बिनापरिश्रमको विद्यावारिधिले शिर ठाडो गर्न दिन्छ र ?
शिक्षा दिवसको अवसर पारेर नेपाल सरकारले स्नातकदेखि स्नातकोत्तरसम्म प्रत्येक सङ्कायमा प्रथम हुने र विद्यावारिधि उपाधि हासिल गर्नेलाई नेपाल विद्याभूषण पदक प्रदान गर्दै आएको छ । सरकारले शिक्षा दिवस कुन तिथि र मितिमा मनाउने भन्ने निर्णय गर्न नसकेका कारण पछिल्लो तीन–चार वर्ष उक्त दिवस मनाइएन र पदक पनि वितरण गरिएन । यस वर्षदेखि अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ प्रमाणीकरण भएको दिन (असोज २)लाई शिक्षा दिवस मनाउने निर्णय सरकारले गरेको छ । यससँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदक पनि वितरण गरिने सूचना निकाल्यो ।
सोही प्रयोजनका लागि विद्यावारिधिको शोधग्रन्थ (थेसिस) र सक्कल प्रमाणपत्रको प्रतिलिपि लगायत सामग्री बुझाउन त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक डा. हिक्मतबहादुर खत्री र म शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी गएका थियौँ । सामग्री बुझ्ने, नाम दर्ता गर्ने लगायत काम अत्यन्त सहज र व्यवस्थित रूपले मिलाइएको रहेछ । लाग्यो, सबै क्षेत्रमा कर्मचारीले यसै गरी सरल छिटो र छरितोसँग सेवाग्राहीलाई सेवा उपलब्ध गराउने हो भने निजामती कर्मचारीको गिरेको साख उकास्न धेरै समय लाग्दैन ।
शोधग्रन्थ बुझ्ने कर्मचारीले सोचनीय अनुभव हामीलाई सुनाए । उनको कथन थियो — विदेशबाट विद्यावारिधि गर्नेहरू त साँच्चै अब्बल हुन्छन्, उनीहरूको शोधग्रन्थ पनि पढ्न लायक हुन्छ भन्ने लागेको थियो तर मैले बुझेका कैयौँ शोधग्रन्थ सामान्य प्रतिवेदनजस्तो पनि छैन । त्यसमा न अनुसन्धान विधि र पद्धति प्रस्टसँग बताइएको छ न त प्राप्ति र सुझावलाई व्यवस्थित रूपमा व्यख्या, विश्लेषण र संश्लेषण गर्दै टुङ्गयाइएको छ । सबै गोलमटोल, केही बुझ्नै सकिँदैन ।
शोधग्रन्थ बुझाउन आएका अर्का एक मित्रले उनको कुरामा समर्थन गर्दै थपे — म कार्यरत विश्वविद्यालयमा पढाउने एक साथीले विद्यावारिधिका लागि ‘नेपालको विकास नीति’बारे गरेको शोधग्रन्थमा राष्ट्रिय योजना आयोगले प्रकाशन गरेका नीति हुबहु सारेका छन् आफैँले लेखेजसरी । विदेशको त्यो विश्वविद्यालयलाई के थाहा कि निज विद्यार्थीले देशको सरकारी डकुमेन्टको सबै सारेर शोधग्रन्थ तयार पारे भनेर । केही अनुच्छेद हुबहु सार्न पाइन्छ, तर सन्दर्भ सामग्री र लेखकको नाम तथा यसरी सार्दा पेज नम्बर समेत उल्लेख गर्नुपर्छ । ती मित्रले अध्यायका अध्याय सार्दा पनि सन्दर्भ सामग्रीको उल्लेख गरेका थिएनन् ।
यी केही अपवाद होलान् तर विदेशबाट विद्यावारिधि गर्नेहरू पनि अब्बल छन् र मिहिनेतका साथ आफ्नो शोधग्रन्थ तयार पारेका छन् । मलाई लाग्यो — फिल्डमा महिनौँ अनुसन्धान गरी सयौँ पुस्तक पढेर लेखिएको मेरो शोधग्रन्थ त कति गुणस्तरीय छ, यकिन छैन । नामको अगाडि डाक्टर लेखाउने लालसामा प्रमाणपत्रको व्यापार गर्ने विश्वविद्यालयबाट लिइएको उपाधिको गुणस्तर कति होला ? अनि उनीहरूको ज्ञानको स्तर के होला ? स्नातक र स्नातकोत्तर तहमा अत्यन्तै राम्रो गर्ने र आफ्नो विषय क्षेत्रमा दख्खल भएका व्यक्ति समेत किन बिनापरिश्रम, बिनामिहिनेत, बिनाअध्ययन अनुसन्धान विद्यावारिधिको उपाधि लिन लालायित हुन्छन् ? के यसरी प्राप्त गरेको उपाधिसँग उसको अन्तरआत्मा सन्तुष्ट होला ?
