा देशका ७० जिल्ला पुगे

कुराकानीका क्रममा हिरालाल ढकालले बाख्रा पालनबाट आफ्नो जीवन नै बदलिएको कहानीका साथै आफूलाई मिलेका केही खुसीका कुरा पनि सुनाए । उनका अनुसार बाख्राको बजारिकरणमा कुनै समस्या छैन । उनले हाँस्दै भने, ‘मैले उत्पादन गरेका बाख्रा त देशका ७० जिल्लामा पुगिसके ।’

बाख्राका लागि बाहिरबाट माग आउने र सोही अनुसार फार्ममै आएर लैजाने गरेको उनले बताए । कर्णालीका सबै जिल्लामा उनको उत्पादन पुगेको छ भने पोखरादेखि काठमाडौँ, दाङदेखि सल्यान, डडेल्धुरादेखि धनगढी लगायत सबैतिर आफ्ना फार्मका बाख्रा र बोकाहरु गइसकेको उनको भनाइ छ ।

मासिक दुई लाख आम्दानी, राजधानीमा घरघडेरी

ढकालले यही पेसाबाट मासिक लाखौँ आम्दानी गर्छन् । उनले दाना खर्च, घर खर्च, सहयोगीको तलब सबै खर्च गरेर मासिक १ लाखभन्दा बढी रकम बचत हुने गरेको बताए ।

अघिल्लो वर्षसम्म त मासिक दुई लाखभन्दा बढी रकम बचत हुने गरेको उनले बताए । ‘यो पटक अलि कम भएको छ,’ उनले भने ।

ढकालले यही पेसाबाट राजधानी वीरेन्द्रनगरको खजुरामा दुईतले पक्की घर पनि बनाइसकेका छन् । उक्त घरमा बसेर बुहारीले नातिलाई पढाइरहेकी ढकालले सुनाए ।

६ जनाको परिवार छ ढकालको । जेठी छोरी १० कक्षा पढ्दै बिहे भयो । बाँकी माष्टर डिग्री भन्दा तल पढेका कोही छैनन् । माईली छोरीले अहिले पीएचडी गर्दैछिन् । विश्वविद्यालयमा पढाउँछिन् पनि । कान्छी छोरी अहिले मास्टर्स गरिरहेकी छन् भने छोराले पनि डिग्री गरिसकेका छन् ।

hiralal 3

उनका छोरा टंक दुई वर्ष अघिसम्म शिक्षा क्याम्पसमा अङ्ग्रेजी विषय पढाउँथे । जागिर भन्दा बाख्रा पालनमै रमाउने भनेर उनले पनि जागिर छाडिसके ।

ढकाल भन्छन्, ‘बाख्रा पालन भनेको आफ्नो सम्पत्ति हो, काम गरेबापत आउने तलब न हो । त्यसैले बरु यतै गर्छु भनेर अहिले बाहिरको काम सबै उसले (छोराले) गर्छ ।’

सानोमा गरेको दुःखको प्रतिफलमा रमाउन पाउँदा ढकाल निकै खुसी छन् । भन्छन्, ‘त्यो बेलाको दुःखको प्रतिफल अहिले मिलिरहेको छ ।’

अहिले हिरालाल ढकाल सुर्खेतकै अगुवा पशुपालक कृषकका रुपमा परिचित छन् ।

सरकारसँग अपेक्षा

ढकालले अहिलेसम्म कुनै ठाउँबाट अनुदान लिएका छैनन् । ‘प्रदेश सरकारले कताकता अनुदान दियो भनेर भन्छन्, हामीले पाउन सकेका छैनौँ,’ उनले भने, ‘अनुदान वास्तविक कृषकले पाउनुपर्छ भन्ने हो । बीमाको विषयमा सरकारले ध्यान दिनुपर्छ ।’

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप