शिक्षक आन्दोलनले बाराका ४२५ सामुदायिक विद्यालयका १ लाख ६० हजार विद्यार्थीको पठनपाठन ठप्प
बारा । कलैया उपमहानगर–१२ बरियारपुरका अंश गुप्ता कलैया– १ स्थित श्री ३ चन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दछन् । उनी बुधवार बिहान झोला बोकेर विद्यालय पुग्दा सबै कक्षाकोठाको झ्यालढोका बन्द थियो भने विद्यालयमा शिक्षक, कर्मचारी कोही थिएनन् ।
विद्यालयमा पढाइ नहुने थाहा पाएपछि गुप्ता त्यतिकै घर फर्किए । शिक्षकहरुले केका लागि आन्दोलन गरेका हुन् भन्ने थाहा नभए पनि विद्यालयमा पढाइ हुनुपर्ने उनको भनाइ थियो ।
‘शिक्षकहरुले किन हड्ताल गर्नुभएको हो, हामीलाई थाहा छैन तर बेमतलव हाम्रो पढाइ छुट्न भएन, त्यो नराम्रो भयो,’ गुप्ताले भने ‘आन्दोलन नगरेर पढाइ सञ्चालन गर्नुपर्यो ।’
कलैया उपमहानगर–२०, बसतपुरका रवि साह पनि श्री ३ चन्द्र मावि कलैयामा कक्षा ८ मा अध्ययन गर्दछन् । विद्यालय पुगेर पढाइ नभइ फर्कनु परेकोमा धेरै नराम्रो लागेको उनको गुनासो छ ।
‘म त गाउँबाट आएर आज स्कुल गएको थिएँ, पढाइ हुँदैन भन्ने सुनेर गेटबाटै फर्केर आएँ, त्यतिकै घर फर्कनु पर्दा नराम्रो लाग्यो,’ उनले भने ।
असोज १ गते विश्वकर्मा पूजाको दिनदेखि बन्द रहेका सामुदायिक विद्यालयहरु बुधबारदेखि खुल्ने सूचना पाएर धेरै विद्यार्थी पढ्नका लागि आउने गरेको सुरक्षागार्ड राजकुमार कुशवाह बताउँछन् ।
राणाकालीन प्रधानमन्त्री चन्द्र शमशेर जंगबहादुर राणाको पालामा स्थापना भएको श्री ३ चन्द्र माध्यमिक विद्यालय नेपालको दोस्रो पुरानो विद्यालय हो । सो विद्यालयमा नेपाली र अंग्रेजी माध्यममा गरी २ हजार २ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा करिव ४० जना शिक्षक कार्यरत छन् जसमध्ये अधिकांश काठमाडौँ केन्द्रित शिक्षक आन्दोलनमा सहभागी हुन गएको विद्यालय प्रशासनले जनाएको छ ।
बाराका ४२५ वटा सामुदायिक विद्यालयमा कार्यरत २ हजार ९१० शिक्षकमध्ये अधिकांश शिक्षक पठनपाठन ठप्प पारेर नेपाल शिक्षक महासंघको नेतृत्वमा काठमाडौँमा सुरु भएको शिक्षक आन्दोलनमा सहभागी हुन गएका छन् । शिक्षक आन्दोलनका कारण बारामा बालविकासदेखि उच्च माविसम्म अध्ययनरत १ लाख ६० हजार ४०७ जना विद्यार्थीको पठनपाठन ठप्प भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ बाराका निमित्त प्रमुख वृजकिशोर प्रसादले जनाएका छन् ।
‘शिक्षक आन्दोलनले बारामा बालविकास देखि उच्च माविका डेढ लाखभन्दा बढी विद्यार्थीको पठनपाठन ठप्प भएको छ,’ शिक्षा समन्वय इकाइ प्रमुख प्रसादले भने । ‘विद्यालय शिक्षा विधेयक २०८०’ शिक्षकहरूको हितमा नरहेकाले फिर्ता गर्नुपर्ने मागसहित शिक्षकहरु बुधबारदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा छन् ।
जीतपुर सिमरा उपमहानगर–१४ स्थित जनता मावि प्राविधिक शिक्षालय रजघट्टाका प्रधानाध्यापक राजु अधिकारीले जिल्लाबाट ८० प्रतिशत शिक्षक आन्दोलनमा सहभागी हुन काठमाडौँ पुगेको बताए । उनले शिक्षकहरुको माग सम्बोधन भएमात्रै नियमित काममा फर्कने बताए ।
यता नेपाल राष्ट्रिय नमुना मावि सिमराका प्रधानाध्यापक शंकर आचार्यले शिक्षा ऐन २०८० को विधेयक फिर्तासहितका माग पूरा नगरेसम्म आन्दोलन निरन्तर रहने जानकारी दिए । ‘२०७५ सालमा ३० वटा, २०७८ सालमा ५१ वटा बुँदामा नेपाल सरकारले सहमति गरिसकेको छ, त्यसलाई लत्याएर अहिले शिक्षक महासंघसँग सल्लाह नै नगरी शिक्षा ऐन २०८० ल्याएको छ, त्यसको विरुद्धमा आन्दोलन भएको हो,’ आचार्यले भने, ‘जबसम्म माग पूरा हुँदैन तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’
नेपाल राष्ट्रिय नमुना मावि जीतपुर सिमराभित्रका ६२ वटा सामुदायिक विद्यालयमध्ये सबैभन्दा धेरै विद्यार्थी संख्या भएको विद्यालय हो । यस विद्यालयमा मात्रै बालविकासदेखि उच्च माविसम्म २ हजार ६०५ जना विद्यार्थी अध्ययनरत छन् । सो विद्यालयमा शिक्षक र कर्मचारी गरी एक सयजना भन्दा धेरै कार्यरत छन् ।
प्रअ आचार्यले शिक्षक आन्दोलनका कारण विद्यार्थीहरुको पठन पाठनमा पुगेको क्षतिलाई सार्वजनिक बिदाको दिन पढाएर पूरा गर्ने दाबी गरे । सामुदायिक विद्यालयमा पठन पाठन ठप्प भएकोप्रति बाराको १६ वटा पालिकामध्ये कलैया उपमहानगर, महागढी नगरपालिका, बारागढी, परवानीपुर गाउँपालिका सहित केही स्थानीय तहले विज्ञप्ति नै जारी गरेर विद्यालय बन्द गरी आन्दोलनमा सहभागी हुने शिक्षकहरुलाई कारबाही गर्ने जनाएका छन् ।
परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीले सूचना जारी गरेर विद्यालय सञ्चालन गर्न आफूले निर्देशन दिए पनि पालिकाभित्रका सबै सामुदायिक विद्यालय ठप्प भएको बताए । ‘जो शिक्षकहरु आन्दोलनमा जानु भयो, ठिक छ । यहाँ बसेका शिक्षकहरुलाई विद्यालय खोल्न हामीले निर्देशन दिएका थियौँ तर एउटै विद्यालय खुलेन, यो राज्यको समस्या हो । हाम्रो एउटा गाउँपालिकाको समस्या होइन,’ कुर्मीले भने ।
शिक्षक आन्दोलनमा शिक्षक महासंघले ट्रेड युनियन अधिकार सुनिश्चित हुनुपर्ने, राहत, अनुदान, प्राविधिक धार, करार, अस्थायी सबैखाले अस्थायी प्रकृतिका शिक्षकलाई मापदण्ड पूरा गरी स्थायी हुने गरी प्रक्रियामा लैजानुपर्ने, शिक्षकहरूको मर्यादाक्रम निजामती कर्मचारी भन्दा माथि हुने गरी कायम गरिनुपर्ने माग अघि सारिएको छ ।
बाल विकासलाई विद्यालयको संरचनाभित्र ल्याउनुपर्ने, स्थायी शिक्षकको आवधिक बढुवा हुनुपर्ने, अस्थायी शिक्षकको सेवा अवधि गणना गर्नुपर्ने माग पनि शिक्षकहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमय दर, कुनको मूल्य कति ?
-
जब सांसदले विधेयक च्यातेर संसद्मै 'हाका नाच्न' थाल्छन्...
-
पेटको बोसो पघाल्न चाहनुहुन्छ ? जीवनशैलीमा गर्नुस् यी ४ हेरफेर
-
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
-
महिला संख्या बढाउन पार्टीभित्रै आन्तरिक प्रतिस्पर्धा बढाउनुपर्छ : अध्यक्ष हमाल
-
राष्ट्रिय हितका लागि सविधान संशोधन : सभापति देउवा