यादहरू
कति बलिया हुन्छन् है यादहरू
दरिलो बनाएर राखेको मनलाई
ढलाइदिन्छन् क्षणभरमै
सुनामी नै ल्याइदिन्छ वर्तमानमा,
मस्तिष्कमा, मनस्थितिमा ।
कमजोर हुँदा फेरि तिनै यादहरूले
सहारा दिन्छन्, भरोसा दिन्छन्
ब्युँताउँछन् मरिसकेको आत्मविश्वासलाई
कहिले जिउँदो विश्वासलाई
मारिदिन्छन् पलभरमै निष्ठुर बनेर ।
बिर्सन अथक प्रयास गरेका
नमिठा पलहरूलाई
हावाको एक झोक्काले
कता कताबाट टुप्लुक्क
ल्याई पुर्याउँछ
मनको बारीमा,
आँखाको डिलमा ।
कतिपय याद कहिले बिर्सिन्न
भन्दा पनि समयको बहावसँगै
पुरिन्छन् स्मृति पटलमा
पहिरोले घर पुरेजस्तै गरी
कति सम्झन खोज्दा पनि
न त त्यो अनुहार याद आउँछ,
न त नाम
सायद मस्तिष्कको कुनै कुनामा
पुरिएका छन् उनीहरू पनि
भविष्यमा उत्खनन हुने आसमा ।
अपूरो, धमिलो नै भएर पनि
सम्झनाहरू कसरी बाँच्दा हुन्
मनको कुना कन्दरामा ?
बाँच्छन् र त चिहाइरहन्छन्,
जिस्काई रहन्छन्,झकझकाई रहन्छन्
सपनामा कहिलेकाहीँ तृष्णा बनेर ।
यादले तिर्खा जगाउँछ, मेटाउँछ पनि
दुखाउँछ मनलाई, फकाउँछ पनि
रुवाउँछ कहिले, हँसाउँछ पनि
अनायासै अनपेक्षित रूपमा ।
मान्छे भन्दा प्रिय मलाई
तिनका यादहरू लाग्छन्
म मेरा स्मृतिमा फर्किएर
कोट्याई रहन्छु सबैलाई
ओल्टाई पल्टाई गरेर
सुकाई रहन्छु घाममा
ओसले नकुहियोस् भनेर ।
सायद उनीहरू पनि
त्यस्तै, गर्दा हुन् मलाई
र, त हावाको सिरसिर
झोक्काले ल्याउँदो हो
सम्झना पोको पारेर
मसम्म ।
हावाको झोक्का, पानीको फोका,
घाम–पानी, गर्मी शीतल,
आँधी–बेहरी, दिन, रात
उज्यालो, अँध्यारो
जेमा पनि चढेर
आइहाल्छन् अतितका यादहरू ।
भीड, एकान्त हेर्दैनन् कतै
खस्छन् मनको डिलमा
नबोलाइएको पाहुना बनेर
मनको ढोका
ड्याम्मै भोटे ताल्चाले
थुन्दा पनि कसरी छिर्छन् कुन्नि
बिर्को लगाएको चिनीको बट्टामा
कमिलाहरू पसेजस्तै
पसिरहन्छ यादहरू
बेला बेलामा चोर बाटो गरेर ।
कति बलिया हुन्छन् है
यादहरू
मलाई पनि आफूजस्तै बलियो
बनाइदेऊ न प्रिय यादहरू ।