दीपेन्द्रराज गिरीद्वारा लिखित ‘विधाता’ पुस्तक विमोचन
काठमाडौँ । सामाजिक अभियन्ता तथा लेखक दीपेन्द्रराज गिरीद्वारा लिखित ‘विधाता–२’, ‘विधाता–३’ र ‘विधाता–४’ पुस्तकको विमोचन तथा ‘दीपेन्द्र राज गिरी स्पाइनल नेत्र प्रतिष्ठान’को उद्घाटन भएको छ । भक्तपुरमा आयोजित एक समारोहबिच पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उक्त पुस्तक विमोचन तथा प्रतिष्ठान उद्घाटन गरेका हुन ।
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका पूर्वप्रधानमन्त्री ओलीले शारीरिक रुपमा अशक्त भएर पनि निरन्तर आफ्नो कर्ममा लागेका गिरी समाजको उदाहरणीय पात्र भएको बताए । ‘शारीरीक रुपमा मजबुत भएकाहरू काम गर्न अल्छी मान्छन्, तर कठिन शारीरिक अवस्थाबीच उहाँको लगनशीलताले सबैलाई पाठ सिकाएको छ’ उनले भने ।
गिरीद्वारा लिखित पुस्तक पठनीय, ज्ञानवर्धक र जानकारीमूलक भएको बताउँदै पूर्वप्रधानमन्त्री ओलीले पुस्तकमा पछिल्लो केही दशक यताका राजनैतिक, सामाजिक दस्ताबेज संग्रहित रहेको आफूले पाएको बताए ।
पूर्वप्रधानमन्त्री ओलीले आफूजस्तो स्पाइनल समस्या भोगिरहेकाहरूलाई सहायता गर्न र यसबारे जनचेतना फैलाउन प्रतिष्ठान पनि सुरु गरेकोमा गिरीलाई धन्यवाद ज्ञापन गरेका थिए । ‘गिरीजीले प्रतिष्ठानै खोलेर आफूजस्तो शारीरिक अशक्तता भएकाहरूको जीवन सहज बनाउन जुन प्रयत्न थाल्नुभएको छ त्यो एकदमै प्रशंसनीय छ’ ओलीले भने ‘यसमा सबैको सहयोगको खाँचो छ, बास् तपाईँहरूले आफ्नो मन लोभीचाहिँ नबनाउनुहोला ।’
कार्यक्रममा बोल्दै कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य रामहरि खतिवडाले दीपेन्द्र राज गिरीजस्ता पात्रलाई सबैले उत्साह र ऊर्जा दिनुपर्ने बताए । ‘नेपाली राजनैतिक, सामाजिक परिघटनामा गिरीले गरेका टिप्पणी दूरदर्शी साबित भएका छन्, उनको पुस्तकमा उल्लेख घटनाक्रमले त्यसलाई पुष्टि गर्छ’ उनले भने ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले आत्मबल र अठोट भए जस्तोसुकै कठिनाइ पन्छाएर पनि सफल हुन सकिन्छ भन्ने उदाहरण गिरीले प्रस्तुत गरेको बताए ।