सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
कविता

म कति भाग्यमानी

शनिबार, ०६ असोज २०८०, ११ : १७
शनिबार, ०६ असोज २०८०

म कति भाग्यमानी थिएँ बा 
बिहानै तपाईंको हँसिलो अनुहार, 
तपाईंको जोसिलो बोली
चिटिक्क परेको दौरा सुरुवालमा देख्थेँ ।
मकैको भात पनि खुसी मानी खाएको 
माड हालेको गुन्द्रुकको झोल 
खाँदा कति खुसी देख्थेँ, 
मलाई त्यो हँसिलो अनुहार देख्दा 
कति ऊर्जा मिल्थ्यो, 
म कति भाग्यमानी थिएँ बा ।

मेरो लागि कति दुःख गर्नु हुन्थ्यो,
सारा पिर र व्यथा भुल्नु हुन्थ्यो,
कतिको छुद्र व्यवहार सहनु हुन्थ्यो, 
अनि मलाई सधैँ भन्नु हुन्थ्यो 
बाबु, मेरो पनि दिन आउला नि ।
मेरो मन कति खिन्न हुन्थ्यो, 
सोच्थेँ मेरो बाको दिन आउला कि नआउला ?
कुनै कुरामा पनि हरेस नखानु जोश भर्नु हुन्थ्यो, 
ज्ञान र गुनको कुरा कति सिकाउनु हुन्थ्यो, 
म कति भाग्यमानी थिएँ बा । 

बा, तपाईंलाई मेरो ससानो प्रगतिमा 
कति खुसी मिल्थ्यो है,
सारा गाउँलाई आफ्नो खुसी साट्नु हुन्थ्यो,
मलाइ थाहा छ, कोही सुन्थे र खुसी हुन्थे ।
कोही सुन्न नपरे हुन्थ्यो जस्तो गर्थे, 
अनि भित्रैदेखि जलन हुन्थे, 
डाहा र रिस त कति कति गर्थे, 
मिले सम्मको नमिठो शब्दले व्यङ्ग्य गर्थे,
तैपनि चुपचाप केही नबोली 
राम्रो दिनको प्रतीक्षामा बस्नुहुन्थ्यो 
म कति भाग्यमानी थिएँ बा । 

के म पनि असल बा बन्न सक्छु होला ?
तपाईंले जस्तै असल कर्म गर्न सक्छु होला ?
तपाईंले जस्तै सुख र दुःखसँग 
पौठेजोरी खेल्न सक्छु होला ? 
तपाईंले जस्तै बुढेसकालसम्म 
खट्न सक्छु होला ? 
छोराछोरी आफ्नै सामीप्यमा 
पाउँछु होला ? 
मलाई लाग्छ, यो असम्भव छ 
दिनरात सोच्दा सोच्दै  
मलाई अत्यास लागिसकेको छ  
तर, हजुरको समीपमा साँच्चै, 
म कति भाग्यमानी थिएँ बा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिनेश अधिकारी ‘नयाँघरे’
दिनेश अधिकारी ‘नयाँघरे’
लेखकबाट थप