चेलीलाई ‘अग्रासन’ दिएर समापन भयो थारु पर्व अट्वारी
धनगढी । कैलालीको कैलारी गाउँपालिका–६ सुर्मीका दुखीराम डंगौरा (७३) विगतको निरन्तरता दिदै खानेकुराको कोशेलीसहित आफ्नी विवाहित छोरी पार्वती चौधरीकहाँ ‘अग्रासन’ पुर्याएका छन् ।
पुस्तौँ–पुस्तादेखि चल्दै आएको संस्कारअनुसार डंगौराले अघिल्लो दिन पत्नी, छोरी तथा दिदी बहिनीको दीघार्यू तथा सु–स्वास्थ्यको कामना गर्दै आइतबार अटवारी पर्वको निराहार व्रत बसेका थिए । आज सोमवार असोज १ गते खानेकुराको कोशेलीस्वरुप अग्रासन पुर्याएका हुन् ।
कैलारी–६ बेनौलीका सोमलाल डंगौरा थारु (५५)ले आफ्नी विवाहित बहिनीहरुलाई मायाको कोशेलीस्वरुप अग्रासन दिन पुगेका छन् ।
‘दिदीबहिनीहरु अग्रासनको आशामा बसेका हुन्छन् । दिन नगई हुन्न’, दुखीरामले पुस्तौँदेखि चल्दै आएको रीतिअनुसार अग्रासन दिन जान लागेको बताए ।
थारु समुदायमा अट्वारी पर्वलाई नारी सम्मान र भाइचाराको प्रतीकको रूपमा लिने गरेको बताउँदै थारु नागरिक समाज कैलालीका संयोजक दिलबहादुर चौधरीले पुरुषहरु महिलाहरुको दीर्घायूको कामना गर्दै व्रत बस्ने गरेको सुनाउँछन् ।
अग्रासनरुपी कोशेलीमा, अण्डि चामलको रोटी, गहुँको रोटी, तेलमा पकाइएको रोटी, खरिया, फुलौरी, खुर्मा, भात, माछाको पक्ली (सिद्रा) परिकारसहित, विभिन्न तरकारी, फलफूललगायत हुन्छ ।
अट्वारी पर्व थारु समुदायको नितान्त मौलिक पर्व हो । अट्वारी पर्वमा थारु जातिले महाभारतका प्रमुख पात्र पाँच पण्डवमध्येका माइलो भाइ भीमको श्रद्धापूर्वक पूजाआजा गर्दछन् । ‘भेंवा’ को नामले थारु जातिले पुकारेर थारु समुदायमा पूजा गरिन्छ ।
अटवारीबारे किम्वदन्ती
कुनैबेला भेंवा (भीम) घुम्दै जाँदा तराई (थारु बसोबास गरेको ठाउँ) मा पुगेको किम्वदन्ती छ । सो किम्वदन्तीअनुसार उक्त तराई क्षेत्रमा एउटा राक्षसले उत्पात मच्चाउने, दुःख दिने, चेलीहरुमाथि जबरजस्ती गर्ने कामलाई तीव्रता दिएका थिए । ती सबै समस्याबाट भीमले मुक्त गरेको हुँदा उनको सम्झनामा अट्वारी पर्व मनाउने प्रचलन थारु समुदायमा रही आएको हो ।
अर्को किम्वदन्तीअनुसार एक समयमा द्रौपदीसहित पाँच पाण्डवहरु सुर्खेतको काँक्रेबिहार घुम्न पुगेका थिए । थारु राजा दंगीशरण र पाँच पाण्डवबीच निकै घनिष्टता थियो । एक समय, भीमले रोटी पकाइरहँदा राजा दंगीशरणको राज्यमाथि शत्रुले आक्रमण गरे ।
त्यसबेला भीम टावामा बडेमानको रोटी पकाइरहेका थिए । रोटी पकाउँदा पकाउँदै सहयोग गर्न जाँदा गाउँभरिका मानिसहरुले पनि टावामा हालेको उनको रोटी पल्टाउने प्रयास गरे तर सकेनन् ।
अन्ततः भीमले राजा दंगीशरणलाई सहयोग गरेर फर्केपछि मात्रै टावाको रोटी झिकेको भनाई छ । उक्त सहयोग गरेको दिन आइतबार परेकोले पनि अट्वारी पर्व आइतबार मनाउने प्रचलन कायम भएको थारु बुढापाकाहरु बताउँछन् । भीमको सम्झनामा एउटा ठूलो रोटी नपल्टाई एका तर्फबाट मात्रै पकाउने चलन छ ।
मनाउने विधि र अग्रासनको महत्त्व
सामान्यतया अट्वारी पर्व कृष्णजन्माष्टमी पर्व पछिको दोस्रो आइतबार पर्दछ । आइतबारभन्दा अघिल्लो राति (शनिबार) भिन्सरिया (दर) खाने र आइतबार आधा दिनसम्म व्रत बस्ने गरिन्छ । व्रत बसेको दिन पूजा सकेर फलफूल मात्रै उपभोग गरिन्छ । तर सूर्यास्तपछि खान पाइन्न । यसरी सूर्य देउतालाई पनि अटवारीमा पूजा गरिन्छ ।
त्यसपछि, सोमबार बिहान फरहार गरिन्छ । तयारी परिकारबाट एक भाग अग्रासनको लागि निकालिन्छ । एक भाग व्रतालुहरूले ज्यूनार गर्छन्, जसलाई फरहार भनिन्छ । विधिपूर्वक सोमबार बिहानै पनि पूजापाठ गरेपछि फरहार गरेर भोजनपछि अग्रासन दिन जाने चलन छ ।
पश्चिम नेपालको कञ्चनपुर, कैलाली, बर्दिया, बाँके र दाङ जिल्लामा बसोबास गर्ने थारु समुदायले भदौ ३१ गते आइतबार र असोज १ गते सोमबार अट्वारी पर्व मनाएका छन् । यसैबीच सुदूरपश्चिम तथा लुम्बिनी प्रदेश सरकारले आइतबार अटवारी पर्वको सार्वजनिक विदासमेत दिएको थियो ।