आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

उत्कृष्ट काम गर्ने प्रहरीलाई अब महिनैपिच्छे नगद पुरस्कार

मङ्गलबार, १३ चैत २०७४, १५ : २८
मङ्गलबार, १३ चैत २०७४

काठमाडौं– काठमाडौं जिल्लामा खटिएर उत्कृष्ट कार्य गर्ने प्रहरी जवानदेखि डिएसपी सम्मले अब हरेक महिना पुरस्कार पाउने भएका छन् । २०७५ वैशाखदेखी लागू हुनेगरी महानगरीय प्रहरी परिसर र त्यस मातहत कार्यरत प्रहरी कर्मचारीलाई कामको मुल्याँकन गरेर पुरस्कार दिन लागिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोख्रेलले बताएका छन् ।

‘एउटा विधि बनाएर हरेक महिना उत्कृष्ट प्रहरी छनोट गरेर पुरस्कृत गर्छौ’ एसएसपी पोखरेलले भने, ‘उत्कृष्ट कार्य गर्ने जवानलाई १० हजार नगद पुरस्कार दिन्छौं, डिएसपी दर्जालाई ५० हजार नगद सहित (काठमाडौं प्रहरी अवार्ड) मार्फत पुरस्कृत गर्छौ ।’ 

उत्कृष्ट प्रहरीलाई पुरस्कार दिनका लागी नेपाल बंगलादेश बैंक लिमीटेडले काठमाडौं प्रहरीलाई बार्षिक १८ लाख ६० हजार उपलब्ध गराउने भएको छ ।  मंगलबार टेकुस्थित महानगरीय प्रहरी परिसरमा आयोजित पत्रकार सम्मेलनमा एसएसपी पोखरेल र नेपाल बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्र प्रसाद ढुंगानाले नगद ‘लिने–दिने’ समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । समझदारी पत्रमा हस्ताक्षर गरेसँगै सिईओ ढुंगानाले एसएसपी पोखरेललाई आफ्नो बैंकको चेक हस्तान्तरण गरे ।  

एसएसपी पोख्रेलका अनुसार उत्कृष्ट कार्य गर्ने प्रहरी हवल्दारले १५ हजार, प्रहरी सहायक निरीक्षकले २० हजार, प्रहरी नायव निरीक्षक (सई) ले २५ हजार र एकजना प्रहरी इन्सपेक्टरले हरेक महिना ३५ हजार नगद पुरस्कार हात पार्नेछन् ।

समझादारी पत्रमा हस्ताक्षर गर्दै नेपाल बंगलादेश बैंकका सिईओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले बैंकको सामाजिक उत्तरदायित्व फन्ड अन्तर्गत काठमाडौं प्रहरीको पछिल्लो विकृति बिरुद्धको अभियान देखेर सहयोग गरेको बताए । 

‘कर्मचारीलाई दण्ड दिएर मात्र हुँदैन्, पुरस्कृत गरेर पनि सुधार ल्याउन सकिन्छ’ सिईओ ढुंगानाले भने, ‘देशभरका प्रहरी कर्मचारीलाई प्रोत्साहन मिलोस् भनेर पुरस्कारका लागि आवश्यक रकम हस्तान्तरण गरेका छौं ।’  

काठमाडौं जिल्लामा कार्यरत ३ जहार ३ सय प्रहरी कर्मचारीहरुले हरेक महिनाको ३ गतेभित्र आफुले गरेको कामको विवरण बुझाउनुपर्ने र सोही विवरणको आधारमा छनोट समितिको निर्णयअनुसार हरेक महिनाको ७ गते सार्वजनिक कार्यक्रममार्फत पुरस्कृत गरिने एसएसपी पोख्रेलले बताएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप