तिज र ऋषिपञ्चमीसँग जोडिएको धार्मिक, सामाजिक तथा सांस्कृतिक पक्ष
भाद्र शुक्ल तृतीयाका दिन नेपाल र भारतका हिन्दू महिलाहरू शिव–पार्वतीको आराधना गरी धुमधामसँग तिज मनाउँछन् । यसपालि तिज असोज १ गते सोमबार परेको छ । तिजको अघिल्लो दिन दर खाने चलन छ र तिजको दिन व्रत बस्दै शिवजीको आराधना गर्छन् ।
त्यसो त अचेल तिज सुरु हुनुभन्दा हप्ता दिन अघिदेखि नै महिलाहरू सजिसजाउ गरेर हिँड्ने, मन्दिर जाने, सार्वजनिक स्थानमा नाचगान गर्ने, रेस्टुराँ तथा पार्टी प्यालेसहरूमा जम्मा भई दर खाने आदि गतिविधिमा सरिक हुन्छन् । तिजका अवसरमा महिलाहरू शरीरमा सुन्दर रङको सारी, नाडीमा राता एवं हरिया चुरा र निधारमा रातो टीका लगाई सजिएर नाचगान गरी रमाइलो गर्छन् । सो अवसरमा मठमन्दिर, सार्वजनिक स्थान तथा सडक, दोबाटा, चौबाटामा सुन्दर पहिरनमा सजिएकी महिलाको ठूलो भीड देख्न पाइन्छ । अझ हिजोआज त विभिन्न ठाउँमा टिकटक बनाउन वा फेसबुक लाइभ गर्नमा समेत उनीहरू व्यस्त देखिन्छन् ।
सनातन हिन्दू धर्ममा आस्था राख्नेका विभिन्न चाडपर्वमध्ये तिज एक लोकप्रिय र रमाइलो चाड मानिन्छ । यस्ता चाडपर्व हाम्रा मौलिक संस्कृतिका जीवन्त उदाहरण मात्र नभई परम्परा र पहिचानका नमुना पनि हुन् । कुनै पनि चाड पर्वका आफ्नै मूल्य र मान्यता हुन्छन् । हरेक परम्परा र संस्कृतिको पछाडि धार्मिक आस्था र पौराणिक वा ऐतिहासिक कथाका प्रसंग पनि जोडिएका हुन्छन् । पौराणिक कथामा जसरी पार्वतीले वर्षौं लामो तपस्या गरेको फलस्वरूप आफ्नो इच्छाअनुरूप महादेवजस्ता उत्कृष्ट पति प्राप्त गर्छिन्, त्यसै गरी हिजोआज अविवाहिता युवतीले आफूले चाहेअनुसारको पति प्राप्त गर्न व्रत बसी शिवजीको आराधना गर्छन् । एक प्रकारले तिज शिव र पार्वतीको मिलनको पर्वको रूपमा पनि मनाइन्छ । तिजमा विवाहिता महिला आफ्नो पति लगायत परिवारका सदस्यको सुस्वास्थ्य, दीर्घायु, सफलता र समुन्नतिको कामना गर्दै शिव एवं पार्वतीको पूजाआजा गर्छन् ।
वास्तवमा शिव भन्नाले चित्तको शुद्धतालाई जनाउँछ । शिव चैतन्यको प्रतीक हो भने देवी पार्वतीलाई शक्ति अर्थात् जीवन ऊर्जाको प्रतीक मानिन्छ । शिव र शक्तिको मिलनद्वारा नै यस संसारको सृष्टि भएको बताइन्छ । यसर्थ तिज चैतन्य र शक्तिको मिलनको पर्व पनि हो । शिव र शक्तिबीच अन्योन्याश्रित सम्बन्ध छ ।
सौन्दर्यलहरी नामक स्तोत्रमा आदि शंकराचार्य लेख्छन् ः शक्ति अर्थात् देवीविना शिव हलचल समेत गर्न सक्दैनन् । शिवबाट स्त्री शक्तिको प्रतीक स्वरूप इकार हटाइदिने हो भने शिव शवमा परिणत हुन्छ । यो ब्रह्माण्डलाई चलायमान वा गतिशील गराइराख्ने ऊर्जा तिनै देवीबाट प्राप्त हुन्छ ।
यसरी तिजको धार्मिक दृष्टिले ठुलो महत्त्व रहिआएको पाइन्छ भने यसका सांस्कृतिक, सामाजिक तथा व्यावहारिक पक्षहरू पनि कम महत्वपूर्ण छैनन् । कुनै पनि पर्व, परम्परा वा संस्कृतिको धार्मिकबाहेक सामाजिक, प्राकृतिक, भौगोलिक, एवं मौसमी अवस्थासँग पनि सम्बन्ध जोडिएको हुन्छ । साउनमा महिलाहरू हरिया चुराले सजिएर मन्दिरहरूमा भीड लाग्ने गरेको हामीले देखेका छौँ । साउन–भदौमा हाम्रो वातावरण वरिपरि हरियाली नै हरियालीले छाएको हुन्छ । तसर्थ प्रकृतिलाई जोगाउँ, हरियालीको संरक्षण गरौँ भन्ने सन्देश पनि त्यसले दिइरहेको हुन्छ ।
हाम्रा धेरैजसो सांस्कृतिक पर्व साउनदेखि असोज–कात्तिकसम्म पर्छन् । हाम्रो देश कृषिप्रधान हुनाले असार, साउनमा मुख्य बाली धान रोपाइँ सकेपछि फुर्सदै फुर्सद हुन्छ । त्यसो हुनाले हामी आनन्दसँग हप्तौँसम्म चाडपर्वमा रमाउन सक्छौँ ।
यसरी चाडपर्व मनाउँदा त्यसको सामाजिक र सांस्कृतिक महत्त्व के हो, त्यसको आध्यात्मिक सम्बन्ध के कस्तो छ, त्यसले के कस्तो शिक्षा दिन खोजेको छ, त्यसका व्यावहारिक पक्ष के के हुन् भन्नेमा पनि थोरै चासो राखेका खण्डमा हामीले त्यसबाट उचित लाभ लिन सक्छौँ । नत्र नाच्यो, गायो, मीठो खायो, रमाइलो गर्यो बिस्र्यो भनेजस्तो हुन्छ ।
चाडपर्व मनाउँदा त्यसको सामाजिक र सांस्कृतिक महत्त्व के हो, त्यसको आध्यात्मिक सम्बन्ध के कस्तो छ, त्यसले के कस्तो शिक्षा दिन खोजेको छ, त्यसका व्यावहारिक पक्ष के के हुन् भन्नेमा पनि थोरै चासो राखेका खण्डमा हामीले त्यसबाट उचित लाभ लिन सक्छौँ ।
हिजोआज, तिजका अवसरमा महिलाबीच एक प्रकारले सौन्दर्य प्रतियोगिताजस्तै हुने गरेको पाइन्छ । महँगा, महँगा सारी, कुर्ता प्रदर्शन गर्ने, गरगहनाले सजिएर आफूलाई कसरी हुन्छ आकर्षक रूपमा प्रदर्शित गर्ने भन्ने प्रतिस्पर्धा नै पनि हुने गरेको पाइन्छ, यस अवसरमा । तसर्थ कति सीमासम्म रमझम र खर्च गर्ने कतिसम्म आफूले धान्न सक्छ वा समाजले पचाउन सक्छ भन्ने पनि ख्याल राख्नु जरुरी हुन्छ ।
कुनै चाडपर्व मनाउँदा त्यसले दिन खोजेको सन्देश के हो, त्यसले कस्तो चेतना फैलाउन खोजेको हो, त्यसमा के कस्ता ज्ञानगुणका कुरा लुकेका छन् भनी खोजिनिती पनि गरिनु जरुरी हुन्छ । अनि मात्र चाडपर्व मनाउनुको सार्थकता हुन्छ, महत्त्व हुन्छ । हुन त यी चाडपर्वले हाम्रो अर्थतन्त्रलाई पनि चलायमान गरिराखेका हुन्छन्, किनभने हामी त्यस अवसरमा मिठो–मसिनो खान्छौँ, नयाँ लुगा लगाउँछौँ, यातायातका साधन प्रयोग गर्छौं, जसले अर्थतन्त्रलाई गतिशील राख्नमा मद्दत पुग्छ, तर चाडबाड मनाउँदा घाँटी हेरी हाड निल्ने भन्ने उखानलाई पनि सम्झनु जरुरी छ । खर्चको नाममा ऋण नै लिएर चलाउने र पछि साँवा–ब्याज तिर्न नसकी घर, खेत नै लिलामी गर्नुपर्ने अवस्था चाहिँ नआओस् भन्नेतिर ध्यान जानुपर्छ ।
तिज मनाएलगत्तै अर्को पर्व पनि आउँछ, जसलाई ऋषि पञ्चमी भनिन्छ । हुन त यो पर्व महिलाको मासिक श्रावको दोष पखाल्न मनाइने चलन छ, तर यसलाई सरसफाइको पर्वको रूपमा मनाउनु उचित होला । उहिले आधुनिक जमानामा जस्तो सरसफाइका साधन (प्याड आदि) उपलब्ध नहुँदा रक्तश्रावको कारण अनेक रोग फैलिन सक्ने हुनाले महिलालाई रजस्वला भएको समयमा मन्दिरमा प्रवेश गर्न र भान्छामा काम गर्न निषेध गरिएको हो । अहिले आधुनिक समयमा अनेक किसिमका सरसफाइका साधन उपलब्ध हुने हुनाले यो प्रचलनलाई समयानुकूल केही परिमार्जित गर्दै लैजानु उपयुक्त हुनेछ । त्यस अवसरमा मन्दिरमा बाहेक अन्यत्र बार्न नपर्ला कि भन्ने यस स्तम्भकारको मान्यता छ । ऋषि पञ्चमीका दिन ३६५ पल्ट दतिवनले दाँत सफा गर्ने भन्ने चलनबाट हामीले के बुझ्नुपर्छ भने वर्षका ३६५ दिन नै दाँत सफा राख्न यसले शिक्षा दिएको हो । एक दिनमा ३६५ वटा दतिवन प्रयोग गर्नुको कुनै अर्थ छैन । जसरी हामी एकै दिनमा ३६५ थाल भात खान सक्दैनौँ, त्यसैगरी ३६५ वटा दतिवन पनि एकैदिन होइन १२ महिनामा प्रयोग गर्ने भन्ने यसको अर्थ बुझ्नुपर्छ । हाम्रा कतिपय परम्परा र प्रचलनलाई तर्कको कसीमा राखेर त्यसलाई परिमार्जित गर्दै लैजाने हो ।
हरितालिका तिज र ऋषि पञ्चमीका बीच गणेश चतुर्थी पर्न आउँछ । यसपालि तृतीयामा मनाइने तिज र चतुर्थी एकै दिन सोमबार परेको हुनाले एकै दिन मनाइँदै छ । बुद्धि, समुन्नति र सफलताको प्रतीक मानिन्छ गणेशलाई । काठमाडौंका नेवार समुदाय यस चतुर्थीलाई चथा भनी धुमधामसँग मनाउँछन् विभिन्न परिकार राखी समेबजी खाँदै । समेबजीमा चिउरा, माछा, अण्डा, मासु, बारा, बोडी, अदुवा, लसुन राखिएको हुन्छ ।
हुन त तिज सामान्यतया बाहुन–क्षेत्रीले मनाउने गर्छन् तर पनि हिजोआज नेवार तथा अन्य जनजातिका महिलाले पनि रमाइलोका निम्ति मनाउने गरेको पाइन्छ । यसरी हामी एक प्रकारले संयुक्त धर्म र संयुक्त संस्कृतिको समाजमा बसिरहेका छौँ भने पनि हुन्छ । दशैँ–तिहार पनि हिजोआज हिन्दूबाहेक गैरहिन्दूले पनि मनाउने गरिआएका छन् ।
यी हाम्रा चाड, पर्व, संस्कृति सामाजिक, धार्मिक तथा वर्गीय सद्भाव र सहकार्य तथा एकताको प्रतीक बनोस्, यसबाट जीवन सजीव र उल्लास एवं उमंगले भरियोस् र साथै हामी हाम्रा पुर्खाले धर्म र संस्कृतिमार्फत फैलाउन खोजेका सामाजिक चेतना, ज्ञान र मैत्री भावनाले ओतप्रोत होस् भनी यस पावन अवसरमा कामना गरौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुद्धिराज गुरुङ र केदार ढकाललाई एआईजीमा बढुवा गर्ने निर्णय
-
विपद् जोखिम न्यूनीकरण प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस समिति गठन
-
एघार एयरलाइन्सले बुझाए हवाई भाडादरको विवरण
-
बीआरआई ऋणमा स्विकार्न सकिँदैन : प्रधानमन्त्री
-
श्रीलंकाका लागि राजदूत सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय
-
बैकुण्ठ अर्यालको राजीनामा स्वीकृत