यसरी चिन्तन गर्दै जाँदा विद्यावारिधि गरेका १२–१५ व्यक्ति मेरो मानसपटलमा झुल्किए । उनीहरूले पढेको विश्वविद्यालय, शोधग्रन्थको स्तर, विद्यावारिधि गर्न लागेको समय, उनीहरूको ज्ञानको स्तर आदि विचार गर्दा तीन प्रकारका व्यक्ति देखेँ मैले ।
विद्यावारिधि गर्ने तीन प्रकारका व्यक्ति
पहिलो प्रकारका व्यक्तिले एमफिल पास गरेर विद्यावारिधि गरेका छन् । एमफिलमा पनि करिब–करिब विद्यावारिधिसरह नै दर्शन, अनुसन्धानको विधि र पद्धतिको पढाइ हुन्छ । यसमा शोधग्रन्थ समेत विद्यावारिधिकै हाराहारी स्तरको लेखिन्छ र कठिन भाइभामा संलग्न भएर उत्तीर्ण हुन्छन् यी विद्यार्थी ।
एमफिलपश्चात् यिनीहरू विद्यावारिधिमा भर्ना हुन्छन् र तीनदेखि चार सेमेस्टर विश्वविद्यालयमा नियमित उपस्थित भएर पढ्छन् । यो समयमा अनुसन्धानको विधि, पद्धति, दर्शनका क्षेत्र, शोधग्रन्थ तयार पार्दा अपनाउनुपर्ने प्रक्रिया, अनुशासन आदिबारे गहन रूपमा बुझ्ने प्रक्रिया हुन्छ । करिब एक वर्ष प्रत्यक्ष पढाएर अनुसन्धानको प्रस्ताव स्वीकृत भएपछि विद्यार्थीलाई फिल्डमा अनुसन्धानका लागि पठाउँछ अनुसन्धान समितिले । विश्वविद्यालयको पढाइ र सम्बन्धित क्षेत्रको गहन अध्ययनबाट सैद्धान्तिक ज्ञानले खारिएको एउटा विद्यार्थी ती दर्शन र सिद्धान्तको परीक्षणका लागि फिल्डमा महिनाँै खट्छ र शोधग्रन्थ तयार पार्छ ।
मेरो अनुभवमा एउटा शोधार्थी फिल्डमा कम्तीमा तीनपटक गएको हुन्छ । पहिलोपटक अन्तर्वार्ता लिइने सहभागी पहिचान गरी उनीहरूसँग सम्बन्ध स्थापित गर्न र अन्तर्वार्ता लिनुकोे उद्देश्य प्रस्ट पार्दै अन्तर्वार्ताका लागि उनीहरूको सहमति लिन, अनि दोस्रोपटक गहन छलफल, अन्तर्वार्ता र अवलोकनका लागि । तेस्रोपटक भने उत्तरदाताले भनेका कुरा लेखी सकेपछि ती विषय सुनाउनका लागि र उनीहरूले भनेको जस्ताको तस्तै छ कि छैन परीक्षण गर्न फिल्डमा जान्छ शोधार्थी ।
यसरी तयार पारेको शोधग्रन्थ दर्जनौँपटक सुपरिवेक्षकसँग छलफल, राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञबाट मूल्याङ्कन र दुईवटा भाइभा पार गरेर विद्यावारिधिको उपाधि प्राप्त गर्छ ।
विद्यावारिधि प्राप्त गर्ने दोस्रो किसिमका व्यक्तिहरू एमफिल गर्न नसकेर हो वा गर्न नचाहेर हो वा चाँडो विद्यावारिधिको उपाधि ग्रहण गर्ने लालसाले हो, एमफिल नगरी स्नातकोत्तरबाट सोझै विद्यावारिधिमा भर्ना लिने विश्वविद्यालयमा भर्ना हुन्छन् । कतिपय त्यस्ता विश्वविद्यालयमा विद्यावारिधिका विद्यार्थीलाई नियमित उपस्थित भएर लिनुपर्ने कक्षा सञ्चालन भएको पाइँदैन । विद्यार्थीले शोध प्रस्ताव तयार पारेर विश्वविद्यालयलाई बुझाएपछि अनुसन्धान समितिले सुपरिवेक्षक तोकिदिन्छन् र सुपरिवेक्षकको मूल्याङ्कनपश्चात् शोधार्थीले प्रस्ताव अनुसन्धान समितिमा प्रस्तुत गर्छन् । सो प्रस्ताव स्वीकृत भएमा अनुसन्धानका लागि फिल्डमा खटिन्छन् ।
यी विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीले पनि मिहिनेत, परिश्रम, सम्बन्धित विषयको अध्ययन र फिल्ड कार्य भने पहिलो दर्जाका विद्यार्थीसरह नै गरेको देखेको छु मैले । यद्यपि एमफिल नगरेको र विश्वविद्यालयले पनि नियमित पाठ्य कोर्स सञ्चालन नगरेका कारण दर्शन, अनुसन्धानको विधि र पद्धति आदिका बारेमा उनीहरूको ज्ञानको स्तर कस्तो होला भन्ने मात्र प्रश्न हो ।
कतिपयले स्वअध्ययनबाट पनि आफ्नो स्तरलाई उकासेको पाइन्छ तर एमफिलको पूर्ण अध्ययन र करिब एक वर्षको विद्यावारिधिको नियमित अध्ययनमा प्राप्त हुने ज्ञान, दर्शन, अध्ययन, अनुसन्धानका प्राविधिक र प्राज्ञिक पक्षका बारेमा स्वअध्ययनले परिपूरण गर्छ भन्ने तर्क कमजोर लाग्छ मलाई । जेहोस्, यस प्रकारका शोधार्थीले पनि विद्यावारिधिको उपाधि आफ्नै बुताले प्राप्त गरेका हुन्छन् ।
तेस्रो किसिमका डा. साबहरूको हालत भने गज्जबको छ । उनीहरूले न आफूले स्वअध्ययन गरेका छन् न विश्वविद्यालयमा नियमित अध्ययन गरेका छन् । उनीहरू नेपालका विश्वविद्यालयहरूमा नभई छिमेकी मुलुकका विश्वविद्यालयमा भर्ना हुन्छन् र दुई–तीन वर्ष पुग्दानपुग्दै विद्यावारिधि गरेको घोषणा गर्छन् । उनीहरू जम्माजम्मी दुईपटक सम्बन्धित विश्वविद्यालय पुग्छन् । एकपटक अनुसन्धानको प्रस्ताव बुझाउन र अर्कोपटक तयारी शोधग्रन्थमा सही गर्न र प्रमाणपत्र बुझ्न ।
काठमाडौँमा समेत देखिन्छ, कतिपय विदेशी विश्वविद्यालयले विद्यावारिधिको पसल थापेको । नामको अगाडि डा. लेख्ने यी विद्यार्थीले न सुपरिवेक्षकको नियमित सल्लाह सुझाव वा निर्देशन लिनुपर्यो, न सम्बन्धित क्षेत्रका हजारौँ पुस्तक र लेख (लिटरेचर रिभ्यु) पढ्नुपर्यो, न फिल्डमा महिनौँ खट्नुपर्यो न त राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञको मूल्याङ्कनको कसीमा अब्बल साबित हुनुपर्यो ।
मेरो अनुभव छ, विभिन्न विज्ञको सल्लाह सुझाव अनुसार शोधग्रन्थलाई परिष्कृत गर्दागर्दा त्यति ठूलो शोधग्रन्थको कुन पेजमा के छ भन्ने समेत याद हुने अवस्था आउँछ तर यस किसिमका डा. साबहरूलाई आफूले के विषयमा विद्यावारिधि गरेँ भन्नेसम्म याद नहुने रहेछ । जे गर्यो सबै विश्वविद्यालयले गर्यो । विद्यावारिधि उपाधि लिएँ भन्यो र परिचय गर्दा पनि म डा. फलाना भनेर नाक फुलायो बस् ।
यो तेस्रो किसिमका उपाधि धारण गर्ने व्यक्तिका कारण आज नागरिक तहमा विद्यावारिधि गर्ने सबै एकै हुन् कि भन्ने भाष्य निर्माण हुन खोजेको पाइन्छ । यस्ता किसिमका डा.का कारण अत्यन्तै परिश्रम, मिहिनेत र गहन अध्ययन अनुसन्धानबाट विद्यावारिधि प्राप्त गर्नेप्रति अन्याय भएकै छ । उनीहरूले आफैँलाई पनि अन्याय गरेका छन् ।
बिनापरिश्रम उपल्लो स्तरको प्रमाणपत्र लिएका कारण समाजले उनीहरूलाई हेर्ने दृष्टिकोण नै परिवर्तन भएको छ, भलै उनीहरूलाई भेट्दा डाक्टर साब भनेर किन नभनून् । उनीहरूको आफ्नै आत्माले पनि पक्कै भनेको हुनुपर्छ — मैले यसरी प्रमाणपत्र नलिनुपथ्र्यो । अब होइन भनौँ भने झन् बेइज्जत हुने डरले ऊ आफैँ खुम्चिएको छ ।
विद्यावारिधि गरेपछि समाजमा व्यक्तिको प्रतिष्ठा र इज्जत बढ्नुपर्ने हो तर उसले प्राप्त गरेको उपाधि कसरी हात पार्योे भनेर थाहा पाउनेको नजरमा उसको इज्जत गिरेको उसैलाई पत्तो हुँदैन ।
मलाई के पनि थाहा छ भने कतिपय विद्यार्थी नेपालका विश्वविद्यालयमा नियमित अध्ययन गर्छन् । अनुसन्धान समितिको निर्णय र निर्देशानुसार नियमसङ्गत रूपमा फिल्ड कार्य सक्छन् । मापदण्ड अनुसार शोधग्रन्थ तयार पारी सुपरिवेक्षकको सल्लाहबमोजिम अनुसन्धान समितिमा बुझाउँछन् । उक्त शोधग्रन्थ महिनौँसम्म मूल्याङ्कनका लागि कतै पठाइँदैन ।
विद्यार्थी भुटभुटिएर हिँड्छ, तर अधिकार प्राप्त पूर्वाग्रही व्यक्तिको अगाडि उसको के लाग्छ र ! प्राध्यापकबीचको इगो र प्रतिस्पर्धाले गर्दा बिनाकारण विद्यार्थीले दुःख पाउँछ । त्यसपछि ऊ विकल्प खोज्न बाध्य हुन्छ र पर्छ देश बाहिरका यस्तै व्यापारिक विश्वविद्यालयको फन्दामा । उसले विद्यावारिधिको उपाधि त लियो तर समाजमा शिर ठाडो पारेर बोल्न नसकिने विश्वविद्यालयबाट । ज्ञान, अभ्यास र बौद्धिकताका हिसाबले उसलाई शङ्का गर्ने ठाउँ छैन, तर शैक्षिक प्रमाणपत्रको व्यापार गर्ने भनेर बदनाम विश्वविद्यालयका कारण उसले आत्मसन्तुष्टि भने प्राप्त गर्दैन ।
छिमेकी देशका सबै विश्वविद्यालय यो वर्गमा पर्दैनन् । त्यहाँ पनि विश्वका उत्कृष्ट विश्वविद्यालय छन् । केही विश्वविद्यालयको हर्कतले गर्दा ती देशको इज्जतमै धक्का लागेको देखिन्छ । सुनिन्छ, अहिले त छिमेकी देश मात्र होइन, अन्य एसियन तथा युरोपियन देशमा पनि यस्तो खेती गरिन्छ । हामीले प्रत्यक्ष देखेका हौँ नि बेलायतमा अस्तित्वमै नरहेकोे एक विश्वविद्यालयको नाममा तामझामका साथ हाम्रा वरिष्ठ नेतालाई मानार्थ विद्यावारिधिको उपाधि दिइएको ।
मैले यो लेखमा विद्यावारिधि उपाधिको मात्र कुरा गरेँ । बारम्बार छापामा आइरहने विषय के पनि हो भने विभिन्न सेवामा कार्यरत व्यक्तिले पदोन्नतिका लागि यस्ता विश्वविद्यालयबाट स्नातक र स्नातकोत्तर तहको प्रमाणपत्र ल्याउने गरेका छन् । त्यसैका आधारमा ती व्यक्ति उच्च पदमा पनि पुगेका छन् । उनीहरूलाई जिन्दगीभर आफूले गलत गरेकामा आत्मग्लानि भइरहनेछ ।
नेपालीका लागि खुसीको कुरा के हो भने नेपालका विश्वविद्यालयले आफैँले प्रमाणपत्रको व्यापार गरेको आजसम्म पाइएको छैन । यस्तो किसिमको विकृति रोक्न अन्य विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता दिने अधिकार प्राप्त त्रिभुवन विश्वविद्यालयले तत्काल निम्न निर्णय गरेर कार्यान्वयनमा ल्याउनुपर्ने देखिन्छ ।
१) विदेशी विश्वविद्यालयबाट विद्यावारिधि गर्नेहरूले त्रिभुवन विश्वविद्यालयको सम्बन्धित अनुसन्धान समितिमा अध्ययनका लागि शोधग्रन्थ बुझाउनुपर्ने । शोधग्रन्थ पेस भइसकेपछि अनुसन्धान समितिले उपसमिति गठन गरी उक्त शोधग्रन्थ राष्ट्रिय र अन्तर्राष्ट्रिय परम्परा र मापदण्ड अनुसार रहे वा नरहेको लगायत अध्ययन गरी प्रतिवेदन अनुसन्धान समितिमा पेस गर्ने ।
२) पेस भएको प्रतिवेदन अनुसार शोधग्रन्थले सबै मापदण्ड पूरा गरेको, बौद्धिक चोरी नभएको, शोधग्रन्थ शोधार्थीको आफ्नै लेखाइ भएको पाइएमा उक्त शोधग्रन्थ स्वीकार गर्ने ।
३) स्वीकृत शोधग्रन्थ अनुसन्धान समितिमा शोधार्थीलाई प्रस्तुत गर्न लगाउने । यो एक किसिमको भाइभा नै हो । यी सबै प्रक्रियामा समिति सन्तुष्ट भएमा समकक्षताका लागि सिफारिस गर्ने ।
४) अनुसन्धान समितिको सिफारिसबेगर विश्वविद्यालयले समकक्षता प्रदान नगर्ने
५) व्यापारिक विश्वविद्यालयबाट बिनाअध्ययन उपाधि ल्याउने व्यक्तिका कारण नेपाल बाहिरका विश्वविद्यालयमा नियमित अध्ययन गरेर कडा मिहिनेत र परिश्रमले प्राप्त गरेको उपाधिको समकक्षता लिन कतिपय विद्यार्थीलाई अप्ठेरो परेको सुनिन्छ । त्यसकारण बिनाअध्ययन, अनुसन्धान शैक्षिक उपाधि वितरण गर्ने विश्वविद्यालयको नाम सार्वजनिक गर्दै ती संस्थाबाट प्राप्त गर्नेहरूको उपाधि खारेज गर्नेसम्मको निर्णय त्रिभुवन विश्वविद्यालयले गर्न सक्यो भने मात्र शैक्षिक उपाधिको व्यापार रोकिन सक्छ र सही रूपमा उपाधि हासिल गर्नेहरूले सहज रूपमा समकक्षता पाउँछन् ।
अन्तमा, विद्यावारिधि गरेको छु भन्नलाई मात्र उपाधिको दौडमा नलागौँ । पसलमा सामान बेचे जसरी उपाधि वितरण गर्ने विश्वविद्यालय चिनौँ । त्यस्ता विश्वविद्यालयले गलत गरिरहेका छन् भनेर प्रस्ट भनौँ र आफू पनि त्यस्तामा भर्ना नहोऊँ । विद्यावारिधि उपाधि र आफ्नोे इज्जतका लागि पनि सबै सजग बनौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्रीसँग भारतीय स्थल सेना अध्यक्षको शिष्टाचार भेटघाट
-
नेपाल कबड्डी लिगको लोगो सार्वजनिक
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’