शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
ब्रिफिङ

रातोपाटी ब्रिफिङ : सहमतिपछि शिक्षक महासंघ शान्त, राहत शिक्षक आन्दोलनमै

शुक्रबार, ०५ असोज २०८०, २३ : ०१
शुक्रबार, ०५ असोज २०८०

आज मिति २०८० साल असोज महिनाको ५ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको रात्रीकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ मा प्रस्तुत गरिएको छ । 

राहत शिक्षक आन्दोलनमै 
नेपाल राहत शिक्षक केन्द्रीय समितिले सरकार र नेपाल शिक्षक महासंघबीचको शुक्रबार भएको ६ बुँदे सहमति अस्वीकार गर्ने घोषणा गरेको छ । राहत शिक्षक केन्द्रीय समितिले विद्यालय शिक्षा विधेयकको विरोधमा सडक आन्दोलन जारी रहने शुक्रबार राति विज्ञप्ति जारी गरेको घोषणा गरेको छ ।

महासंघको आन्दोलन भने मत्थर
सार्वजनिक विद्यालयमा कार्यरत शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको छ । सरकार र शिक्षक महासंघवीच शुक्रबार भएको ६ बुँदे सहमति अनुसार शिक्षकहरुको मर्यादाक्रम तोकिने भएको हो । 
सहमति अनुसार शिक्षकहरुको दश–दश वर्षमा आवधिक बढुवा हुने भएको छ । जसमा मावि तहका शिक्षकको विशिष्ट श्रेणीमा बढुवा हुन न्यूनतम पाँच वर्षको सेवा कायम गर्ने सहमति भएको  छ ।
आन्दोलनरत शिक्षक र सरकारबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन फिर्ता गरेका छन् । विभिन्न १८ बुँदे माग राख्दै शिक्षक महासंघको अगुवाइमा असोज ३ देखि शिक्षकहरुले विद्यालय शिक्षा विधेयकको विरोधमा राजधानीमा आन्दोलन थालेका थिए । सहमतिसँगै महासंघको तर्फबाट भने आन्दोलन फिर्ता भएको छ । 

नेपाली कांग्रेसले विद्यालय शिक्षा विधेयक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले शिक्षा विधेयकलाई आवश्यक संशोधन र परिमार्जन गर्न पहल गर्ने निर्णय गरेको हो ।


सुन तस्करी प्रकरणमा आयोग गठन विवाद
सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय आयोग गठनबारे सिंहदरबारमा भएको दोस्रो पटकको छलफलमा पनि सहमति जुट्न सकेन । सहमति जुट्न नसक्दा सरकारले संसदमार्फत आयोग गठन गर्न गरेको प्रतिवद्धता र तोकेको समयसीमा घर्केको छ ।

महासभालाई प्रधानमन्त्रीको सम्बोधन
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभालाई सम्बोधन गरेका छन् । 
सम्बोधनको क्रममा प्रधानमन्त्री प्रचण्डले दिगो विकास, जलवायु परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित स्वास्थ्य चुनौती र नेपालको शान्ति प्रक्रियाबारे विषय उठान गरेका थिए ।
त्यस्तै नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास, समुन्नत नेपाल निर्माणमा नेपालको प्रयास लगायतका विषयमा पनि प्रचण्डले साममा जानकारी गराएका छन् ।

नयाँ नागरिकता नियमावली
। सरकारले नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० राजपत्रमा प्रकाशित गरेको छ । यससँगै नयाँ व्यवस्थाअनुसार नागरिकता वितरणको बाटो खुलेको छ । 
बिहीबार नियमावली प्रकाशित भएसँगै उमेर पुगेका र बाबुको पहिचान हुन नसकेका व्यक्तिले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र पाउने भएका छन् । त्यस्ता व्यक्तिले नागरिकता पाउन जन्मदर्तासहित आमाको नेपाली नागरिकता वा आमा नेपाली रहेको प्रमाण पेश गर्नुपर्नेछ । यसअघि बाबुको नागरिकता अनिवार्य रहेकोमा नियमावली संशोधनसँगै बाबुको पहिचान नभएका व्यक्तिले अवदेखि आमाका नामबाट नेपाली नागरिकता पाउने भएका हुन् ।

नेपाल पराजित
१९ औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार भएको महिला फुटबलको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ । समूह ‘डी’ अन्तर्गतको खेलमा भियतनामले नेपाललाई २—० गोलले पराजित गरेको हो ।

यो पनि....
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिमा देश हाँक्ने संकल्पको अभाव भएको बताएका छन् ।  शुक्रबार पार्टी निकट पार्टी निकट उद्योग व्यवसायी महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाललले देश बनाउने भन्दा पनि सत्तामा पुग्ने भावना तलदेखिमाथि सम्म नै व्यक्त भएकाले देशको अवस्था विग्रदै गएको बताएका हुन् ।  

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको आरोपमा कृष्ण बहादुर महराका छोरा राहुल थुनामा छन् । दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ ।

पूर्वसभामुख दमननाथ ढुंगानाले राजतन्त्र माओवादीले नभई बिपीको विचारबाट फालिएको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले  २०५२ सालदेखि यो २०८० सम्मको राष्ट्रिय समय खेर गएको बताए । उनले बिपी संविधान मानेर जाने भए राजतन्त्र फाल्न आवश्यक नभएको कुरामा अडिग रहेको बताए ।

सरकारले चाडपर्वमा यातायात व्यवस्था प्रभावकारी बनाउन यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा चाडपर्व यातायात सहजीकरण समिति बनाएको छ ।  

थप समाचार

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप