नीतिकथा : अनमोल सन्देश
सेवा गर्न र सहयोग गर्न धन नै हुनुपर्छ भन्ने छैन । हिजोआज त यसका लागि पदको समेत खोजी गर्ने गरिन्छ । सेवा गर्नकै लागि पद चाहिएको भनिन्छ र यसैका लागि मरिहत्ते गरिन्छ । यो त झन् बेतुकको कुरा हो । सेवा गर्न धन चाहिन्न । मन भए धर्म कर्म पनि हुन्छ, सेवा पनि हुन्छ । धनले तन जित्न सके पनि मन जित्न सक्दैन तर मनले भने त्यही मनलाई पनि सहजै जित्न सकिरहेको हुन्छ ।
धेरै पहिलेको कुरा हो । गर्मीको दिन थियो । मानिसहरू निकै कष्टले बसमा यात्रा गरिरहेका थिए । त्यतिबेला अहिलेको जस्तो बढी यातायातको साधन पाइँदैनथ्यो । गाउँमा एकाध घण्टामा एउटा बस चल्थ्यो । सबैलाई त्यसैबाट काम चलाउनुपर्ने हुन्थ्यो, जसले गर्दा बसमा निकै भीड हुने गर्थ्यो । त्यस्तै परे खुट्टा राख्ने ठाउँसम्म पाइन्नथ्यो । एक जना गरिब अधवैँशे महिला सोही बसमा यात्रारत थिइन् । सायद सुरुबाटै चडेकीले होला उनले भने सिट पाएकी थिइन् । अघिल्लो स्टेसन पुगेपछि एउटी शिक्षिका चढिन् । देख्दा उनी निकै सम्पन्नजस्ती लाग्थिन् । यताउता हेरिन् सिट खाली नदेखेर खुइय गर्दै मुख बङ्ग्याइन्, नाक खुम्च्याइन् ।
उनको अवस्था देखेर अधवैँशे गरिब महिलाले विनम्रतापूर्वक भनिन्–
‘आउनुस् म्याडम यहाँ बस्नुस् ।’
यति भनेर उनले आफ्नो सिट छाडिदिइन् । शिक्षिका धन्यवाद दिँदै सिटमा बसिन् । अधवैँशेले
मुसुक्क हाँस्दै सन्तोषको सास फेरिन् । अघिल्लो स्टेसनमा शिक्षिका सँगै बसेका यात्री ओर्ले । शिक्षिकाले उनलाई बस्न आग्रह गरिन् तर उनले ठिक छ म्याडम केही छैन भन्दै एउटी बच्चा लिएर भरखरै चढेकी महिलालाई बसाइन् ।
फेरि अघिल्लो स्टेसनमा पुग्दा नजिकैको अर्को सिट खाली भयो । शिक्षिकाले पुन उनैलाई बस्न आग्रह गरिन् तर उनले भने अहिले पनि आफू नबसी अघिदेखि लठ्ठी टेकेर उभिरहेका एक वृद्ध मानिसलाई बस्न आग्रह गरिन् ।
एवंरीतले बस चलिरह्यो । कुनै न कुनै सिट खाली हुँदै गयो तर उनले भने त्यसैगरी यस्तै अत्यावश्यक पर्नेलाई बसाएर आफू खडा रहिन् ।
निकै पर पुगेपछि बसका यात्री प्रायः सबै झरे । सायद बस गन्तव्य पुग्नै लागेको थियो होला । चढ्ने मानिस पनि खासै रहेछन् । त्यसपछि शिक्षिकाले उनलाई आफैँ नजिकको सिटमा बसाउँदै भनिन्–
‘अघि नै देखि उभिँदै आउनुभएको छ । थकाइ पनि लागेको होला, गोडा पनि दुःखेको होला तर तपाईँ भने खाली सिटमा समेत आफू नबसी अरूलाई बसाउँदै आउनुभएको छ । यसको कारण के हो ?’
उनको कुरा सुनेर अधवैँशेले मुस्कुराउँदै भनिन्–
‘म्याडम ! म एउटी मजदुर महिला हुँ । मेरो साथमा तपाईँहरूको जस्तो धन छैन ताकि दनधर्म गर्न सकौँ । त्यसैले यस्तै कर्म गर्ने गरेको छु । कहिले बाटोघाटोको सरसफाइ गर्छु । कहिले यस्तै आवश्यक पर्नेलाई आफूले बसेको सिट छाडेर सकेको सहयोग गर्ने गरेको छु । खान बसेको बेला अगाडि कीरा कमिला तथा पशुपक्षी जे भेटिन्छन् तिनीहरूलाई आफ्नो खानाबाट अलिकति निकालेर उनीहरूलाई खुवाएर मात्र आफूले खाने गरेको छु । यसो गर्दा उनीहरूको मनमा जुन खुसी पाउँछु । त्यसैबाट आफूले आनन्द लिने गरेको छु ।
थाहा छैन अघिल्लो जन्ममा कुन पाप गरेको रहेछु । जसले गर्दा यस जन्ममा यति बढी दुःख पाएकी छु । अब म चाहन्छु अर्को जन्म पनि यस्तै नहोस् । त्यसैले यस्तै सेवापरक कर्म गरेर मृत्यु सुधार्ने प्रयास गर्दै आएकी छु ।’
उनको कुरा सुनेर शिक्षिका अवाक् भइन् । एक अनपढ महिलाले जुन शिक्षा दिएकी थिइन् त्यो कुनै विश्वविद्यालयबाट पाइने डिग्रीको भन्दा बढी थियो । त्यसपछि ती सम्पन्न शिक्षिकाले पनि त्यस्तै गर्न लागिन् ।
धेरै पहिलेदेखि पढ्दै र सुन्दै आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर सेवा गर्न पद, पैसा र अवसर चाहिन्न भन्ने कुरा भने सत्य हो ।