रातोपाटी ब्रिफिङ : बाबुरामलाई प्रचण्डको बाइपास, देउवामाथि शेखरको आक्रोश
आज २०८० असोज ३ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘सन्ध्याकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
सडकमा शिक्षक
मन्त्रिपरिषदबाट पास भएर संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकको चर्को विरोध गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु बुधबारबाट काठमाडौँ केन्द्रित सडक आन्दोलनमा उत्रिएका छन् । मन्त्रिपरिषद्ले पास गरेको उक्त विधेयक नसच्चिएसम्म आन्दोलनबाट पछि नहट्ने अडानसहित शिक्षकहरु सडकमा उत्रेका हुन् ।
संविधान दिवस
संविधानविद्हरूले संविधान जारी भएको ८ वर्ष बितिसक्दासमेत पूर्ण रूपमा कार्यान्वयनमा नआएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरूले संविधान कार्यान्वयन गर्नका लागि संघीय कानुन अहिलेसम्म नबनेको र बनेको कानुन पनि लागु नभएको भन्दै चिन्ता व्यक्त गरेका हुन् । संविधानविद् विपिन अधिकारी लामो समयसम्म संघीय कानुन बन्न नसक्दा संविधान कमजोर बन्ने खतरा देख्छन् ।
संसद्को चालु अधिवेशन अन्त्य हुँदै
सङ्घीय संसद्को चालु अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्था देखिएको छ । संसद् र दलहरूको निष्क्रियताका कारण विधेयक बनाउने प्रमुख थलोको रूपमा रहेको सङ्घीय संसद्को दोस्रो अधिवेशन एक मात्र विधेयक पारित गरेर अन्त्य हुने अवस्थामा पुगेको हो ।
एमाले प्रदेश अधिवेशन
नेकपा एमाले गण्डकी प्रदेश कमिटीको अध्यक्षमा केन्द्रीय कमिटी सदस्यहरू नै नेतृत्वका लागि दौडधुपमा लागेपछि अन्य नेताले सकस महसुस गर्न थालेका छन् । अगामी असोज १५ र १६ गते पोखरामा एमालेको गण्डकी प्रदेश अधिवेशन हुँदै छ ।
बाबुरामलाई बाइपास
नेकपा माओवादी केन्द्रले पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ‘बाइपास’ गरेर पार्टी एकताका लागि पत्र पठाएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ । भदौ ३० गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र हलचल ल्याएको हो ।
शेखरको आक्रोश
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले सभापति शेरबहादुर देउवालाई भेटेर पार्टी सञ्चालन कार्यशैलीमाथि असन्तुष्टि राखेका छन्। बुधबार बिहान देउवा निवास धुम्बाराही पुगेर नेता कोइरालाले पार्टीलाई एकलौटी ढंगले सञ्चालन नगर्न सभापति देउवालाई चेतावनी दिएका हुन् ।
आन्दोलन स्थगित
माइतीघर मण्डलामा धर्नामा रहेका मेडिकल शिक्षालयहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारले माग पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै वार्ता समिति गठन गरेपछि उनीहरूले एक महिनाभन्दा लामो समयदेखि जारी राखेको आन्दोलन स्थगित गरेका हुन् ।
संसदीय समितिका बैठकहरु प्रभावित
प्रतिनिधिसभाको बैठक २ साता बढीलाई स्थगित भएपछि त्यसको प्रभाव संसदीय समितिहरुमा पनि परेको छ । गत भदौ २९ गते बसेको प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित गरिएको छ ।
फरक आन्दोलन
राष्ट्रिय सभागृह अगाडि केही युवाहरू प्लेकार्डसहित उभिइरहेको भेटिन्छन् । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको कार्यालय अगाडि उनीहरू त्यसै उभिएका होइनन्, यो उनीहरूको आन्दोलनको एक रूप हो ।
शीतलनिवासमा भीआईपीको जमघट
संविधान दिवसको अवसर पारेर राष्ट्रपति भवन शीतल निवासमा भीआईभीहरुको जमघट भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा उपराष्ट्रपति रामसहाय प्रसाद यादवसहित कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनासहित उच्चपदस्थ अधिकारीहरुको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च इञ्जिनपछि ब्राउजर ल्याउने योजनामा ओपनएआई
-
१२ बजे, १२ समाचार : चीनसँग ऋणसम्बन्धी सम्झौता नगर्ने प्रधानमन्त्री ओलीको बाचादेखि ११ महिनापछि बल्ल धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसम्म
-
नेपालगञ्ज भन्सारमा ६ वर्षदेखि छैन स्क्यानर मेसिन, हातैले छामेर मालसामान जाँच
-
सार्वजनिक शिक्षा सुधार्न नेत्रको संघर्ष, सातै प्रदेशमा उभिएर प्रदर्शन गर्ने
-
प्रभु साहको प्रश्न : प्रधानमन्त्रीको चीन भ्रमण देशका लागि हो कि तीर्थयात्रा ?
-
धितोपत्रको अध्यक्षमा व्यावसायिक पृष्ठभूमिका श्रेष्ठको ‘इन्ट्री’