उपराष्ट्रपतिसँग साउदी अरबका राजदूतको भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि साउदी अरबका राजदूत साद नासिर अब्दुल्लाह अबु हैमीदले आज शिष्टाचार भेट गरेका छन् । लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको सो भेटमा उनीहरुबीच नेपाल र साउदी अरबबीचको सम्बन्धका विविध आयामबारे छलफल भएको थियो ।
भेटमा उपराष्ट्रपति यादवले आपसी हितका लागि द्विपक्षीय सहकार्य थप सुदृढ र विस्तार गर्ने प्रशस्त सम्भावना र अवसर रहेको बताए । उनले संयुक्त राष्ट्र सङ्घ तथा असंलग्न राष्ट्रहरुको समूहका सदस्य रहेका नेपाल र साउदी अरबले अन्तर्राष्ट्रिय मञ्चहरुमा साझा मामिलाहरुमा सहकार्य गर्दै आएकामा सन्तुष्टि व्यक्त गरे ।
“साउदी अरब नेपाली कामदारका लागि वैदेशिक रोजगारीको एक मुख्य गन्तव्य बनेको छ । करिब पाँच लाख नेपाली कामदार रहेको साउदी अरब ठूलो सङ्ख्यामा नेपाली रहेका विदेशी मुलुक मध्येको एक हो”, उपराष्ट्रपति यादवले भने, “नेपाली कामदारलाई ठूलो सङ्ख्यामा रोजगारीको अवसर उपलब्ध गराएकामा साउदी सरकारप्रति आभार व्यक्त गर्दछु ।”
उनले जलविद्युत्, पर्यटन, कृषि, पूर्वाधार, विकास, जडीबुटी औषधिजस्ता प्रचुर सम्भावनाका क्षेत्रमा नेपालले साउदी लगानीलाई सधैँ स्वागत गर्ने बताए । “
नेपाल र साउदी अरबबीच सहकार्य गर्नका लागि पर्यटन एक सम्भावित क्षेत्र हुनसक्छ”, उनले भने, “नेपालको अनुकूल मौसमका कारण वर्षे बिदा मनाउन विदेश यात्रामा जाने साउदी पर्यटकका लागि नेपाल आकर्षक गन्तव्य हुने र प्रत्यक्ष हवाई सम्पर्कले त्यसमा ठूलो मद्दत पुग्ने देखिन्छ । यसका लागि पहल हुनु जरुरी छ ।”
सो अवसरमा राजदूत साद नासिरले आफ्नो मुलुकले नेपालको अर्थतन्त्रमा नेपालीलाई रोजगारी दिएर ठूलो सहयोग गरिरहेको बताए । उनले साउदी अरब नेपालको पर्यटनलगायत क्षेत्रमा सहयोग गर्न इच्छुक रहेकोसमेत बताएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?