शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा नेपाल : टेबलटेनिसको महिला टिम स्पर्धामा पराजित

फुटबलमा आज भियतनामको सामना गर्दै
शुक्रबार, ०५ असोज २०८०, ०९ : ५८
शुक्रबार, ०५ असोज २०८०

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा शुक्रबार नेपाली महिला फुटबल टोलीले आफ्नो पहिलो खेल खेल्दै छ । प्रतियोगितामा नेपाली टोली समूह ‘डी’ मा रहेको छ । नेपाल र भियतनामबीचको खेल नेपाली समयअनुसार, दिउँसो १ः४५ बजे सुरु हुनेछ ।

नेपालको समूहमा बङ्गलादेश र बलियो जापान पनि रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल सेप्टेम्बर २५ तारिखमा जापानसँग खेल्नेछ । त्यसपछि समूहगत चरणको अन्तिम खेल नेपालले सेप्टेम्बर २८ तारिखमा बङ्गलादेशसँग खेल्नेछ । 

१९औँ एसियाली खेलकुदमा नेपालले फुटबलको महिला स्पर्धामा मात्र सहभागिता जनाएको छ । नेपालले पुरुष फुटबलमा भने भाग लिएको छैन । एसियाली खेलकुदको १९औँ संस्करणको औपचारिक उद्घाटन भने शनिबार हुनेछ । 

यसैगरी नेपालले शुक्रबार टेबलटेनिसको महिला टिम स्पर्धामा प्रतिस्पर्धा गर्‍यो । शुक्रबार टिम स्पर्धाअन्तर्गत खेलिएको समूह ‘एफ’ को प्रारम्भिक चरणको खेलमा नेपालले लगातार तीनवटा खेलमा पराजय भोग्यो । 

पहिलो खेलमा नेपालकी नबिता श्रेष्ठ सिंगापुरकी झु जिङ्यीसँग ०—३ सेटले पराजित भइन् । सिंगापुरकी खेलाडीले नवितालाई ११—४, ११—३ र ११—४ अंकले पराजित गरिन् । शुक्रबार नै खेलिएको दोस्रो खेलमा नेपालकी सिक्का सुवाल पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले नै पराजित भइन् । सिंगापुरकी जिन जेङले नेपालकी सिक्कालाई ११—२, ११—१ र ११—४ अंकले हराइन् । 

शुक्रबार नै भएको तेस्रो खेलमा नेपालकी इभाना थापामगर पनि सिंगापुरकी प्रतिद्वन्द्वीसँग ०—३ सेटले पराजित भइन् । सिंगापुरकी रु झिन वङले नेपालकी इभानालाई ११—३, ११—७ र ११—४ अंकले पराजित गरिन् । एसियाली खेलकुदमा नेपालको पुरुष भलिबल टोली भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप