शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
प्रधानसेनापतिको भारत भ्रमण

प्रधान सेनापति सहभागी हुन लागेको इन्डो–प्यासिफिक सम्मेलन के हो ?

पूर्व सहायक रथी भन्छन्–‘यो पिकनिक जस्तै हो’
शुक्रबार, ०५ असोज २०८०, २३ : ३१
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा असोज ८ देखि १० सम्म आयोजित ‘इन्डो–प्यासिफिक’ सम्मेलनका सहभागी हुन लागेका छन् । सो सम्मेलनका सहभागी हुन शर्मा असोज ७ मा भारत जाँदै छन् ।

सम्मेलनमा ३५ मुलुकका सैन्य प्रतिनिधिमण्डल सहभागी हुँदै छन् । नेपाल सहित १५ देशका सेनापतिहरू सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । नेपाल, भारत, अमेरिका, अस्ट्रेलिया, बङ्गलादेश, इन्डोनेसिया, जापान, मलेसिया, भुटान, ब्रुनाई, कम्बोडिया, कोरिया, मालदिभ्स, मङ्गोलिया, म्यानमार, न्युजिल्याण्ड लगायतका देशका प्रधान सेनापतिहरू सो सम्मेलनमा सहभागी हुँदै छन् ।

यसअघि ‘प्यासिफिक कमान्ड’ भनिने सो सम्मेलनमा नेपाली सेनाका प्रतिनिधि यसअघिका १२ औँ संस्करणमा सहभागी भैसकेका छन् । यस पटक हुन लागेको १३ औँ संस्करण ‘इन्डो–प्यासिफिक’ भनिएको छ । सैनिक अधिकारीहरूका अनुसार ‘प्यासिफिक कमान्ड’लाई नै आयोजकले चार वर्षअघि देखि ‘इन्डो–प्यासिफिक’ भन्न थालेका हुन् ।

सम्मेलन भारतीय सेना र अमेरिकी सेनाले संयुक्त रूपमा आयोजना गर्न लागेका हुन् । नेपालका प्रधान सेनापतिलाई भारतीय सेनाध्यक्ष मनोज पाण्डेले निमन्त्रणा गरेको बताइएको छ । सम्मेलनको शीर्षक ‘शान्तिका लागि एकैसाथ : हिन्द–प्रशान्त क्षेत्रमा दिगो शान्ति र स्थायित्व’ राखिएको छ ।

‘इन्डो–प्यासिफिक’ अमेरिका सहितका देशहरूको सैन्य रणनीति हो । अमेरिकी सैन्य रणनीतिमा सहभागी हुँदा चिनियाँ सैनिक रणनीतिसँग सम्बन्ध चिसिइसक्ने आशङ्का गरिएको छ । तर, नेपालले आफ्नो हित अनुकूल सम्मेलनमा सहभागी हुनुपर्ने बताउँछन् सुरक्षा सम्बन्धी जानकार डा. दीपेश केसी । उनले भने–‘नेपाल असंलग्न हो, जोसँग सम्बन्ध बनाउँदा हाम्रो हित हुन्छ नेपाली पक्षले त्यही गर्नुपर्छ ।’

गणतन्त्र स्थापनापछि नेपाली सेना ‘इन्डो–प्यासिफिक’ सैनिक सम्मेलनमा सहभागी हुन थालेको हो । छत्रमान सिंह गुरुङ प्रधान सेनापति भएपछि नेपालले सो सम्मेलनमा भाग लिन थालेको नेपाली सेनाका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।  

पूर्व सहायक रथी प्रेम सिंह बस्न्यातले ‘इन्डो–प्यासिफिक’ सम्मेलनलाई पिकनिक जस्तै भएको बताए । बस्नेत भन्छन्–‘यो सम्मेलनले मित्रतालाई मजबुत बनाउँछ, यसमा चिनियाँ पक्ष रिसाउने भन्ने हुँदैन ।’

सम्मेलनमा ‘वान टु वान’ कुरा हुँदा अरू देशका सेना प्रमुखहरूले आफ्नो स्वार्थका कुरा राख्न सक्ने बस्न्यातले बताए । उनले भने–‘यो सम्मेलन पिकनिक जस्तै हो ।’

‘इन्डो–प्यासिफिक’ सम्मेलनसँगै आयोजना हुने ४७ औँ ‘इन्डो प्यासिफिक आर्मिज मेनेजमेन्ट सेमिनार’मा सहभागी हुन नेपाली सेनाका उपरथी योगराज शर्मा र महा सेनानी वसन्त बहादुर गौतम सहभागी हुँदै छन् । भ्रमण दलमा प्रमुख सुबेदार रत्न बहादुर थापा पनि सहभागी हुनेछन् ।

मन्त्रिपरिषद्ले भदौ २३ मा प्रधान सेनापतिलाई सम्मेलनमा सहभागी हुन अनुमति दिने निर्णय गरेको थियो । नेपाली सेनाका प्रवक्ता (सहायक रथी) कृष्ण प्रसाद भण्डारीले सम्मेलनमा नेपालको नियमित सहभागिता भएको बताए । रातोपाटीसँग कुरा गर्दै भण्डारीले भने–‘इन्डो–प्यासिफिक सम्मेलनमा नेपालको तर्फबाट नियमित सहभागीता रहँदै आएको थियो, यसपटकको सहभागिता पनि त्यही निरन्तरता हो ।’

सम्मेलनमा डिफेन्स डिप्लोमेशी र आतङ्कवाद सम्बन्धी छलफल हुने सैनिक अधिकारीहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप