मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : यस्ता छन् आजका शीर्ष दश समाचार

सोमबार, ०८ असोज २०८०, २१ : ००
सोमबार, ०८ असोज २०८०

आज २०८० असोज ८ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा प्रचण्डको चीन भ्रमणमा दुई पक्षीय सम्झौता, एमालेको बागमती प्रदेश अधिवेशन ः प्यानल नबनाउन ओलीको चेतावनी, जनकपुरमा राष्ट्रपतिलाई नागरिक अभिनन्दन, महासमिति बैठकका लागि कांग्रेसले बनायो समिति, कोशीमा मन्त्रिपरिषद विस्तार तथा जिम्मेवारी हेरफेर, भेपमा सुन तस्करीबारे अनुसन्धानमा ढिलासुस्ती, रातोपाटीकर्मी धामीमाथि सांघातिक आक्रमण, लोसपामा ६४ पदाधिकारीसहित ३११ सदस्यीय केन्द्रीय समिति लगायत छन् ।

१. प्रचण्डको चीन भ्रमणमा दुई पक्षीय सम्झौता
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणका क्रममा दुई पक्षीय विभिन्न सम्झौता भएका छन् । प्रचण्ड र चिनियाँ समकक्षी ली छ्याङसँगको भेटवार्तापछि दुई देशबिच विभिन्न सम्झौता भएको हो ।

२. एमालेको बागमती प्रदेश अधिवेशन : प्यानल नबनाउन ओलीको चेतावनी
नेकपा एमालेको बागमती प्रदेश अधिवेशन सुरु भएको छ । अधिवेशन उद्घाटन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले प्यानल नबनाउन नेतृत्वका आकांक्षीलाई चेतावनी दिएका छन् । प्यानल बनाएको पाइएमा उम्मेदवारी खारेज गर्ने उनको चेतावनी छ । 

३. जनकपुरमा राष्ट्रपतिलाई नागरिक अभिनन्दन
राष्ट्रपति रामचन्द्र पौडेललाई जनकपुरमा नागरिक अभिनन्दन गरिएको छ । जनकपुर भ्रमणमा रहेका राष्ट्रपति पौडेलले सोमबार जानकी मन्दिरमा विशेष पूजासमेत गरेका छन् ।

४. महासमिति बैठकका लागि कांग्रेसले बनायो समिति
नेपाली कांग्रेसले महासमिति बैठक तयारीका लागि चार वटा समिति गठन गरेको छ । बिहीबारदेखि (शनिबार बाहेक) सोमबारसम्म बसेको केन्द्रीय समिति बैठकले महासमिति बैठकको तयारी समिति गठन गरेको महामन्त्री गगन थापाले रातोपाटीलाई बताए ।

५. कोशीमा मन्त्रिपरिषद विस्तार तथा जिम्मेवारी हेरफेर
कोशी प्रदेश सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार चार जना मन्त्री थप गरेका हुन् । उनले मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरेका छन् । योसँगै कोशी प्रदेशको मन्त्रीमण्डल ९ सदस्यीय बनेको छ ।

६. भेपमा सुन तस्करीबारे अनुसन्धानमा ढिलासुस्ती
इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । राहुल भदौ १३ मा पक्राउ परेका हुन् । भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘सङ्गठित तस्करी’ विरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । राहुललाई पक्राउ गरेको २७ दिन पुगे पनि भेप प्रकरणमा संलग्न अन्य आरोपीलाई सीआईबीले पक्राउ गर्न सकेको छैन ।

७. रातोपाटीकर्मी धामीमाथि सांघातिक आक्रमण
रातोपाटीकर्मी कृष्णसिंह धामीमाथि दिनदहाडै सांघातिक आक्रमण भएको छ । सोमबार पाँच÷छ जनाको समूहमा आएका व्यक्तिहरुले धामीमाथि रातोपाटीको केन्द्रीय कार्यालय बखुण्डोल नजिकै सांघातिक आक्रमण गरेका हुन् ।

८. लोसपामा ६४ पदाधिकारीसहित ३११ सदस्यीय केन्द्रीय समिति
लोकतान्त्रिक समाजवादी पार्टीले ३११ सदस्यीय केन्द्रीय समिति गठन गरेको छ । विस्तारित समितिमा एक जना अध्यक्षसहित ६४ जना पदाधिकारी छन् । जसमा महन्थ ठाकुर अध्यक्ष छन् भने राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिलकुमार झासहित तीन जनाले वरिष्ठ नेताको जिम्मेवारी पाएका छन् ।

९. जिल्ला न्यायाधीश सरुवामा प्रश्न
न्याय परिषदले हालै जिल्ला न्यायाधीशहरुको सरुवा गर्दा अपनाएको मापदण्डबारे प्रश्न उठेको छ । कार्यक्षमता, मुद्दा फैसला दर लगायतका मापदण्डमा खरो उत्रिएका न्यायाधीशलाई समेत २ वर्ष पनि नपुगी सरुवा गरिएको छ । केही सरुवामा राजनीतिक पूर्वाग्रह र प्रतिशोधको गन्धसमेत पाइएको भन्दै प्रश्न उठ्न थालेको हो ।

१०. सडकमा सुतेर शिक्षकले गरे विरोध प्रदर्शन
राहत शिक्षक र पेन्सन वञ्चित शिक्षकले सोमबार आन्दोलनलाई जारी राख्दै बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् । उनीहरूले संसद्मा प्रस्तुत भएको शिक्षा विधेयक र सरकारसँग गरिएको नेपाल शिक्षक महासंघ र सरकारबिच भएको सम्झौताको विरोध गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप