आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

तिज पर्व रूपान्तरण वैज्ञानिक कि अवैज्ञानिक ?

सोमबार, ०१ असोज २०८०, १४ : १९
सोमबार, ०१ असोज २०८०

वर्ष दिनको तिजमा माइती लिन आएनन् !
साउने झरी झैँ रुन्छ मेरो मन !!

पहिले पहिले ग्रामीण जनजीवनतिर तिजका समयमा हिन्दू महिलाहरूले यो गीत गुनगुनाउने गर्थे । अहिले समय केही बदलिएको छ । महिलाहरूको जिब्रोमा नेपाली चलचित्रको गीत ‘तिजको लहर आयो बरी लै !’ झुन्डिएको देखिन्छ । अझ श्रावण महिना लाग्नासाथ हरियो चुरापोतेमा सजिएर, हातमा मेहन्दी लगाएर हिन्दू महिलाहरू उत्साहपूर्वक चहलपहल गरिरहेका देखिन्छन् । त्यस्तै श्रावणका सोमबार, हरियो श्रावणका चलनसहित बुवाको मुख हेर्ने दिन र ऋषि पञ्चमीसम्म जोडिन पुग्छ । सुदूरपश्चिमको गौरा पर्व पनि यही समयमा मनाइने गरिन्छ । यसरी हेर्दा श्रावण र भाद्र महिना महिलाहरूको चाडपर्वका रूपमा विकसित गरिएको पाइन्छ । श्रावण र भाद्र महिनामा भएका पर्व सम्पूर्ण रूपमा काल्पनिक ईश्वर शिव अर्थात् महादेवको वरपर घुमेको देखिन्छ ।

सामान्यतः पर्वहरू समाज विकासका क्रममा विभिन्न समुदायहरूले भौगोलिक, वातावरणीय, प्रकृतिक आवश्यकताबमोजिम सिर्जना भई चलनमा आएका हुन् । यस्ता पर्वहरू कतिपय समुदायको एकता र कतिपय समुदायको विग्रह हुँदै जानेक्रममा आआफ्नो ढङ्गले परिमार्जन हुँदै विभिन्न भागमा विभिन्न ढङ्गले मनाउने चलन पनि विकसित हुँदै जाने गर्छ । जब काल्पनिक ईश्वरको उपासनाले धर्मको रूप ग्रहण गर्‍यो, तब यी चलनहरूमा काल्पनिक ईश्वरलाई कुनै न कुनै रूपले घुसाउने कार्य धार्मिक विद्वान (ऋषि, ब्राह्मण, पोप, पादरी ई.) मार्फत समाजका राजा, महासामन्त, सामन्तले गर्न थाले र यी सामाजिक चलनहरूमा धार्मिक संस्कार, धार्मिक संस्कृति, काल्पनिक ईश्वर, कथित अवतारहरूको प्रसङ्ग जोडिएर पर्वहरू धार्मिक मोडमा बदलिन पुगे ।

श्रावण महिनाको सेरोफेरोसँगै विकसित तिज पर्व  

सामाजिक चलन र धार्मिक संस्कारमध्ये कुन पहिले विकसित भयो होला ? एक पटक गम्भीर भएर सोचौँ त ! पक्कै पनि सामाजिक चलन पहिले विकसित भएको हो । कविला समाज रहेकै बेलादेखि मानिसहरू विभिन्न समूहमा रहने गर्थे । प्रकृतिसँगको अन्तर्विरोधमा खेल्दै जाँदा रामापिथेकस मानव वंशज हुँदै मानव समुदायले विभिन्न ठाउँ, प्राकृतिक विविधतासँग एकता र सङ्घर्ष गर्ने क्रममा आआफ्ना पृथक् विशेषतासहितका विभिन्न कविला समूह पृथ्वीमा विकास भएका थिए । सामाजिक सम्बन्ध र सामाजिक चलनको विकास त्यो बेलादेखि नै भएको हो । मानिसले ईश्वरको कल्पना गरेको हजारौँ हजार वर्षपछि सामन्तवादी युगको आसपासमा धर्मको विकास भएको हो । धर्मको विकास भएपछि सामाजिक चलनमा धार्मिक मान्यताले हस्तक्षेप गरी सामाजिक चलनलाई धार्मिक संस्कारको रूपमा ढालियो । प्रख्यात भौतिकवादी दार्शनिक कार्ल मार्क्सले भन्नुभएको छ, “मानिसले धर्म जन्माएको हो, धर्मले मानिस जन्माएको हैन ।”

श्रावणको सोमबार अर्थात् साउने सोमबार वास्तवमा प्रकृतिको सम्मानमा विकसित भएको चलन हो । श्रावण महिनामा मूलतः वर्षाका कारण तराईदेखि पहाडसम्म बोटबिरुवा, घाँसपात मौलाएर हरियो वातावरण बनेको हुन्छ । प्रकृतिलाई धेरै पहिलेदेखि स्त्री लिङ्गको रूपमा बुझिने भएकाले प्रकृतिले सिर्जना गरेको यो हरियोसँग महिलाहरूको सामीप्यता बढ्दै गएको देखिन्छ । यही मानसिकताको फलस्वरूप महिलाहरूमा हरियो पहिरन लगाउने प्रचलन चलेको हो भन्न सकिन्छ । वर्षासँगै रोपाईंको चटारो सकेर अन्न वृद्धिको कामना गर्न महिलाहरूले खुसियाली स्वरूप हरियो पहिरन लगाउने चलन चलेको पनि हुन सक्छ । 

साउने सङ्क्रान्तिमा लुतो फाल्ने चलन पनि यस्तै खालको प्रकृतिसँग अन्तर्सम्बन्धित सामाजिक चलन हो । प्रकृतिप्रेमसँग गाँसिएको श्रावणको चलनलाई कहिलेदेखि शिवको कथासँग जोडिएको हो भन्ने कुरा यकिनका साथ भन्न नसकिए पनि श्रावण महिना, हरियो प्रकृति र प्रकृतिको जननी महिलाबीचको यो अन्योन्याश्रित सम्बन्धलाई धर्म र ईश्वरसँग जोडेर लैजान सके धार्मिक मान्यता, धार्मिक व्यापार र धार्मिक पुरोहितहरूको महत्त्व बढ्न सक्ने बुझेर एकदम सुझबुझपूर्ण तरिकाले श्रावण महिनालाई शिवको महिना हो भनेर व्याख्या गरियो । त्यस्तै गरी पार्वतीले श्रावण महिनामा नै  कठोर व्रत बसेर शिव जस्तो पति प्राप्त गरिन भनेर कथा कथियो ।  तत्कालिन धार्मिक सत्ता, गुरु, पुरोहितको प्रवचन र शास्त्रको प्रभावले श्रावण महिना एकातिर धर्मको प्रतीक बन्न पुग्यो भने अर्कोतिर पितृसतात्मक सोचलाई हाबी गराउन श्रावणको सोमबार व्रत बस्दा असल लोग्ने पाइन्छ भन्ने मानसिकता महिलाहरूमा विकास गराइयो । लोग्नेको आश्रयमा बाँच्न बाध्य बनाइएको समाजमा यस्ता धार्मिक कथाहरूको माध्यमबाट महिलाहरूको कोमल मानसिकतालाई पुरुषको दास बनाउन एकदम सजिलो पनि त थियो । 

आजको वैज्ञानिक समयमा त कतिपय बाबाहरूका वाकपटुताबाट पढेलेखेका मानिसहरू समेत ‘स्वामी महाराज !’ भन्दै आफ्नो बौद्धिक शिरलाई कथित बाबाहरूका पैतालामा टेकाउन पुग्छन् भने सयौँ वर्ष अघिका महिलाहरूको मानसिकतालाई पुरुषको दासमा परिणत गराउन नसक्ने कुरा नै भएन । प्राकृतिक वनस्पति मेहन्दीको पात पिसेर हातमा लगाउने चलनलाई पछि पछि गएर जति गाढा मेहन्दीको रङ हुन्छ, उति नै लोग्नेको माया पाइन्छ भन्ने भ्रमको सिर्जना गराउँदै ‘महिलाहरू आफैँमा निरिह हुन् र पुरुषको निगाहमा मात्र महिलाको अस्तित्व छ’ भन्ने मानसिकता पैदा गराउन खोजेको समेत देखिन्छ । 

यसरी तिजको पर्वलाई धार्मिक हस्तक्षेप गर्दै लैजान र यो पर्वलाई पुरुष दासतामा परिणत गराउन श्रावण महिनाको सामाजिक चलनबाटै चाँजोपाँजो मिलाएको देखिन्छ । श्रावण महिनाको पर्वलाई नितान्त प्रकृतिप्रेम, महिलाको वैज्ञानिक सशक्तीकरण, महिलाको सामाजिक, आर्थिक स्वतन्त्रतासँग जोडेर लैजान सकियो भने महिला केन्द्रित पर्वको सार्थकता रहन्छ । अन्यथा अझ कैयौँ वर्ष श्रावणको व्रत बस्ने चलनले शिवलिङ्गको परिक्रमा गरी असल पुरुषको दासी बन्ने अपेक्षामा मात्र महिलाहरूलाई प्रेरित गरिरहने छ ।

तिज पर्व

तिजलाई हिन्दू नारीहरूको महान् चाँड भनेर चर्चा गरेको पाइन्छ । पहिले पहिले तिज आउने समयलाग्ना साथ विवाहित महिलाहरू माइती जान पाउने आशामा प्रफुल्लित भएर बसेका हुन्थे । परम्परागत कृषिमा आधारित पेसा रहेको बेला छोरीचेलीहरू हत्तपत्त माइती जान पाउँदैनथे । त्यही भएर वर्षको एक पटक छोरीचेलीलाई लिन घरका दाजुभाइहरू आउने गर्थे । 

यसरी तिजमा दाजुभाइले दिदीबैनी लिन आउने अनि भाइतिहारमा दिदीबैनीले दाजुभाइलाई निम्तो गर्ने चलन चल्न थाल्यो । जन्मघरमा वर्षको एक पटक जान अनुमति पाउने यो चलनका कारण पनि तिजको महत्त्व अत्यधिक भएको हो महिलाहरूमा । तिजको एक दुई दिनअघि मात्र बुवाको मुख हेर्ने चलन चलाइएको छ । छोरीचेलीहरू बुवाको मुख हेर्ने दिन मिलाएर माइत जाने र तिज सकेर फर्कने चलन चलेको देखिन्छ । विवाहित महिलामाथि लादिने अत्यधिक शारीरिक श्रम, लोग्नेबाट हुने चरम यौन शोषण, अग्रज महिलाबाट समेत थोपरिने उत्पिडनले अधिकांश विवाहित महिलाहरू डिप्रेसनका सिकार भएका हुन्थे । घरका अग्रज महिलाहरूमा पहिले आफ्ना सासूहरूले गरेको शारीरिक मानसिक यातनाको बदला विवाहित बुहारीहरूसँग फेर्ने मानसिकता रहेको हुन्थ्यो । पुरुषप्रधान मानसिकताले थोपरेको यस्तो विभेदका बीच महिलालाई छोटो समयका लागि भए पनि एकमुठीको खुसी दिन चलाइएको यो चलनको वास्तवमै ठूलो महत्त्व छ । माइती पुगेर साथीसङ्गी र परिवारसँग आफूमाथि भएका शोषण र उत्पीडन पोख्ने, विरह पोख्ने क्रमसँगै यो पर्वले महिलाहरूलाई मनको बह पोखेर थोरै हलुका हुन मद्दत गरेकै हो ।

भाद्र शुक्ल तृतीयाका दिनबाट सुरु हुने तिज पर्व चार दिन मनाइन्छ । पहिलो दिनलाई दर खाने दिन भनिन्छ । यो दिनमा विवाहित दिदीबैनीहरू माइतीमा भेला भएर दुःख, सुखका कुरा साटासाट गर्दै दाजुभाइहरूले दिएका मिष्ठान्न भोजन खाने प्रचलन छ । दिनभर मीठोमसिनो खाएपछि त्यो मध्यरात वा भोलिपल्टको सबेरै खिर, दूध, मिठाई, फलफूललगायतका परिकार खाएर सूर्योदयपछि व्रत बस्ने चलन देखिन्छ ।

दर खाने दिनपछिको दिनलाई हरितालिका तिजको दिन भनिन्छ । त्यो दिन महिलाले नाच्ने, गाउने, विरह पोख्ने, उत्पीडनविरुद्ध बोल्ने चलन चलेको देखिन्छ । तत्कालीन समाजमा थोरै भए पनि उत्पीडनविरुद्ध बोल्न पाउने एक मुठीको स्वतन्त्रता महिलाले पाएको देखिन्छ । तर तिजको यो दिनलाई महिलाहरूले उत्पीडनविरुद्ध बोल्दै गर्दा आफ्नो लोग्नेको लामो आयुको लागि व्रत बस्ने प्रचलनलाई स्थापित गराउन शिव–पार्वतीको कथालाई जोडिएको समेत देखिन्छ । 

यसरी माइती पुगेर महिलाले स्वतन्त्रतापूर्वक आफ्ना दुःखसुख, उत्पीडन गाइरहँदा बढी उन्मत्त हुन नपाऊन् भनेर लोग्नेको उपासनालाई घुसाउन खोजेको जस्तो देखिन्छ 

। तिजको बेला स्वास्नी साथमा नहुँदा लोग्नेले पनि घरमै स्वास्नीको आयुका लागि व्रत बस्ने चलन चलाइएन । अविवाहित पुरुषले सक्षम स्त्री प्राप्त गर्नका लागि भनेर व्रत बस्नुपर्ने चलन पनि चलाइएन । एकातिर ‘खुट्टा भए जुत्ता कति कति !’ भन्ने पुरुषवादी मानसिकता रहनु र अर्कोतिर  धार्मिक ग्रन्थमा महान् बताइएका देवता, ऋषिहरूले समेत विधिपूर्वक स्वीकारेको पत्नीका अतिरिक्त अरू धेरै स्त्रीलाई कामोत्तेजनामा लपेटेको कथाका कारण पुरुषमा स्वास्नीसँगको एकनिष्ठताका लागि व्रत बस्नु लज्जाको विषय बनाइयो । 

तिज पर्वमा रूपान्तरण ल्याउने हो भने नेपाली परिवेशभित्र महिला स्वतन्त्रताको दिनका रूपमा मनाउन प्रेरित गराउनु पर्छ । तिजमा लोग्नेका लागि हैन, आफ्नै शरीरको महत्त्वका खातिर व्रत बस्ने भाष्य तयार गर्नु पर्छ । त्यस्तो गर्न नसक्ने हो भने लोग्नेले स्वास्नीका लागि र स्वास्नीले लोग्नेका लागि व्रत बस्ने भाष्य बनाउनु पर्छ । तिज पर्वलाई लैङ्गिक विभेदको पर्व बनाउने प्रचलनलाई रूपान्तरण गर्न जरुरी छ । तिजका गीतहरूमा लैङ्गिक विभेद किन, कसरी र केका लागि विकसित गरियो भन्ने सन्देशहरू प्रवाहित गरिनु पर्छ । 

तिज पर्वलाई अचेल सहर बजारतिर उत्ताउलो ढङ्गले मनाउन थालिएको समेत देखिन्छ । समाज परिवर्तनसँगै पर्वहरूमा पनि रूपान्तरण हुँदै जानु स्वाभाविक हो । सामन्तवादी उत्पादन प्रणालीमा विकास भएको पर्वले पुँजीवादी आधुनिकतामा आइपुग्दा पुराना मान्यता र विधिहरूमा परिवर्तन ल्याइसकेको हुन्छ । तर पनि महिनादिन अघिदेखि नै पार्टी प्यालेसहरूमा पश्चिमा पुँजीवादी संस्कृतिको पनि खराब प्रभावमा परेर रम र ह्विस्कीसँग उच्छृङ्खल गीतहरू गाउँदै तिजको सामाजिक सम्बन्धलाई बिटुल्याएको देखिन्छ । गरिब र निम्न वर्गका मानिसलाई होच्याउने गरी वर्गीय विभेदलाई सतहमा ल्याउने यस खालका क्रियाकलापले तिजको वास्तविक मूल्यमान्यतालाई समाप्त गरेको छ । 

महिलाहरूले सक्षम हुने, बौद्धिक बहस र छलफलसँगै रमाइलो समेत गर्ने गरी तिजलाई बदल्न जरुरी भएको छ । एकातिर श्रावण महिनाभरी शिवपार्वतीको उपासनामा र खासगरी शिवको उपासनासँगै लोग्नेलाई कामना गर्ने गरी महिलाले मात्र व्रत बस्नुपर्ने, भाद्र महिनामा पर्ने तिजामा पनि शिव जस्तै पति पाउन व्रत बस्नुपर्ने, लोग्ने साथमा नहुँदा लोग्नेको आदेशअनुसार व्रत तोड्नुपर्ने, लोग्ने साथमा हुँदा लोग्नेको चरण धोएर ढोग्दै व्रत तोड्नुपर्ने अनि अर्कोतिर आधुनिकताका नाममा लोग्नेकै पराधिनताभित्र खोक्रो स्वतन्त्रता खोज्ने प्रवृत्ति हटाउन जागरण फैलाउनुपर्ने भएको छ । अन्यथा विगतमा तावामा पिल्सिएका महिलाहरू वर्तमानमा भुङ्ग्रोमा पिल्सिने निश्चित नै छ ।

तिज पर्वको भोलिपल्ट अर्थात् भाद्र शुक्ल चतुर्थीका दिन गणेश चतुर्थी पर्छ । तिजको पर्वसँग मेल नखाने यसको फेरि अर्को प्रसङ्ग छ । पार्वतीले बुकुवा घस्दा निस्केको मयलबाट एक सन्तान जन्मेको अनि उनलाई कैलाशको द्वारमा पाले राखेर पार्वती स्नान गर्न गएको घटना यस प्रसङ्गमा जोडिएको छ । त्यसैबेला महादेवले कैलाश पस्न खोज्दा त्यो सानो द्वारपालेले रोकेको हुँदा महादेवले त्यसको शिर छेदन गरेको, त्यो देखेर पार्वतीले विलाप गरेपछि हात्तीको टाउको ल्याएर जोडी त्यो सन्तानलाई जीवित गराई गणेश नामकरण गरेको जस्ता कथा–कल्पना पुराणहरूमा गरिएको छ । हात्तीको टाउको मृत शरीरमा जोडेर त्यो द्वारपाले अर्थात् पार्वतीको सन्तानलाई ब्युँत्याएकोे दिनलाई गणेशको प्रादुर्भाव भएको दिनका रूपमा गणेश चतुर्थी मनाउन थालिएको किंवदन्ती छ । 

अन्त्यमा

तिज सामाजिक पर्व भएकाले यस्ता पर्वलाई निषेध गरेर जान हुन्न । बरु यसमा परिवर्तित युग अनुरूप वैज्ञानिक रूपान्तरण जरुरी छ । तिज पर्व र तिजसँग सम्बद्ध रहेका पर्वहरू महिला अधिकारमा केन्द्रित गराएर लैजानु पर्छ । गाउँघरका मानिस अझै पनि तिजलाई परम्परागत अवैज्ञानिक मान्यतामा रहेर मनाउने गरेका छन् । तर सहरका आधुनिक भनिएका महिलाहरूमा भने तिज पर्व भड्किलो र पश्चिमा संस्कृतिभित्रको पनि अराजक शैलीलाई अपनाएर मनाउने चलन विकास भएको छ । एक महिनाअघि दिनहुँ रम र बियरमा झुलिएर बस्ने, छाडा र महिलालाई नै बेइज्जत गर्ने गीतहरूमा नाचेर लट्ठ हुने प्रवृत्ति बढ्दै गएको हुँदा त्यसलाई सरकारी संयन्त्रबाट नियन्त्रण गर्ने र तिजको चार दिन महिलाहरूलाई ‘अधिकारका लागि स्वतन्त्रता’ भन्ने भावसहित मनाउन प्रयत्न गर्नु पर्छ । 

त्यसै गरी परम्परा धान्नु पर्छ भन्ने नाममा पुरुषको खुट्टा धोएर जलपान गर्ने, महिला हुनु नै पाप कर्म गर्न हो जस्तो गरी महिनावारी जस्तो प्राकृतिक अनिवार्य प्रक्रियाप्रति हीन भाव विकास गर्ने जस्ता गलत अभ्यासलाई हटाएर महिलालाई उच्च मानवका रूपमा बाँच्न पाउने नयाँ भाष्य तयार हुने गरी तिजलाई मनाउन जरुरी छ ।

लेखक प्रगतिवादी कथाकार हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दहाल
रोहित दहाल
लेखकबाट थप