शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
तीज

तीज, गणेशचौथी तथा ऋषिपञ्चमी

सोमबार, ०१ असोज २०८०, ०६ : ४७
सोमबार, ०१ असोज २०८०

तीज हिन्दु नारीले मनाउने महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइन्छ । तीजमा नेपाली नारीहरूले भगवान शिवको पूजा आराधनाका साथै नाचगान तथा मनोरञ्जनसमेत लिने गर्छन् । आजकल तीजमा अन्य धर्म र जातजातिका नेपाली महिलाहरूले पनि हर्षोल्लासका साथ मनाउन थालेका छन् । 

यस वर्षको तीज सङ्क्रन्तिका दिन वा आश्विन १ गते सोमबार, चतुर्थीयुक्त रहेको छ । हरितालिका तीज र गणेशजीको जन्म मङ्गल चतुर्थी एकैदिन परेको छ । यो अत्यन्त दुर्लभ घटना हो । यस सम्बन्धमा शास्त्रमा : चतुर्थी सहिता यातु याततिपा फलप्रदा । अवेध्या परा प्रबधिनां पौत्र पौत्रा प्रभर्दति ।। अर्थात् चतुर्थीयुक्त तीजम जसले श्रद्धाभक्तिपूर्वक शिव–पार्वतीको पूजाआराधना गर्छ उसले कैहिल्यै विधवा हुन पर्दैन र छोरा, नाति, नातिनाले परिपूर्ण हुने छन् भनिएको पाइन्छ । 

तीजको पहिलो दिन : दरखाने

यो चाडमा आफ्ना बाबुआमा, दाजुभाइले छोरीचेलीलाई घरमा बोलाउँछन् । मीठा–मीठा परिकार खुवाउँछन् । यसलाई दर खाने भनिन्छ । यस चाडमा दिदीबहिनीहरू आपसमा पनि नयाँ चिज वा सौभाग्यका वस्तु जस्तैः चुरा, पोते, टीका, धागा आदि आदान–प्रदान गर्छन् । यसै अवसरमा गीतका माध्यमबाट वा लयबाट मनका भावना एवं सुखदुःख पनि साटासाट गर्छन् । 

पहिला पहिला गाउँघरको दरखाने परम्परा र सहरीया वा आधुनिक समयको दरखाने परम्परामा धेरै फरक हुन थालेको देखिन्छ । पहिला घरघरमा तीजकै अघिल्लो दिन मात्र दरखाने चलन थियो भने अचेल १५–२० दिन पहिलादेखि नै समूह समूह मिलेर पार्टी प्यालेस वा होटलमा दरखाने चलन चलेको पाइन्छ । यसले गर्दा संस्कृतिलाई नै विकृति वा गह्रुँगो बनाउला कि भन्ने डर लाग्न थालेको छ ।  

तीज र यसको सांस्कृतिक आधार

यो चाड नेपालीहरूको मौलिक र सांस्कृतिक धरोहरका रूपमा नेपाली समाजमा मनाइने रहेछ । पौराणिक कथाहरूमा यस पर्वको विभिन्न आधार पाइन्छन् । कहीँ पार्वतीले भगवान् शिवलाई पति पाऊँ भनेर व्रतारम्भ गरेको भन्ने पाइन्छ । कतै शिवजीले नै पार्वतीलाई किशोरी अवस्थाका स्मरण गराउने उद्देश्यले यो तीजको कथा सुनाउनु भएको भन्ने पाइन्छ । शिवले पार्वतीलाई यसरी सम्झाउनु भएको थियो रे– ‘हे गौरी ! पर्वतराज हिमालयको घर अर्थात् तिम्रो माइतमा बस्दा गङ्गातटमा तिमीले आफ्नो बाल्यावस्थामा अधोमुखी भई शिव पति पाऊँ भनी घोर तपस्या गरेकी थियौ । उक्त अवधिमा तिमीले कुनै अन्नपानी नखाई केवल हावाको मात्र सेवन गरेकी थियौ रे’ । त्यसैले अविवाहित किशोरीहरूले असल पति पाऊँ भनी शिवजीको पूजा आराधना गरेको भनिन्छ ।

कहीँ आद्य शक्ति भगवान् शिवकी अर्धाङ्गीनी हिमालयकी पुत्री पार्वतीले भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिला व्रत गरेको भन्ने पाइन्छ । यसैले नेपाली महिलाले पनि सोही कुराको अनुसरण गरेका हुन् भन्न सकिन्छ । 

यस पर्वलाई हरितालिका किन भनिएको भन्ने सम्बन्धमा :

भाद्रमासे सिते पक्षे तृतीया हस्तसोमयुक् ।

तदनुष्ठानमात्रेण सर्वपापैः प्रमुच्यते ।। 

नामस्य व्रतराजस्य श्रृणु देवि यथाभवम् ।

आलिभिर्हरिता यस्मात्तस्मात्सा हरितालिका ।।

शिवजीलाई नै पति रूपमा प्राप्त गर्ने पार्वतीको चाहनाले तपस्या गरेकी थिइन् । तर त्यसविरुद्ध हिमालय पर्वतले विष्णुलाई विवाह गरिदिने कुरा गरेछन् । त्यसको विद्रोह गर्दै पार्वतीका सङ्गीसाथीहरूले जङ्गलमा लगेर लुकाएर राखेछन् ।  (संस्कृतमा आलि भनेको साथी) आलिभिर्हरिता वा साथीहरूद्वारा हरण गरिएकी भनेर हरितालिका नाम रहन गएको हो । यसरी अनादिकालदेखि तीजको इतिहास शिव र पार्वतीसँग जोडिएको पाइन्छ ।

उल्लिखित परम्पराअनुसार यो दिन महिलाहरूले नित्य कर्मका साथै दिनभरी जल अन्न ग्रहण नगरी निराहार वा निर्जला व्रत बस्ने गर्छन् भनिन्छ । बेलुकीपख छिमेकका दिदीबहिनीहरू भेलाभई यो व्रतकोे उद्यापन (विसर्जन) गर्ने प्रचलन छ । दिनभरको निराहार भनिए पनि मध्याह्नमै पूजा आराधना गरी फलफूल ग्रहण गर्ने गर्दछन् ।  

परिस्थिति मिलेका महिलाहरू नजिकको शिवमन्दिरमा गई शिवजीको आराधनाका साथै नाचगान तथा रमाइलो गर्ने गर्छन् । काठमाडौँको पशुपति मन्दिरमा दर्शन गर्ने महिला व्रतालुहरूको ठूलो भीड हुने गर्छ ।

गणेश चौथीः

स्कन्द पुराणअनुसार भगवान गणेशजी शिव पार्वतीका पुत्र हुन् । यिनको जन्म तीजको भोलिपल्ट अर्थात भाद्रशुक्ल चौथी मङ्गलबारका दिन भएको भन्ने पाइन्छ । यो चौथी कहिले मङ्गलबार पर्छ कहिले पर्दैन । यसैले विश्वभरिका हिन्दु धर्मावलम्बीले गणेशचौथी पूजा, पाठ, आराधना आदि गरी मनाउने गरिन्छ । यसरी गणेशको पूजापाठ गर्दा– 

‘हे ! गौरी सुत हे ! प्रभो गणपते हे ! अष्टसिद्धिपते । 

हे ! गुरो गजवक्त्र हे ! गुणनिधे हे ! ऋद्धिबुद्धि पते’ ।।

भन्दै स्तुति गरिन्छ । 

यसै गरी हिन्दु परम्परामा हरेक दिन वा धार्मिक कार्य सम्पादन गर्न लाग्दा आँटेको कार्य सिद्ध होस् भनी विघ्नहर्ताका रूपमा पहिला गणेशको पूजा गर्ने चलन छ । उहाँको पूजा आराधना गर्दा तलको स्तुति भन्ने चलन छ । हुन त गणेशजीको स्तुति धेरै हुन सक्छन् । तर पनि प्रतिनिधिमूलक रूपमा यहाँ एउटा स्तुति श्लोक दिइएको छ ।

विग्नेश्वराय बरदाय सुरप्रियाय लम्बोधराय सकलाय जगद्धिताय । 

नागाननाय श्रुतियज्ञ विभूषिताय गौरीसुताय गणनाथ नमो नमस्ते ।। 

यस दिनलाई नेपाली गाउँघरमा खाल्सा पनि भनेको सुनियो । गणेश चौथी, गणेशको जन्मदिन, गणेशको पूजापाठ गर्ने कुरा हाम्रा अगुवाहरूले सिकाएनन् कि अथवा सिकाएर पनि हामीले अनुसरण गरिएन कि ।

यस दिन पनि नेपाल र विदेशका प्रसिद्ध गणेश मन्दिरहरूमा भगवान गणेशको आराधना गर्न भक्तजनहरूको भीड लाग्ने गर्छ । केही भक्तजनहरूले यस दिनदेखि अनन्तः चतुर्दशीसम्म (दस दिन) गणेशोत्सव मनाउने परम्परा पनि पाइन्छ । 

ऋषिपञ्चमी

भाद्र शुक्ल पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको छ । यो पञ्चमी तीज पर्वको अन्तिम दिन हो । शस्त्रअनुसार रजस्वला भएका महिलाहरूले रजदोष निवारणका लागि ऋषिहरूसँग गरिने क्षमा प्रार्थना हो । रजस्वला भएको समयमा गर्भ रहन गएमा गर्भको शिशु अस्वस्थ हुने वा अपाङ्ग हुने र आमा पनि कमजोरी हुने हुनाले यसो भनिएको हुन सक्छ । यसरी छुट्टै बस्ने अवधारण रहेको अवस्थामा पनि  अन्जानवश कसैलाई छोइए त्यसको दोष लागेको हुन सक्छ । उक्त दोषबाट मुक्त हुन भाद्र शुक्ल पञ्चमीको दिन ३६५ वटा अपामार्ग (दतिवन) टोकी माटो तथा गाईको गोबर लगाएर ३६५ पटक नुहाउनुपर्छ भनिएको छ । यसको मतलब ज्यादै नै शुद्धतालाई जोड दिएको पाइन्छ ।

यो पर्वको सांस्कृतिक कथन र महिलाहरूले रजदोषका बारेमा ऋषिहरू समक्ष क्षमा प्रार्थना गर्ने अरू धेरै प्रसङ्ग हुन सक्छन् । त्यसमध्ये प्रतिनिधिमूलक एउटा प्रसङ्ग यस्तो छ : 

शिव महापुराणमा उल्लेख भए अनुसार सन्ध्या, ब्रह्माजीकी एक मात्र मानस पुत्री, रजदोषका कारण चन्द्रभाग नदीकिनारमा तपस्या गर्न गइन् । ब्रह्माले तपस्यामा सघाउन वशिष्ठ ऋषिलाई अह्राए । सन्ध्या तपस्याबाट ब्रह्मलिन भइन् र पुनर्जन्म हुँदा उनको नाम अरुन्धती भयो रे । सूर्यदेव र संज्ञाबाट शिक्षादीक्षा प्राप्त गरिन् । शिक्षादीक्षाका क्रममा शिवजीबाट चारवटा वरदान पाइन् । 

तिनै वरदानका क्रममा वशिष्ठसँग विवाह भयो । पूर्वजन्ममा पनि रजदोषका कारण तपस्या गर्नु परेको हुनाले अरुन्धतीले यस जन्ममा पनि रजदोष निवारणका लागि सप्तऋषिसँग क्षमा प्रार्थना र पूजा गरिन् भन्ने पाइन्छ । सप्तऋषिहरूले भाद्र शुक्ल पञ्चमीका दिन अरुन्धतीको आग्रहलाई स्वीकार गरे र अब उप्रान्त जगतमा आपूmहरूसँगै अरुन्धतीको पनि पूजा आराधना हओस् भन्ने वरदान दिए भन्ने पाइन्छ । यसैले सोहीबमोजिम आजसम्म सप्तर्षिहरूसँगै अरुन्धतीको पनि पूजा गरिन्छ । सप्तर्षिको पूजा गर्दा निम्न श्लोकको स्तुति गाइन्छ ।  

सप्त ऋषिस्तुति : ॐ वशिष्ट, कष्यपो अत्रि, जमदग्नि च गौतम । विश्वामित्र भारध्वज सप्तर्षि च रुन्धती ।

यसैले ऋषिपञ्चमीमा अरुन्धतीले गरेको रजदोष निवारण गरेको सम्झनामा उनै अरुन्धतीसहित सप्तर्षिको पूजा आराधना गर्ने परम्परा रहिआएको पाइन्छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सूर्यकुमार पण्डित
सूर्यकुमार पण्डित
लेखकबाट थप