निजी मेडिकल कलेजहरूको आन्दोलन स्थगित
काठमाडौँ । माइतीघर मण्डलामा धर्नामा रहेका मेडिकल शिक्षालयहरूले आन्दोलन स्थगित गरेका छन् । सरकारले माग पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दै वार्ता समिति गठन गरेपछि उनीहरूले एक महिनाभन्दा लामो समयदेखि जारी राखेको आन्दोलन स्थगित गरेका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा वार्ता टोली गठन गरिएको छ । उनीहरूले उठान गरेका माग सम्बोधन गर्ने विषयमा सरकार गम्भीर रहेको भन्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले धर्ना स्थगित गर्न आग्रह गरेका थिए । सोही आधारमा सरकारले वार्ता समिति गठन गरेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेश भ्रमणमा रहेको र स्वदेश फर्किएसँगै माग सम्बोधनको विषयमा छलफल अगाडि बढाउने स्वास्थ्यमन्त्री बस्नेतले प्रतिबद्धता जनाएका हुन् । स्वास्थ्यमन्त्रीले पटकपटक धर्ना स्थगित गर्न गरेको आग्रहलाई स्वीकार गर्दै ३८ औँ दिनपछि सम्पूर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएको चिकित्सा शिक्षा सरोकार संघर्ष समितिका संयोजक निर्मला सापकोटाले बताइन् ।
‘स्वास्थ्यमन्त्री आएर माग सम्बोधनको प्रक्रियामा छ । प्रधानमन्त्री स्वदेश फर्किएपछि यो विषयमा थप छलफल गर्छौ भन्नुभयो । धर्ना स्थगित गर्नुहोस् भन्नुभयो । वार्ता समिति गठन गरेपछि हामीले हाललाई स्थगित गरेका हौँ,’ उनले भनिन् ।
अब वार्ता र छलफलको माध्यमबाट अगाडि बढ्ने माग सुनुवाइ नभएको खण्डमा पुनः आन्दोलनमा जाने उनीहरूको चेतावनी छ ।
प्रधानमन्त्री प्रचण्डले शिक्षा र स्वास्थ्यमन्त्रीलाई उनीहरूको माग सम्बोधन गरेर धर्ना हटाउन निर्देशन दिँदै आएका थिए । तर, उनीहरूले उठान गरेका मागहरू चिकित्सा शिक्षा ऐन संशोधनसँग जोडिएकाले गाह्रो भइरहेको थियो । यो विषयमा संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले समेत चासो देखाएको छ । उक्त समस्याबारे अध्ययन गर्नको लागि कार्यदल नै गठन गरेको छ । उक्त कार्यदलको सिफारिसको आधारमा समितिले सरकारलाई आवश्यक निर्देशन दिनेछ ।
सरकारले समेत ऐन संशोधन लगायतका विविध विषयमा प्रक्रिया अगाडि बढाइसकेको छ । यस्तो अवस्थामा आन्दोलनभन्दा वार्ताको माध्यमबाट जान सकिने देखिएकाले धर्ना स्थगित गरिएको उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु
-
बालअधिकार रक्षकहरूको राष्ट्रिय भेला काठमाडौँमा सुरू
-
अशान्ति सिर्जना गर्न खोज्नेविरूद्ध कडा रूपमा प्रस्तुत हुन महानिरीक्षक कुँवरको निर्देशन
-
पोखरामा भारतीय सेना प्रमुख, वीरता पुरस्कार विजेताहरुलाई सम्मान
-
चलचित्र भवनमा नेपाली चलचित्रको दबदबा