ताप्लेजुङका पहिरो पीडितलाई एकीकृत आवास हस्तान्तरण

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाका पहिरो पीडितका लागि निर्माण गरिएका अस्थायी एकीकृत आवास कक्ष पीडित परिवारलाई हस्तान्तरण गरिएको छ । पहिरो पीडित ६५ घरपरिवारलाई आज एक कार्यक्रमका बीच उक्त आवास कक्ष हस्तान्तरण गरिएको हो ।
गत साउन ७ गतेदेखि सुरु गरी दुई महिनामा अस्थायी आवास निर्माण सम्पन्न गरी आज पीडित परिवारलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले जानकारी दिए । पालिका अध्यक्ष वनेम, उपाध्यक्ष कमलकुमारी लिम्बू र सहायक प्रमुख जिल्ला अधिकारी टंकबहादुर भट्टराईले संयुक्तरुपमा आवास कक्ष हस्तान्तरण गरेका छन् ।
वडा नं ४ ओदकका ६२, ताम्राङका दुई र वडा नं ३ का एक परिवार गरी अस्थायी एकीकृत आवास स्थलमा ६५ परिवार रहेका अध्यक्ष वनेमले बताए । उनका अनुसार ६५ मध्ये ६३ परिवार शेर्पा समुदायका र दुई लिम्बू समुदायका छन् ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार आवास स्थल निर्माणका लागि दातृ निकाय, विभिन्न संस्था तथा व्यक्तिमार्फत रु ५५ लाख ९२ हजार सात सय ७० सहयोग प्राप्त भएको थियो । “टोल विकास संस्था, विद्यालय र समुदायका सदस्यमार्फत श्रमदानसहित रु ६८ लाख एक हजार र गाउँपालिकाका तर्फबाट रु २६ लाख ६० हजार १७ गरी कूल एक करोड ५० लाख ५३ हजारसात सय ८७ मा आवास निर्माण गरिएको हो”, उनले भनिन् ।
औसतमा एउटा अस्थायी आवास कक्ष निर्माणका लागि रु दुई लाख ३१ हजार पाँच सय ९६ का दरले खर्च भएको पालिकाले जनाएको छ । आवास स्थलमा पाँच जनासम्म सदस्य भएका परिवारका लागि ३६, आठ जनासम्म सदस्य भएकाका लागि २३ र १२ जनासम्म सदस्य भएका परिवारका लागि छ वटा अस्थायी घर बनेका सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए । उनका अनुसार ३६ शौचालय र १८ धारा निर्माण गरिएका छन् ।
गाउँपालिकाले सहयोगी निकाय तथा दाताहरुप्रति आभार प्रकट गरेको छ । गत असार २ गतेदेखि आएको अविरल बर्षापछि गएको बाढीपहिरोका कारण ताप्लेजुङका अधिकांश पालिकामा क्षति पुगेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिंकु र प्रकृतिका लागि न्याय माग्दै सिराहामा प्रदर्शन
-
गुल्मीको इस्मा गाउँपालिकामा कपडा बैङ्क स्थापना
-
फिल्म ‘लाज शरणम’को जाँचपछि सेन्सर बोर्डले के भन्यो ?
-
किन पर्यो नेपाल ‘ग्रे लिष्ट’मा, यसले कस्तो प्रभाव पर्छ ?
-
सार्कलाई रोक्नका लागि को जिम्मेवार हो,दक्षिण एसियामा सबैलाई थाहा छ : भारतीय विदेश मन्त्रालय
-
गण्डकी सरकारका काममा सत्तारुढ सांसद नै असन्तुष्ट