समाजवादी मोर्चामा बाबुराम, वामदेव, विप्लवको आगमन र बहिर्गमनको अन्तर्य
काठमाडौँ । मंसिरमा सम्पन्न प्रदेश र संघको निर्वाचनपछि एउटै समाजवादी केन्द्र बनाएर जाने गृहकार्य जारी छ । यसमा प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादव र डा बाबुराम भट्टराईको प्रयासले अझैसम्म मूर्त रूप लिन सकेको छैन । यद्यपि समाजवादी विचारधारा राख्ने दलहरूबीच पार्टी एकता गर्ने प्रयासजारी रहेको नेताहरूको दाबी छ ।
माओवादी केन्द्रको यही भदौ २५ गते बसेको केन्द्रीय कार्यालय बैठकले विचार मिल्ने कम्युनिस्ट घटकहरूबीच पार्टी एकताका लागि नाम फेर्न आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय लिन सकिने व्यहोराको सर्कुलर जारी गर्यो ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो वामपन्थी दल माओवादी केन्द्रले पार्टीको नाम फेर्न सकिने निर्णयसँगै फेरि वामपन्थी एकताको बहस सुरू भएको छ । माओवादीको निर्णयप्रति एकीकृत समाजवादी, जसपा, विप्लव नेतृत्वको नेकपा र बाबुराम नेतृत्वको नेसपाका नेताहरूले पार्टी एकताको लागि प्रकारात्मक भएको प्रतिक्रिया दिएका छन् ।
तर, सांगठनिक, वैचारिक, राजनीतिक, सैद्धान्तिक विषयमा दलहरूबीच अस्पष्ट रहेकाले तत्काल एकताको सम्भावना नरहेको उनीहरूको भनाइ छ ।
पार्टीभित्रै विद्रोह हुने देखिएपछि नेकपा एससँग एकता भाँडियो
मंसिरको निर्वाचनले तत्कालीन सत्ता गठन्धनमा रहेका चारदलमध्ये सबैभन्दा बढी धक्का एकीकृत समाजवादीलाई लाग्यो । १७ गते बसेको नेकपा एसको सचिवालय बैठकले चुनावी समीक्षा गर्दै माओवादी केन्द्रसँग एकता प्रक्रिया अगाडि बढाउने निर्णय गर्यो ।
एकता प्रक्रियाको संयोजन गर्ने जिम्मा माधव–झलनाथ दिइयो । तर, एमालेलाई बाइपास गरेर माओवादीसँग पार्टी एकता गर्ने सहमति आत्मघाती हुने भन्दै मुकुन्द न्यौपाने, केदार न्यौपाने, चुडामणि जंगलीलगायत नेताहरूले विरोध जनाए ।
माओवादीसँग एकता गर्ने सहमतिलाई लिएर नेता तथा कार्यकर्ताबाट व्यापक दबाब आएपछि तत्कालीन महासचिव बेदुराम भुसालले विज्ञप्ती जारी गरी माओवादीसँग पार्टी एकता गर्ने कुनै सहमति नभएको जिकिर गरे ।
‘विगत केही दिनदेखि विभिन्न सञ्चार माध्यममा भइरहेको नेकपा एस र माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौं कि यो प्रचार पूर्णतः निराधार हो। यसमा कुनै सत्यता छैन’, विज्ञप्तीमा भनिएको थियो ।
भुसालको विज्ञप्तीको खण्डन गर्दै नेता मुकुन्दले कार्यकर्ताहरूको विरोध देखेर हतार हतार विज्ञप्ती निकालिएको जिकिर गरेका थिए ।
‘देशभरि कार्यकर्ताको बिरोध देखेर हतार हतार विज्ञप्ती जारी गरेर छोप्न खोज्नु कति शर्मको कुरो हो?,’ सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले प्रश्न उठाएका थिए ।
यसरी माओवादीसँग एकताको विषयलाई लिएर पार्टीभित्रै विद्रोह हुने देखिएपछि तत्काल एकताका लागि नेतृत्व हच्कियो ।
बाबुरामको छोरी हराउन ज्वालाले रास्वपासँग पैसा लिएको आरोप
२०७९ असार ३० गते डा बाबुराम भट्टराईसहित ९ जना नेताहरूलाई जसपाका अध्यक्ष उपेन्द्र यादवले कारवाही गरेपछि साउन ५ मा उनले नेपाल समाजवादी पार्टी गठन गरे । साउन २२ गते बानेश्वरमा बसेको पहिलो केन्द्रीय समिति बैठकले माओवादीसँग पार्टी एकता गर्ने निर्णय गरेको थियो ।
स्रोतका अनुसार निर्वाचनअघि बाबुरामले प्रचण्डसँग पार्टी एकताको प्रस्ताव गरेका थिए । त्यसबेला पार्टीको नाम फेरेर नेपाल कम्युनिस्ट पार्टी समाजवादी केन्द्र बनाउन माओवादी सहमत भएको स्रोतको दाबी छ ।यसरी पार्टी एकता गर्ने गरी माओवादीले चुनाव चिन्ह दियो ।
नेसपाका महेन्द्र राय यादव र गंगानारायण श्रेष्ठ माओवादीसँग पार्टी एकताको पक्षमा उभिएका थिए । हिसिला, मानुषीसमेत एकताका लागि तयार थिए। तर, माओवादीसँग एकता गर्ने विषयमा डम्बर खतिवडा, प्रशान्त सिंहलगायत नेताहरूले विरोध गरे । खतिवडाले यसमा असहमति जनाउँदै साउन ३१ गते पार्टी नै परित्याग गरे ।
सहमति भएपश्चात बाबुरामले निर्वाचन जित्दै आएको गोरखा–२ प्रचण्डलाई छाडे । छोरी मानुषीलाई काठमाडौं–७ मा उठाए । त्यतिबेला यस घटनालाई भट्टराईले छोरीका लागि प्रचण्डसँग सौदाबाजी गरेको आरोप लागेको थियो । आरोपका बाबजुद पनि प्रचण्डलाई जिताउन भट्टराई आफै गोरखामा खटिए ।
निर्वाचनमा प्रचण्ड सानदारसँग जिते भने मानुषीले हारिन् । माओवादीका शिव कोइराला ‘ज्वाला’ले मानुषीलाई हराउन रास्वपासँग मिलेको आरोप लगाएको एक नेताले बताए । ती नेताका अनुसार प्रचण्डलाई भेटेर कोइरालालाई कारवाही गर्नुपर्ने प्रस्ताव गरेको बुझिएको छ । उनलाई कारवाही गर्न अस्वीकार गरेपछि बाबुराम, हिसिला लगायतका नेताहरू बिच्किएको बुझिएको छ ।
‘ज्वाला’ले रास्वपासँग मिलेर छोरीलाई चुनाव हराएको उहाँहरूको चित्त दुःखाइ रहेछ । उहाँलाई तत्काल कारवाही गर्न प्रचण्डसँग प्रस्ताव गर्नुभएको रहेछ । उक्त प्रस्ताव अस्वीकार गरेपछि अन्तर्घात गर्ने पार्टीसँग एकता हुँदैन भनेर ब्याक भएछन्’, एक नेताले बताए ।
तर,श्रेष्ठ र यादव पहिला जे सहमति भएको छ, त्यसमा टेकेर पार्टी एकता गर्नुपर्ने पक्षमा देखिएका छन् । श्रेष्ठ बागमती प्रदेश सभा सदस्य छन् । यादव संघीय संसदमा माओवादी चिह्नबाट सांसद जितेर मन्त्रीसमेत छन् । बाबुरामले नमाने पनि एकताका लागि अगाडि बढ्ने तयारी भइरहेका बुझिएको छ ।
उता, आरोपको खण्डन गर्दै श्रेष्ठले माओवादीसँग विचार र सांगठनिक रूपमा फरक मत भएकाले तत्काल एकता नभएको दाबी गरे ।
‘माओवादीसँग एकताका आधारसहित मैले नै पत्र पठाएको हो तर अहिलेसम्म जवाफ आएको छैन’, उनले भने, ‘उहाँहरू नेकपा राखेर जाउँ भन्नुहुन्छ तर हामी माक्र्सवादी दर्शनले अहिलेको समस्या हल हुन नसक्ने पक्षमा छौं । समाजवादी केन्द्र बनाउने गरी उहाँहरूले सहमति गर्नुभयो भने पार्टी एकता हुन्छ ।’
यस्तै,प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणलाई लिएर भट्टराईले आलोचना गरेपछि माओवादी नेताहरू असन्तुष्ट देखिएका छन् । उनी जेठ १७ गते चारदिने भारत भ्रमणमा निस्किएका थिए । भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले गेरुबस्त्र लगाएर उज्जैनको महाकालेश्वरको दर्शन गरेका थिए । तर त्यसको चौतर्फी आलोचना भयो । सोही विषयमा हामी कता गइरहेका छौं ? देश कता गइरहेको छ भनी टिप्पणी गरेका थिए । उक्त टिप्पणीले पनि दुई नेताबीच चिसो बढाउन मद्दत गरेको देखिन्छ ।
जबज मान्न प्रचण्ड–माधव तयार नभएपछि बिच्किए वामदेव
तत्कालीन नेकपा विघटनपश्चात नेकपा एकता राष्ट्रिय अभियान दल घोषणा गरेका वामदेवसँग पनि एकताका लागि प्रचण्ड र माधवले पटक पटक छलफल गरेका थिए । सुरूमा पुनः नेकपा नै ब्युँताउने हिसाबले छलफल गरेका थिए । तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यहरूले असार ९ र साउन ३ मा गरी दुईपटक छलफल गरेका थिए ।
पछि समाजवादी केन्द्र बनाउने विषयमा मार्गदर्शन सिद्धान्तमा विचार नमिल्दा एकता भाँडिएको गौतमका सचिवालयका एक सदस्यले बताएका छन् । ती सदस्यका अनुसार जबज अंगिकार गरे तत्काल पार्टीएकता गर्ने गौतमले प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा असहमति जनाउँदै प्रचण्ड–माधवले फेजआउट भइसकेको पुँजीवादी दर्शन मान्न नसकिने जवाफ दिएका थिए ।
निर्वाचनअघि पार्टी एकताको यस्तो थियो तयारी
यसअघि मंसिरको निर्वाचनलगत्तै पार्टी एकता गर्नेगरी प्रचण्ड, माधव, बाबुराम र उपेन्द्र यादवबीच साझा चुनावी घोषणापत्र, चिह्न लिएर निर्वाचनमा जानेगरी छलफल गरेका थिए ।
तर, साझा घोषणापत्र, चुनाव चिह्न बनाउने विषयमा नेकपा एस र जसपाभित्र विवाद उत्पन्न भयो । त्यसपछि छलफललाई जारी राख्दै तत्काल चुनावी तालमेल गरी जाने सहमति भयो । भट्टराईको पार्टीसँग निर्वाचनलगत्तै पार्टी एकता गर्नेगरी साझा घोषणापत्र र एउटै निर्वाचन चिह्न लिने सहमति भयो ।
२०७९ साउन ९ गते प्रचण्ड निवास खुमलटारमा पुगेका भट्टराई र महेन्द्रराय यादवले साझा चिह्न र घोषणापत्रमा लिखित सहमति गरेका थिए । त्यसअघि साउन ५ गते भएको दुई शीर्ष नेताको भेटवार्तामा नेकपा समाजवादी केन्द्र बनाएर पार्टी एकता गर्न प्रचण्डले भट्टराईसमक्ष प्रस्ताव गरेका थिए ।
यस्तै, भदौ १ गते एकीकृत समाजवादी सचिवालय बैठकले माधव नेपाल र झलनाथ खनालको नेतृत्वमा एकता संयोजन समिति बनाउन सहमति दिएको थियो । सोहीबमोजिम ६ भदौमा हात्तीवनस्थित प्रचण्डको नातेदार गोकुल भण्डारीको निवासमा एउटै चुनावी घोषणापत्र बनाउन प्रचण्ड र माधवबीच सहमति भएको थियो ।
कात्तिक १८ गते विचार मिल्ने वामपन्थीबीच एकता गर्नका लागि नेकपा एसले तत्कालीन महासचिव डा. बेदुराम भुसालको नेतृत्वमा चार सदस्यीय वार्ता टोली बनायो । जसमा उपमहासचित्रय प्रकाश ज्वाला, डा.गंगालाल तुलाधर र डा. विजय पौडेल सदस्य थिए ।
सोही वार्ता टोलीले माओवादीसहित जसपाका नेताहरूसँग छलफल गर्यो । मंसिर ४ गते प्रदेश र संघको निर्वाचन तयारीमा लाग्नुपर्ने भएकाले एकताको प्रयास त्यतिकै अलपत्र पर्यो । निर्वाचनको मुखैमा सत्ता गठबन्धनमा रहेको जसपा एमालेसँग सहकार्य गर्न पुग्यो ।
चुनावी परिणामबाट कांग्रेस ८९ सिटसहित सबैभन्दा ठूलो दलको रूपमा उदायो । एमाले ७८ सिटसहित दोस्रो ठूलो दल बन्यो । तर माओवादी, एकीकृत समाजवादी, जसपा र नेसपाले अपेक्षाकृत सफलता प्राप्त गर्न सकेनन् ।
निर्वाचनपछि फेरि दलहरूबीच एकताका लागि पटक पटक छलफल भए । २०७९ पुस १९ गते जसपाले राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली घोषणा गर्यो । जसमा रकम चेमजोङ र गोविन्द चौधरी सदस्य थिए । वार्ता टोलीले माओवादीभन्दा पनि एकीकृत समाजवादीसँग एकता गर्ने गरी छलफल अगाडि बढायो ।
त्यस्तै, माओवादी केन्द्रले पुस २३ गते उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय वार्ता टोली घोषणा गर्यो । जसमा महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य थिए । उक्त वार्ताटोलीले नेकपा एससहित समाजवादी, जसपा, नेकपा, नेसपा दलहरूसँग दस्तावेज आदानप्रदान गर्यो । माओवादीले वार्ता टोली घोषणा गरेको भोलिपल्टै भट्टराईले पनि गंगानारायण श्रेष्ठको नेतृत्वमा वार्ता टोली बनाएका थिए ।
यी सबै वार्ताटोलीले आ–आफ्ना पार्टीको दस्तावेज आदानप्रदान गरी दुईपक्षीय र बहुपक्षीय छलफल गरेका थिए । नेकपा स्थापना दिवस वैशाख ९ गते एउटै समाजवादी केन्द्र स्थापना गर्ने गरी दलहरूबीच छलफल सकारात्मक भएको नेताहरूले दाबी गरेका थिए । तर, उनीहरूले दाबी गरेजस्तो पार्टी एकता नभएपनि समाजवादी मोर्चा बनाउन सफल भएका छन् ।
असार ४ गते विप्लवसहित माओवादी, नेकपा एस र जसपाले मोर्चा घोषणा गरेका हुन् । भविष्यमा पार्टी एकता गर्ने गरी १५ बुँदे सहमति गरेको मोर्चाले संघमा प्रचण्ड, माधव, उपेन्द्र र विप्लव नेतृत्वको संयोजन समिति बनाएको छ ।
समितिलाई सहयोग पुग्ने गरी चारवटै दलबाट कार्यदल बनेको छ । जसमा माओवादीबाट देव गुरुङ, नेकपा एसबाट प्रमेश हमाल, जसपाबाट राजेन्द्र श्रेष्ठ र नेकपाबाट खड्कबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।
यद्यपि, सुरूदेखि नै समाजवादी केन्द्रको वकालत गर्दै आएका बाबुराम मोर्चामा अटाउन सकेनन् । अहिले सातै प्रदेशमा अभियान चलाएको मोर्चाले सुदूरपश्चिमबाहेक ६ प्रदेशमा संयोजन समिति गठन गरेको छ । प्रदेशपछि जिल्लास्तरको कार्यक्रम गर्ने तयारी छ ।
समाजवादी मोर्चामा विप्लव भित्रिंदा बाबुराम र वामदेव कसरी भए आउट ?
मोर्चा बनाउन सबैभन्दा बढी वकालत गर्ने नेता हुन् बाबुराम । तर, अन्तिममा विचार र कार्यदिशा नै नमिल्ने पूर्वमाओवादी घटक विप्लव नेतृत्वको नेकपा मोर्चामा प्रवेश गर्दा सुत्रधार बाबुराम बाहिरिए । कतियले यसलाई बाबुराम र उपेन्द्रको द्वन्द्वका रूपमा अथ्र्याए ।
जसपासँग सम्बन्ध विच्छेद गरी बाहिरिएका भट्टराईलाई सुरूमा उपेन्द्रले नै विरोध गरेका थिए । बाबुरामलाई मोर्चामा प्रवेश गराउने विषयमा जसपाकै नेताहरू राजनीतिमा पूर्वाग्रह राख्न नहुने भनेर सम्झाएपछि यादव सहमत भएको बुझिएको छ ।
‘मोर्चामा जसपा बाधक होइन । बाबुराम जहाँ गएपनि हुँडलो गर्ने गरेको भन्दै अध्यक्षजू सुरूमा रिसाउनुभएको हो । बाबुरामलाई राख्न हामीहरूले नै जोड गरेपछि उहाँ कन्भिन्स हुनुभयो’, एक नेताले बताए ।
सुरुमा बाबुरामले नै मोर्चामा आउन बढी ढिपी कसेको र त्यहीअनुसार मिडियामार्फत् सूचना प्रवाह गरेको कार्यदलका एक सदस्यको जिकिर छ । वामपन्थी विचारधारा र माक्र्सवादको कार्यदिशा अंगाल्न नसक्ने भनेपछि बाबुराम आउट भएको ती सदस्यले बताए ।
‘मोर्चामा आउँछु कि आउँछु भनेर ढिपी कसेर बस्नुभएको थिए । त्यही अनुसारको विचार मिडियामा प्रवाह गरे । पहिलो कुरा तपाईको पार्टी वामपन्थी हो भन्ने कुरामा प्रष्ट हुनुपर्यो, हामीले भन्यौं । त्यसपछि माक्र्सवाद मानेर तयार हुनुपर्छ भनेर प्रस्ताव राख्यौं । तर, त्यसमा उहाँ राजी हुनु भएन’, ती सदस्यले भने ।
त्यतिबेलासम्म मोर्चामा विप्लव आउने चर्चै नचलेको ती सदस्यको भनाइ छ । अवधारणा पत्र तयार गर्ने, कार्यविधि तयार गर्ने काम भएपछि पछि विप्लवलाई ल्याउने कुरा चलेको तिनले जिकिर गरे । उनका अनुसार विप्लव आउने भएपछि बाबुराम र वामदेवको प्रस्ताव गरिएको हो ।
‘विप्लव आउने भएपछि बाबुराम र वामदेवलाई पनि राखेर ६ पार्टीको मोर्चा बनाउने गृहकार्य भयो । वामदेवलाई मनाउन हामी उनकै निवास पुगेका थियौं । तर उहाँले प्रचण्ड र माधव नेपालसँग कुरा गरेरमात्र आफ्नो धारणा राख्ने भन्नुभयो’, ती सदस्यले भने, ‘उहाँलाई मनाउन प्रचण्ड र माधव नेपाललाई जिम्मा दिइयो । तर,मोर्चामा पनि गौतमले जवज छोड्न नसक्ने अडान लिएपछि रोकियो ।’
यसैगरी,विप्लवले मोर्चाको अवधारणा, कार्यदिशा र कार्यक्रम मान्न तयार भएपछि उनलाई राखिएको माओवादीका एक नेताले बताए । विप्लवलाई ल्याउन प्रचण्ड र वामपन्थी एकता कार्यदलका प्रमुखसमेत रहेका उपाध्यक्ष कृष्णबहादुर महराले धेरै मिहेनत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो
-
न्युयोर्कको सबवेमा सुतिरहेकी महिलालाई आगो लगाइयो
-
व्यावसायिक माछापालनबाट वार्षिक ११ लाख आम्दानी
-
कोशी प्रदेश सरकारले निर्माण गर्ने ३८५ सडकको सूची सार्वजनिक
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब