बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजमार्ग विस्तार : सहरी क्षेत्रमा दसैँ–तिहारपछि काम गर्न माग

सोमबार, ०१ असोज २०८०, १९ : २६
सोमबार, ०१ असोज २०८०

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार आयोजनअन्तर्गत मुख्य सहर बनेपाका व्यवसायीले दसैँ–तिहारपछि मात्रै काम सुरु गर्न माग गरेका छन् । उक्त सडक विस्तार आयोजनामध्ये बनेपा नगरको साँगादेखि धुलिखेलसम्म हाल तीव्ररुपमा काम भइरहेको छ ।

अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५ दशमलव ५ किलोमिटर सडकखण्ड सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिबास सडक आयोजनाले हाल चार लेनमा विस्तार थालेको हो । अरनिको राजमार्ग विस्तारबाट व्यावसायिक प्रभावसम्बन्धी बनेपा नगरपालिकामा आयोजित अन्तरक्रियामा व्यवसायीले उक्त माग गरेका हुन् । 

काभ्रे उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेन्द्र पसछेंले दसैँ तिहारपछि मात्रै बनेपा बजार क्षेत्रमा काम सुरु गर्न सुझाव दिए । “तिहारपछि काम सुरु गरेर धेरै जनशक्ति परिचालन गरी छिटो काम सम्पन्न गर्न माग गदैछौँ”, उनले भने । चाडपर्वको मुखैमा राजमार्ग विस्तारकै कारण व्यवसायी पलायन हुन नदिन उनले आग्रह गरे । 

यस्तै सङ्घका महासचिव रवीन्द्र वैदारले आर्थिक मन्दीका कारण यस वर्ष व्यवसायी मारमा परेकाले चाडपर्वको समयमा व्यवसायीलाई नलखेट्न सुझाव दिए । उनले देशकै व्यापारिक सहरको परिचय बनाएको बनेपालाई जोगाउन सरोकरवालाको ध्यान जानुपर्ने उनको भनाइ थियो । उनले राजमार्ग विस्तारसँगै ‘लोड–अनलोड’ को समस्या प्रमुख रुपमा देखिने भएकाले आवश्यक भौतिक पूर्वाधारसहित उचित विकल्पबारे सोच्न आवश्यक रहेको बताए । राजमार्ग विस्तारका क्रममा ढलको उचित प्रबन्ध गर्न, आकाशे पुलको व्यवस्था गर्न, व्यवसायीमैत्री विकास निर्माणका काम गर्न उद्योगी व्यवसायीले सरोकारवालालाई आग्रह गरेका हुन् । 

साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि २०७९ फागुनदेखि उक्त सडकखण्ड विस्तार थालिएको हो । राजमार्गअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेलसम्म आठ दशमलव ४ किमी सडकखण्ड विस्तार कार्यका लागि रु चार अर्ब पाँच करोड ६४ लाख तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक–साँगा सडकखण्ड भने ७ दशमलव पाँच किमी विस्तारका लागि रु तीन अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भई काम सुरु गरिएको हो । 

बनेपाका नगर प्रमुख शान्तिरत्न शाक्यले पटक–पटक भएका छलफलबाट आएको निष्कर्षलाई ख्याल गर्नुपर्ने उल्लेख गर्दै कतिपय अवस्थामा व्यावहारिकतालाई पनि ध्यान दिन आयोजनासँग आग्रह गरे । नगर उपप्रमुख विमला शर्माले नागरिकलाई आवतजावत, व्यापार–व्यवसाय गर्न असहज हुनेगरी काम गर्न नहुने तर्क राखिन् । उनले करिडोर निर्माण कार्य सम्पन्न गर्न सके होलसेल बजारलाई व्यवस्थित गर्न सकिने बताइन् । 

यसैगरी सूर्यविनायक–धुलिखेल सडक आयोजनाका इञ्जिनीयर माधव पौडेलले आयोजनाबारे जानकारी गराउँदै विस्तारको काम १५ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए । उनले रुख कटान कार्य सुरु भएको, विद्युत् पोल हटाउन प्राधिकरणसँग समन्वय भइरहेको उल्लेख गर्दै कामलाई निरन्तरता दिन सकिए समयमै काम सम्पन्न हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप