रोमान्टिक जीवन : वास्तविकता कति, देखावटी कति ?
सन् १९७१ मा आएको बलिउड फिल्म ‘आनंद’ मा राजेश खन्नाको एउटा संवाद छ – बाबु मोशाय, जिन्दगी लामो होइन ठुलो हुनुपर्छ ।
यस संवादमा जीवनका सबै कठिनाइ र जटिलताका बाबजुद जीवनलाई भरपुर र खुलेर जिउने सन्देश लुकेको छ । मानिसले वर्तमानमा बाँच्दै जीवनको सुन्दरताको आनन्द लिनुपर्छ भनी भनिएको छ ।
यसरी उत्साह र सकारात्मकताका साथ जिउनुलाई रोमान्टिक जीवन भनिन्छ । अङ्ग्रेजीमा यसलाई रोमान्टिसाइजिङ लाइफ भनिन्छ ।
रोमान्टिक जीवन बिताउनु कुनै नयाँ कुरा होइन। तर पछिल्ला केही वर्षयता जीवनलाई रोमान्टिसाइज गर्ने बारे चर्चा धेरै भएको छ ।
कोभिड महामारीको कठिन समयदेखि नै सामाजिक सञ्जालमा यसको चलन निकै उच्च देखिएको छ ।
मानिसहरूले आफ्नो जीवनका ती हिस्सालाई फोटो, भिडियो वा रिलको रूपमा प्रस्तुत गरेको देख्न सकिन्छ जहाँ उनीहरूले केहि गर्दा खुसी महसुस गरिरहेका छन् ।
उद्देश्य के हो ?
रोमान्टिकको अर्थ सबैका लागी फरक छ । जस्तै मन पर्ने लुगा लगाउने, घुम्न जाने, आफ्नो लागि फूल किन्ने, कसैसँग समय बिताउने वा मिठो खानेकुरा खाने ।
दिल्लीमा बस्ने लतिका जोशी भन्छिन्, ‘मेरा लागि रोमान्टिक जीवन भनेको दैनिक जीवनका जटिलता, समस्या र सङ्घर्षलाई केही समयका लागि थाँती राखेर साँच्चैको आनन्द मिल्ने काम गर्नु हो ।’
उनी भन्छिन्,‘यसका लागि म योगा गर्छु वा साइकल चलाउँछु, फिल्म हेर्छु, मन पर्ने खाना खान्छु वा नयाँ परिकार पकाउँछु । कहिले किताब पढ्छु त कहिले साथीहरूसँग कुरा गर्छु । जस्तै, मैले तपाईंका प्रश्नहरूको जवाफ दिनु अघि, मैले आफ्ना लागि निकै मिठो कफी बनाएको छु ।’
पूजा सिंह आफ्ना श्रीमान् र दुई छोरीसँग अमेरिकाको मिनेसोटामा बस्छिन् । भारतमा उनी एक न्युज च्यानलमा कार्यक्रम प्रस्तोता थिइन् र अहिले उनी स्वतन्त्र पत्रकारिता गरिरहेकी छिन् । उनले आफ्नो जीवनका खुसीका पलहरू इन्स्टाग्राममा सेयर गर्छिन् । ’
उनी भन्छिन्, ‘म सधैँ व्यस्त रहन चाहन्छु । मलाई मेरा छोरीहरूको हेरचाह गर्न, सामाजिक जमघटमा उपस्थित हुन, मेरो समूहको कार्यक्रममा भाग लिन, घरमा मिठो खाना पकाउन र छोरीहरूलाई सुताएपछि ग्रीन टी पिउँदै मेरो श्रीमानसँग कुराकानी गर्न मन पर्छ । अर्को कुरा, क्यामराको अगाडि हुन मिस गर्छु त्यसैले सोसल मिडियाका सामग्री बनाएर आफ्नो इच्छा पूरा गर्छु ।’
लतिका र पूजाजस्तै, हामीमध्ये धेरैले आफूलाई खुसी बनाउने कामका लागि समय निकाल्छौँ होला । यस्ता खुसीलाई बारम्बार खोज्नु र अनुभव गर्नु जीवनलाई रोमान्टिक बनाउनु हो ।
दिल्ली विश्वविद्यालयको उत्तरी क्याम्पसमा मनोविज्ञानका सहायक प्राध्यापक डा. इशिता उपाध्याय पनि मनोवैज्ञानिकका रूपमा काउन्सिलिङ गर्छिन् । जीवनलाई रोमान्टिक बनाउनु मानिसको प्राकृतिक र स्थायी चाहना हो भन्ने उनको भनाइ छ ।
उनी भन्छिन्, ‘मानिसभित्र आफ्नो अस्तित्व र भावनालाई बुझ्ने र अनुभव गर्ने गहिरो चाहना हुन्छ । जीवनलाई रोमान्टिसाइज गर्दा, मानिसहरू आफ्नो अस्तित्वसँग जोडिएको महसुस गर्छन् । उनीहरूलाई जीवन थप सार्थक लाग्न थाल्छ ।’
‘रोमान्टिसाइज गर्दा हामी आफ्नो विचार र भावनाहरू गहिरो रूपमा अन्वेषण गर्दै छौँ । हामी केहीमा हराउन चाहन्छौँ । चाहे त्यो सङ्गीत होस्, सिनेमा होस् वा अन्य कुनै काम । हराउने यो अनुभूति तपाईंको जीवनमा केहि अर्थपूर्ण खोज्ने भाग हो । त्यसैले रोमान्टिसाइज गर्नुको उद्देश्य तपाईंको जीवन र तपाईंको वरपरको संसारमा केहि सार्थक चिजको खोजी गर्नु हो ।’
सामाजिक मिडियाको प्रभाव
हामीले धेरै साथीहरू र अन्य इन्फ्लुएन्सर्सलाई आफ्नो जीवनलाई रोमान्टिसाइज गरिरहेको देख्छौँ । यस प्रकारका सामग्री खुसीले भरिएको र सकारात्मक हुन्छन् ।
लतिका जोशीका अनुसार सकारात्मकता हेर्दा र सेयर गर्दा बढ्छ । उनी भन्छिन्, ‘कोभिडका बेला मैले साइक्लिङ सुरु गर्दा धेरै साथी र फलोअर्सले साइकल किनेर मलाई ट्याग गर्दै प्रेरित गरेको श्रेय गरेका थिए ।’
उनी भन्छिन्, ‘मैले कसैलाई प्रेरणा दिन यस्ता कुराहरू गर्ने होइन । तर मलाई आफूलाई रमाइलो लागेका कुराहरू भन्न मनपर्छ । र कसैले यसबाट प्रेरणा पाउँछन् भने त्यो राम्रै हो नि । ’
सामाजिक सञ्जालका कारण रोमान्टिसाइजेसनको स्वरूप भने फेरिन थालेको मनोवैज्ञानिक स्वीकार गर्छन् ।
दिल्लीमा मनोवैज्ञानिक पूजा शिवम जेटली भन्छिन्, ‘सोसल मिडियामा कसैलाई देखेर आफ्नो जीवन पनि यस्तो हुनुपर्छ भनेर धेरैले प्रेरणा लिने गर्छन् । यसमा नराम्रो कुरा केही छैन तर समस्या त्यति बेला आउँदा जब सोसल मिडियामा देखिएका चिजलाई मानिसले वास्तविक ठान्ने गर्छन् ।’
उदाहरण दिँदै पूजा शिवम जेटली भन्छिन्, ‘केही मानिसहरू घर सजाएको भिडियो सेयर गर्छन् । त्यो देखेर तपाईं पनि आफ्नो घरलाई त्यसरी नै सजाउन चाहनुहुन्छ । तर तपाईंलाई देखाउनका लागि बनाइएको त्यो भिडियोमा कुनै एक हिस्सालाई सजाउनका लागि पूरा घर अस्तव्यस्त भएको हुनसक्छ ।’
अर्थात्, सोसल मिडियामा देखाइएको जीवन र वास्तविक जीवनमा अन्तर हुनसक्छ । तर यस्ता खालका सामग्रीले किशोर÷किशोरी वा कम उमेरमा युवामा गलत असर पर्न सक्छ । उनीहरुले आफ्नो जीवनको तुलना कुनै इन्फ्लुएन्सरसँग गरेर आफूलाई निराशमा पारिरहेका हुन सक्छन् । ’
मनोवैज्ञानिक डाक्टर इशिता उपाध्याय भन्छिन्, ‘सोसल मिडियामा हुने तुलनाका कारण हरेक आयु वर्गका मानिसको आत्मविश्वास र स्वाभिमानमा आघात पुग्न सक्छ । मानिसहरूलाई लाग्न सक्छ कि उनीहरू केही कामका छैनन् । उनीहरू प्रेरित हुनुका साटो हीन भावनाको सिकार हुन सक्छन् । तुलना गर्दा मनमा ईर्ष्याको भावना आउन पनि सक्छ ।’
देखावटीको दबाब
यति मात्र होइन, सामाजिक सञ्जालमा रोमान्टिक भिडियो शेयर गर्नेलाई पनि नकारात्मक असर पर्न सक्छ । उनीहरुले कुनै कामको फाइदा उठाउनुको साटो देखावटी गरिरहेको पनि हुनसक्छ ।
उदाहरण दिँदै पूजा शिवम जेटली भन्छिन्, ‘म हालै विदेश यात्रामा गएकी थिएँ । त्यहाँ एक युवती माहौलको आनन्द उठाउनुको साटो रिल्स रेकर्ड गरेर आफूलाई कति मजा आइरहेको छ भनेर देखाउन खोजिरहेकी थिइन् ।’
‘यसलाई वास्तविकताबाट टाढा भएर आफ्नो प्रोजेक्टेड सेल्फतर्फ अघि बढ्नु भनिन्छ । अर्थात् हामी विश्व सामु आफ्नो एउटा भिन्न छवि प्रस्तुत गर्न थाल्छौँ । र जब त्यो प्रोजेक्टेड सेल्फबारे अरूको धारणा फेरिन्छ तब हामी निराश हुन थाल्छौँ ।’
पूजा बधूलालाई फलोअर्सले के सोच्लान् भनेर तपाईंलाई पनि दबाब महसुस हुन्छ भनेर प्रश्न गरियो ।
यसको जवाफमा उनले हाँस्दै भनिन्, ‘म रिल्स त्यति बेला बनाउँछु जब म साँच्चै खुसी हुन्छु । वास्तविक पूजा र रिल्समा देखिने पूजाबिच खासै धेरै भिन्नता छैन । मलाई कसैको धारणाले फरक पर्दैन तर रेकर्ड गरेको रिल्स पोस्ट गरौँ कि नगरौँ भन्ने चाहिँ लाग्छ । कति पटक पछाडिबाट घर फोहोर देखिरहेको हुन्छ । तर श्रीमान्ले जसले जे भन्छ भन्न देऊ भन्नुहुन्छ । त्यसपछि मलाई पनि वास्ता लाग्दैन ।’
तर सबैले यस्तै सोच्छन् भन्ने छैन । डा. इशिता उपाध्याय भन्छिन्, ‘धेरै मानिसहरू एक्सटर्नल भ्यालिडेसन अर्थात् कुनै कामका लागि दोस्रो व्यक्तिको समर्थन र प्रोत्साहन चाहन्छन् ।’
उनी भन्छिन्, ‘मेरोमा एउटा यस्तो केस आएको थियो जसमा श्रीमान्–श्रीमतीबिच निकै ठाकठुक थियो । भविष्यमा सँगै हुन्छन् कि हुँदैनन् भन्ने उनीहरूलाई निश्चित थिएन । तर श्रीमती श्रीमानसँग विदेश घुम्न चाहन्थिन् । तर उनी सोसल मिडियामा श्रीमानसँग यस्ता तस्बिर सेयर गर्थिन् जुन हेर्दा यस्तो लाग्थ्यो कि यी दुईबिच अत्यधिक प्रेम छ । तर वास्तविकता नितान्त फरक थियो ।’
अर्थात्, सोसल मिडियामा रोमान्टिसाइज गर्ने खालको सामग्री हाल्ने मानिस एक बनावटी तस्बिर सार्वजनिक गरिरहेका हुन सक्छन् ।
के गर्ने ?
जीवनमा हामीले थुप्रै सङ्घर्ष र चुनौतीको पनि सामना गर्नुपर्ने हुनसक्छ । तर सोसल मिडियामा रोमान्टिसाइज गर्ने चलनमा जीवनका सुन्दर र राम्रा पाटा मात्रै देखिन्छ ।
दिल्लीमा मनोवैज्ञानिक पूजा शिव जेटली भन्छिन्, ‘जीवन राम्रो र खराब दुवैको मेल हो र यी बिच सन्तुलन कायम राख्न आवश्यक छ ।’
उनी भन्छिन्, ‘सोसल मिडियालाई वास्तविकता मान्नुको साटो मनोरञ्जन र सूचनाको स्रोत मान्नुपर्छ । जीवनलाई रोमान्टिसाइज गर्नु वा अरू कुनै ट्रेन्डमा समावेश हुनु गलत होइन । मात्रै एउटा प्रश्न गर्नुहोस् कि तपाईं खुसी भएर अरूलाई देखाइरहनुभएको छ वा देखाउनका लागि खुसी भएको नाटक गरिरहनुभएको छ ।’
जानकारका अनुसार सोसल मिडियामा रोमान्टिसाइज गर्ने खालको भिडियोबाट प्रेरित हुनु नराम्रो कुरा होइन तर अरूलाई हेरेर तुलना गर्नबाट भने जोगिनुपर्छ ।
दिल्ली विश्वविद्यालयमा मनोविज्ञानकी सहायक प्राध्यापक डा. इशिता उपाध्यायका अनुसार जीवनलाई आफ्नो हिसाब र क्षमताको हिसाबले राम्रोसँग बाँच्ने कोसिस गर्नुपर्छ ।
उनी भन्छिन्, ‘जुन कामले तपाईंलाई खुसी मिल्छ, त्यो जसरी पनि गर्नुहोस् । तर तपाईं सोसल मिडियामा किन गइरहनुभएको छ भन्ने कुरामा पनि ध्यान दिनुहोस् । म योभन्दा अघि बढ्नुहुन्न र कसैलाई पनि यो भित्र आउन दिनुहुन्न भनेर एउटा सीमा निश्चित भने गर्नुहोस् । ’
बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आँधीमूलको कृत्रिम तालमा डुङ्गा शयर
-
मुग्लिङ-नारायणगढ सडकको पाँचकिलो नजिकै माईक्रो बस दुर्घटना
-
१२ बजे, १२ समाचार : डेंगु सङ्क्रमणदर घटे पनि जोखिम कायमैदेखि विवाह गर्ने उमेर घटाउनु पर्ने मागसम्म
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात