शुक्रबार, १६ कात्तिक २०८१
ताजा लोकप्रिय

महिला उत्पीडनलाई प्रश्रय दिने बजारिया तीजगीत

सोमबार, ०१ असोज २०८०, ०६ : ४२
सोमबार, ०१ असोज २०८०

भाद्र शुक्ल द्वितीयाको राति दर खाएर मनोरञ्जनको सुरुवात गरिने र तृतीयाको दिन हिन्दु नारीले निराहार व्रत बसी शुद्ध वस्त्र धारण गरेर पूर्वीय धार्मिक संस्कार अनुसार पतिको दीर्घायु, सुख, शान्ति र समृद्धिका लागि रात्रिकालीन प्रहरमा शिव–पार्वतीको पूजा आराधना गरेर तीज पर्व मनाउने गरिन्छ । हिमालय पुत्री पार्वतीले शिवजीको आराधना गरी शिवलाई पतिका रूपमा प्राप्त गरेको दिनलाई हरितालिका भन्ने गरिएको धार्मिक मान्यता छ । 

पार्वतीको कठोर व्रत र तपस्याले उनको मनले चिताएको पुगेको र भाद्र शुक्ल तृतीयाका दिन नै शिव र पार्वती प्रणय सूत्रमा बाँधिएका थिए भन्ने शिव महिमादेखि धार्मिक ग्रन्थमा उल्लेख गरिएको पाइन्छ । यो किंवदन्तीका रूपमा पनि रहेको छ । मिति यकिन नभए पनि परापूर्व कालदेखि यसै दिनको सम्झनामा हिन्दु धर्म र संस्कृतिप्रति आस्थावान् नारीले तीज मनाउने प्रचलन रही आएको पाइन्छ । 

अविवाहिता युवतीले मनले चिताएको पति वा वर पाइयोस् भनेर तथा विवाहिता नारीले श्रीमान्को दीर्घायु, पारिवारिक सुख, शान्ति र समृद्धिका लागि शिव–पार्वतीको पूजा–आराधना गरी तीजको व्रत बस्ने गरिन्छ । पहिले–पहिले शिवालय वा घरमै पनि पूजा–आराधना गरी तीजमा गीत गाएर नाच्ने गरिन्थ्यो । माइत जान नपाएको पीडा, पतिको घरमा भोगेका दुःख, नारी भएर जन्मिएकामै पश्चाताप गरिएको आदि भावनासँगै शिव महिमा पनि तीजगीतमा आउँथे । सुदूरपश्चिम प्रदेशमा भने देउडामार्फत नारी उत्पीडन, लैङ्गिक विभेद, चेलीलाई माइती लिन नआएको प्रसङ्ग व्यक्त गरिन्थ्यो, यस्ता गीतको परम्परा अब एकादेशको कथा नबन्ला भन्न सकिँदैन ।

भड्किला र अश्लील तीज गीतको प्रभावले तीजको मौलिक पक्ष धरापमा परेको छ । मौलिक पाटो लोप हुनु भनेको संस्कृतिको अस्तित्वमाथि खेलवाड गर्नु र आधुनिकीकरणका नाममा विकृति बढाउँदै लैजानु हो ।

गाउँमा भन्दा सहर–बजारतिर पछिल्लो समय तीजले भयावह रूप लिइसकेको छ । तीज उच्च वर्र्गीय पर्व बन्न पुगेको छ, आधुनिकताका नाममा मौलिकता हराइसकेको छ । हरितालिका तीजको अघिल्लो दिन मात्र खाइने दर तीज आउनुभन्दा एक महिना अघिदेखि सहरका पाँचतारे होटल र पार्टी प्यालेसमा पाश्चात्य जीवनशैली अपनाउँदै उत्तेजित र भड्किला नेपाली तथा हिन्दी गीत बजाएर मनाएको देखिन्छ । हिन्दु संस्कार र संस्कृति पूर्वीय परम्पराअनुसार मौलिक छन्, हरेक पर्वलाई मौलिक तरिकाले मनाउनुपर्ने हो तर तीजलाई धार्मिक महत्त्वभन्दा पनि रमाइलो र मोजमस्तीका लागि मनाउन थालिएको छ । लुगाकपडा र गरगहना देखाउने प्रतिस्पर्धासँगै भड्किला गीतलाई पछ्याउँदै तीज मनाउनुले यसको मौलिक पक्ष हराएर विकृत बन्न पुगेको छ । 

चेलीले माइतीघरमा भोग्नुपरेका पीडा पोखिने र चेलीले माइतीलाई सम्झेर गाइएका ‘तीज आयो स्वामी राजा म त माइत जाने हो, आमाले नै पकाएको दर खाने हो’, ‘आयो बरै झल्को माइतीको देश’, ‘ए आमा तिमी छैनौ माइती हरायो’, ‘धुरुरु रुन्छ यो मन सम्झेर माइतीको आँगन’जस्ता तीज गीत नगाइएका भने होइनन्, तर यसरी माइतीघरलाई सम्झेर गाइने तीज गीत ‘बेलैमाथि घर आउँछन् बाहिर पनि जाँदैनन् मेरा त बुढाले रक्सी खाँदैनन्’ गीतका अघि ओझेल परेका हुन् । बजारमा बिकाउनकै लागि तीज गीत आधुनिकताका नाममा अतिक्रमित भएका छन् । ‘मिलियन भ्युज’ वा युट्युबबाट आउने पैसाका लागि अश्लील र उत्तेजित ढङ्गले तीज गीत गाइएका छन् । देखासिकी र प्रतिस्पर्धाले एक दिन मात्र मनाइने तीजलाई भड्किलो तरिकाले महिनौँसम्म मनाउँदा उच्च वर्गीय परिवारले त धान्छ तर मध्यम वर्गीय र निम्न वर्गीय परिवारमा पारिवारिक कलह र ऋणको भारी प्रत्येक वर्ष थपिँदै गइरहेको छ । पछिल्लो समयका भड्किला, अश्लील र उत्तेजित तीज गीतका भिडियोले समाजमा विकृति मात्रै भित्रिएको छैन, मौलिक तीज गीतको लोप र तीज गीतको वास्तविकतामाथि प्रहार गरेको छ । मौलिकता बोकेका तीज गीतभन्दा आधुनिकता र स्वतन्त्रताका नाममा छाडा गीतले बजार तातेको छ, व्यापार फस्टाएको छ ।

‘हाई मेरो फरिया

झन् माथि सार्‍यो 

झन् तल जान्छ, 

हाई मेरो फरिया ।’

‘जामा लाउँदा छोटो भयो

सारी लाउँदा सुहाएन

उखरमाउलो बैँस छोप्ने चीज नै भएन

जवानीले पार्‍यो नि पिरलो

तीज आउँदा नि पिरलो न आउँदा नि पिरलो

चोरी खान पल्केको ढाडे बिरालो ।’

तीजमा त नारीका दुःख, पीडाका गीत गाइनुपर्ने हो, पुरुष सत्तात्मक समाजमा आत्मनिर्भर बन्न नसकेको र नारीले स्वतन्त्र हुन नपाएको गीतमा छमछमी नाच्नुपर्ने हो तर जामा, फरिया र सारीमै अल्झेका छन् आम दिदीबहिनी । 

हिन्दु संस्कार र संस्कृति पूर्वीय परम्पराअनुसार मौलिक छन्, हरेक पर्वलाई मौलिक तरिकाले मनाउनुपर्ने हो तर तीजलाई धार्मिक महत्त्वभन्दा पनि रमाइलो र मोजमस्तीका लागि मनाउन थालिएको छ । लुगाकपडा र गरगहना देखाउने प्रतिस्पर्धासँगै भड्किला गीतलाई पछ्याउँदै तीज मनाउनुले यसको मौलिक पक्ष हराएर विकृत बन्न पुगेको छ । 

वास्तवमा गहन रूपले अध्ययन गर्ने हो भने जामा, फरिया, उखरमाउलो बैँस र ढाडे बिरालोसँग त तीजको टाढा–टाढाको साइनो पनि छैन । केही वर्षपहिले चर्चित लोकदोहोरी गायिका कोमल वलीले ‘पोइल जान पाम् शिव पोइल जान पाम्’ गीत गाएर चर्चा बटुले पनि त्यो गीत निकै विवादास्पद बन्यो, गाउनेले गायो नाच्नेले नाचे पनि सचेत र बौद्धिक वर्गले भने यसबाट विकृति फैलिएको भनेर विरोध पनि गरे । पछिल्लो समय गाइएका यस्तै खाले भड्किला गीतले वास्तविक तीजको अस्तित्व मेटिँदै गएको छ । बच्चादेखि वृद्धवृद्धासम्म जो–कोहीलाई संगीतले चाँडै प्रभाव पार्छ र त्यसको सिको पनि गर्ने गर्छन् । त्यो शक्ति तीजगीतमा पनि हुन्छ तर दिनानुदिन बढ्दै गइरहेका विकृति, विसङ्गति भित्र्याउने अश्लील तीज गीतबाट समाजमा कस्तो सन्देश जाँदै छ, नयाँ पुस्ताले के सिक्दै छ — यतापट्टि कसैको ध्यान गएको पाइँदैन । ‘अरेली काँडैले घोँच्यो मलाई च्वास्सै च्वास्सै’ जस्ता विम्बात्मक गीतले सिङ्गो नारी जगत्माथि नै आँच पुर्‍याएको छ भन्ने कुरा आम नारीले बुझ्नु जरुरी छ र प्रतिरोध गर्नु अनिवार्य पनि छ । माइती घरका कुरा, कर्मघरका दुःख–सुखका कुरा समेटेर गाइने तीजगीत अब भेनासम्म पुगिसकेका छन् । 

‘भिनाजुले किन्देको सेतो घडी नाडीमा

टलटल सितारा रातो साडीमा ।’

बुबा–आमा, दाइ–भाइ र श्रीमान हँुदाहँुदै तीजकै लागि भनेर भिनाजुले रातो साडी र सेतो घडी किनिदिने परम्परा नेपाली समाजमा न हिजो थियो, न आज । यो समाजका लागि पाच्य विषय नै होइन, उसै पनि नेपाली समाजमा ‘साली आधा घरवाली’ भन्ने नारीद्वेषी उखान छ । यस्ता गीतको भावले उखानलाई थप प्रश्रय दिन्छ र अनेकाँै प्रश्न पनि जन्माउँछ तर नारीहरू यस्तै गीतमा उफ्रिरहेका छन् । गीतको भावको गहनतासम्म पुग्न नसकेका हुन् या त नचाहेका हुन्, उनीहरू नै जानून् । हरेक वर्षको तीजमा नयाँ फूलबुट्टे साडी, नयाँ गरगहना, नयाँ शिरफूल, नयाँ पाउजु लगायत शिरदेखि पाउसम्म नयाँ नै नयाँ वस्तुले सजिएका बजारका गुडियाजस्ता बनेका सहरका उच्च वर्गीय नारीहरू पाँचतारे होटलका सभाकक्षमा ‘चोली पुरानै, सारी पुरानै, किन लाउनुपर्‍यो र सुनका चुरा नै’ बोलको गीतको कम्मर मर्काउँछन् । यो गीतको भाव, अर्थ र त्यसले पार्ने प्रभावको समेत ख्याल नगरी नाचिरहँदा गीतले आफूलाई होँच्याएको, व्यङ्ग्य गरेको र आम नारीको अस्तित्वमाथि नै प्रहार गरेको अनुभूति हुन्छ कि हँुदैन होला ? सोचनीय विषय छ । आधुनिकताका नाममा सस्तो लोकप्रियताका लागि व्यापारीले गीतको व्यापार गरे पनि सचेत भनिएका नारी मुकदर्शक बनेका छन् । त्यस्ता केही गीतका अंश हेरौँ ः

‘हङकङको साडीले नेपालको धुलो उडायो 

छमछम पाउजुको तालैमा

मर्काइदेउ कम्मर अहिलेको सालैमा ।’

‘लाउँदिनँ फरिया

छैन बरै सितारा

हाई फर्किएनन् राजै 

पारे मलाई बितारा ।’

‘जेलैमा हो जेलैमा चरी जेलैमा

मै छोरी रुँदैरुँदै बेसी मेलैमा ।’

सहरका नाम चलेका होटल र रेस्टुरेन्टमा फूलबुट्टे साडी र गहनाको भारीको बोझले थिचिएका नारीले ‘जेलैमा हो जेलैमा’ गीतमा नाच्दा कति मनोरञ्जनको अनुभूति हुँदो हो । रेस्टुरेन्टमा तीज मनाउनेहरू अधिकांश नारीहरू उच्च वर्गीय पारिवारिक विरासत बोकेका हुन्छन् । उनीहरू जेल पर्नु त परको कुरा जेल कुन चरीको नाम हो त्यो समेत हेक्का हँुदैन । पितृसत्ताको जेल परेकाहरू त त्यहाँसम्म पुग्ने वातावरण पनि छैन, जुन ग्रामीण नारीहरूले सिङ्गो सारीले एक दशक कटाएका छन्, चुलोचौको र घरधन्दाभन्दा माथि उठ्न सकेकै छैनन्, पटपटी फुटेका पैतालामुनिको सय रुपैयाँको प्लास्टिकको चप्पल चुडिँदा समेत डोरी बाँधेर गुजारा गर्छन् — जेलैमा हो जेलैमा गीत त ती नारीका लागि सुहाउँछन् । जसले जीवनको ऊर्जाशील २०,३०,४० वर्षे समय अनवरत रूपमा बेसी मेलामै एकसुरे तरिकाले बिताएका छन्, त्यहाँभन्दा पर सपना देख्न पनि पाउँदैनन् या भनौँ सपना देख्ने अधिकार पनि छैन, विडम्बना ती नारीसम्म यस्ता गीतका भाका नै पुग्दैनन्, भाव नै बुझ्दैनन् उनीहरूले । 

देखासिकी र प्रतिस्पर्धाले एक दिन मात्र मनाइने तीजलाई भड्किलो तरिकाले महिनौँसम्म मनाउँदा उच्च वर्गीय परिवारले त धान्छ तर मध्यम वर्गीय र निम्न वर्गीय परिवारमा पारिवारिक कलह र ऋणको भारी प्रत्येक वर्ष थपिँदै गइरहेको छ ।

जो उफ्रिरहेका छन्, आर्थिक रूपले आत्मनिर्भर छन्, आफ्नै कमाइले नधाने पनि प्रतिस्पर्धात्मक बजारमा सरसापट गरी अरुभन्दा माथि पुग्ने भ्रम पालेका छन् — उनीहरूले नै तीजलाई भड्किलो बनाउँदै लगेका छन्, भाँडमा जा संस्कृति, संस्कार, परिवार र समाज भनेर । पुरुषसत्ताले आफूहरूमाथि गरेको अन्याय, अत्याचार, उत्पीडन, विभेद र असमानता थाहा नपाएर वा पचाएर तीज महिला उन्मुक्तिको पर्व भनेर कतिपय भ्रममा बाँचेका छन् । केही सचेत महिलाले तीज पर्व भड्किलो भएको भन्दै प्रतिरोध र आलोचना गरे पनि अधिकांशले यस्ता उत्पीडनको पाटोलाई बेवास्ता गरेका छन् । 

समय परिवर्तनशील छ, गतिशील छ, समयको परिवर्तनशीलता र गतिशीलतासँगै नारीको व्यवहार र जीवनशैलीमा पनि परिवर्तन हुनु आवश्यक छ, तर एकथरी विवाहिता महिलाले ‘पोइल जान पाम् शिव पोइल जान पाम्’ भन्दै उफ्रिने अर्काथरी पति अन्धभक्त महिलाहरू निराहार व्रत बसी अघाएका श्रीमान्को खुट्टा धोएको पानी पिएर मात्रै व्रत तोड्ने । सामाजिक मूल्य–मान्यता र पारिवारिक सम्बन्ध र सद्भावमा आँच नआउने गरी परिवर्तित हुनु र परिवर्तन गर्न खोज्नु सकारात्मक पक्ष भए पनि दिनभर व्रत बसेर अघाएका श्रीमानका खुट्टाको पानी पिउनु महिलामाथिको उत्पीडन र शोषण हो, चाहे पारिवारिक संस्कार र मर्यादाले पानी खानु परोस्, चाहे व्रतालु महिलाको आफूखुसीले — जे भए पनि यस्ता संस्कारको अन्त्य हुनु जरुरी छ । 

तीज महिलाको पर्व भए पनि उत्पीडन र विभेदको पर्व हो, महिला विशेषको पर्वमा त महिलाको हक–अधिकार, स्वतन्त्रता, स्वअस्तित्व र आत्मसम्मानका गीत गाइनुपर्ने हो र त्यस्तै गीतमा रमाइलो गर्नुपर्ने हो, तर मूल्य–मान्यता र संस्कृतिलाई लत्याएर मनपरी ढङ्गले बजारमा आएका हरेक तीजगीत महिलालाई अपमानित गर्ने भावका छन्, तीज गीतले महिलालाई झन् परनिर्भर वस्तुका रूपमा प्रस्तुत गरेका छन् । महिलाको स्वाभिमान, स्वअस्तित्व, आत्मनिर्भरता, स्वतन्त्रता, पहिचान, हक र अधिकारसँग प्रत्यक्ष जोडिएका छैनन्, पुरुषसत्तात्मक विचार र मानसिकताले गाइएका गीतले महिलाको आत्मनिर्भरता, स्वतन्त्रता र अस्तित्व पुरुषमा निर्भर हुनैपर्ने आशय बोकेका छन् । 

चेलीले माइतीलाई सम्झेर गाइएका ‘तीज आयो स्वामी राजा म त माइत जाने हो, आमाले नै पकाएको दर खाने हो’, ‘आयो बरै झल्को माइतीको देश, ए आमा तिमी छैनौ माइती हरायो’, ‘धुरुरु रुन्छ यो मन सम्झेर माइतीको आँगन’ जस्ता तीज गीतहरू नगाइएका भने होइनन् तर मेरा त बुढाले रक्सी खाँदैनन् गीतका अघि ओझेल परेका हुन् । यसरी भड्किला र अश्लील तीज गीतको प्रभावले तीजको मौलिक पक्ष धरापमा परेको छ । मौलिक पाटो लोप हुनु भनेको संस्कृतिको अस्तित्वमाथि खेलवाड गर्नु र आधुनिकीकरणका नाममा विकृति बढाउँदै लैजानु हो । तीज पर्वलाई सभ्य, शिष्ट र मर्यादित रूपले मनाउनु आम हिन्दु नारीको जिम्मेवारी हो । 

कैलाली 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता जोशी
सरिता जोशी
लेखकबाट थप