बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

देशमा दिगो शान्तिको कामना गर्दै बौद्ध क्षेत्रमा शान्तिपूर्ण धर्ना

बिहीबार, ०४ असोज २०८०, १२ : ०१
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा मानव अधिकार तथा शान्ति समाज काठमाडौँ शाखाले विश्व सम्पदा सूचीमा सूचिकृत बौद्धनाथ चैत्य क्षेत्रमा दिगो शान्तिको कामना गर्दै धर्ना दिएको छ । 

विश्व शान्तिका लागि देशमा शान्ति कायम गर्ने वातावरण बनाउन धर्ना आयोजना गरिएको शाखाका अध्यक्ष भगवान् पुडासैनीले  जानकारी दिए । कार्यक्रममा मानव अधिकार तथा शान्ति अभियानमा लागेका पाँच दर्जनभन्दा बढी अभियानकर्मीको सहभागिता थियो । सहभागीले देशमा शान्ति कायम गराउनका लागि विभिन्न प्ले कार्ड बोकेर आह्वान गरेका थिए ।

 हिंसाको भविष्य छैन, शान्तिको विकल्प छैन भन्ने नाराका साथ गरिएको धर्नामा समाजका पूर्वसभापतिद्वय उत्तम पुडासैनी र होमकान्त चौँलागाइँ, काठमाडौँ महानगरपालिका वडा नं. ६ का पूर्वअध्यक्ष दीपेन्द्र लामा, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ का पूर्वअध्यक्ष रमेश अर्याल र वडा नं. ८ का पूर्वअध्यक्ष मनोजकुमार ढुङ्गानालगायत जनप्रतिनिधिको पनि सहभागिता थियो ।
 

धर्ना समापन कार्यक्रमलाई सम्बोधन गर्दैै समाजका केन्द्रीय सदस्य रामकृष्ण बरालले सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पु¥याएर पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए । 
  संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा घोषणा गरी १९८२ देखि सेप्टेम्बर २१ का दिन यो दिवस मनाउन थालेको हो । अहिंसा र युद्धविराममार्फत् शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनका रुपमा विश्वभरी शान्ति दिवस मनाउने गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप