शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

अदृश्य सम्झना

शनिबार, ०६ असोज २०८०, ११ : ४५
शनिबार, ०६ असोज २०८०

दशक दशक जुनीभरि 
नछुटिने किरिया खाएका मान्छेले
छुटेर टाढा गएपछि 
आउने भनेको त सम्झना मात्रै रहेछ ।
छाडेर जाने फर्किनु भनेको
उँधो बगेको खोला, 
उँभो फर्किनु जस्तै हुँदो रहेछ  ।

बाफ, बादल अनि वर्षा
विज्ञानमा मात्रै बाँच्दो रहेछ ।
बिर्सन लागेको धमिलो सम्झना
खाटा बस्न लागेको प्रेम घाउ
फुङ्ग रङ उडेको श्याम श्वेत तस्बिर 
सपनाभरि के के बोलेर 
त्यसै त्यसै झकझकाई दिन्छ ।

उनी कल्पनाको बगैँचाभरि, 
फुल बनी फुल्छिन्
म मदहोस भँवरा
उनकै वरपर फनफनी उडिरहेको हुन्छु ।
सपनाहरू देख्दै गरेको 
मेरो फगत कोरा कल्पनामा 
उनी गएदेखि मेरो बिपनाहरू
यादहरूको गह्रुँगो भारी बोकेर, 
एक्लो हिँड्दैछु
सँगै यात्रा गर्छु भन्ने 
तिमीले रोजेको बाटोमा
दुःखद वियोगान्त कथाको पात्र बनेको म
निमोठिएको प्रेमको अल्पायुमा भएको निधन 
दोषी तिमी हो कि म ?

चेतना गुम हुँदै गर्दा,
औँसी खस्छ म माथि 
बिलौना गर्दै गरेको एक हुल तारा
म आफैँ आफैलाई बिर्सेर
आवेशमा आक्रोशित हुँदै 
मृत्यु पत्रमा हस्ताक्षर गर्न राजी हुन्छु ।

साझा बोझ बोक्ने कसम तोडेर
कोशेलीस्वरूप दिएको मीठो उनको उपहार 
भुल्नै नसकिने पीडा र रोदन 
पश्चात्ताप र निराशा मेरो दुर्दशा  
प्रयास गर्ने, रुने र लड्ने ।
एक समय, एक सुन्दर अतीत
मैले गरेको मायाको सुन्दरता 
सम्झेर महसुस गरेँ ।
म उनको,
सौन्दर्यको तालमा नाचिरहेको
फगत कोरा कल्पनामा
फगत नटुङ्गिने गोरेटोमा
फगत परेली भिजेको नयनको सामुन्नेमा
वर्षौँदेखि बिर्सिन प्रयास गरेको कोसिसमा
तर, समयसँगै आइरहे सम्झना
सन्दर्भसँगै आइरहे सम्झना
साथसँगै आइरहे सम्झना 
म सँगै मर्छ होलान् 
सधैँ आइरहने अदृश्य सम्झना ।
अदृश्य सम्झना ।।  
पाँचखाल, काभ्रेपलान्चोक, हालः लिमासोल, साईप्रस
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप