शुक्रबार, ०२ कात्तिक २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गैह्रीगाउँ हत्याकाण्ड

तीनकुने सामूहिक हत्या प्रकरण  : सञ्जय भण्डारीले हत्या गरेको निष्कर्ष

पोल खुल्ने डरले अन्य तीन जनाको पनि हत्या
आइतबार, ३१ भदौ २०८०, १९ : ५५
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । राजधानीको तीनकुनेमा चार जनाको ज्यान जाने गरी भएको हत्या प्रकरणमा प्रहरीले सिन्धुपाल्चोक घर भएका सञ्जय भण्डारीलाई पक्राउ गरेको छ । २३ वर्षीय भण्डारीको बयानका आधारमा प्रहरीले उनले नै हत्या गरेको निष्कर्ष निकालेको हो । 

प्रतिशोधका कारण बोल्न नसक्ने भण्डारीले विशाल राईको हत्या गर्ने क्रममा अन्य तीन जनाको पनि हत्या गरेको प्रहरीले जनाएको छ ।  प्रतिवादी सञ्जय भण्डारीले बाटो आवत जावत गर्ने क्रममा मृतक विशाल राईलाई उक्त घटना भएको ‘स मिल’को घर टहरोमा पहिला ३÷४ पटक देखेसँगै उनी हत्या गर्ने योजनाका साथ शुक्रबार राति त्यहाँ पुगेका थिए । 

‘प्रतिवादी सञ्जय भण्डारी मृतक विशाल राईलाई आज भेट्छु निहुँ खोज्यो भने छप्काई दिन्छु भनी आफू बस्ने गरेको दिदी भिनाजुको घरको डेरा कोठाबाट उक्त खुकुरी आफूले बोक्ने झोलामा हाली काडाघारीस्थित वीरेन्द्र चोकबाट स मिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढी मृतक विशाल राई बस्ने कोठामा गई हेर्दा निजलाई तत्काल नदेखेपछि सोही कोठाको सोफामा बसी रहेको अवस्थामा केही क्षणपछि मृतक विशाल राई आई किन यहाँ बसेको भनी कुटपिट गरेपछि निज प्रतिवादी सञ्जय भण्डारीले रिस थाम्न नसकी खुकुरीले निज विशाल राईको टाउकोमा पटक पटक प्रहार गरी गरेको खुलेको छ’, प्रहरीले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दियो । 

विशाल राईको हत्या गर्ने क्रममा सुभद्रा भुजेलले देखेपछि भण्डारीले शुभद्रालाई सोही खुकुरीले टाउकोमा प्रहार गरेको प्रतिवादीले प्रहरीमा बयान दिएका छन् ।  सोही समयमा पूर्ण बहादुर भुजेल घटनास्थलमा पुगी फोन गर्न लागेको जस्तो देखेपछि उनको पनि टाउकोमा नै पटक पटक खुकुरी प्रहार गरी हत्या गरेका थिए ।  त्यसपछि पूर्ण बहादुर भुजेलकी श्रीमती अम्बिका भुजेलको पनि सोही स्थानमा हत्या गरेको अभियुक्तले बयान दिएका छन् । 

त्यसपछि मृतक कुमार भुजेलको शवलाई तानी घिसार्दै सोही टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा उनले  फालेका थिए । यस्तै निजको श्रीमती अम्बिका भुजेलको शवलाई पानीको कल छेउमा लगी फालेको तथा सुभद्रा भुजेलको शवलाई सोही काठको गोदाम छेउमा घिसार्दै लगी फालेका थिए ।  ‘तत्कालै विशाल राईलाई रिसईबीको कारण प्रतिशोध साँधी हत्या गरेको भएता पनि अन्य ३ जनालाई सो घटनादेखि बाहिर आउँछ भनी हत्या गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ’, प्रहरीको भनाइ छ । 

प्रतिवादीले चारै जनाको हत्या गरे पश्चात् बाहिर मेन गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइट समेत देखेपछि भागेका थिए ।  उनी यसअघि भित्र प्रवेश गरेको पछाडीपट्टीको गेटबाट हामफाली कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोक पुगेका थिए । त्यहाँ गएर उनी दिदी भिनाजुको कोठामा गई सुतेका थिए । 

शनिबार बिहान उठेर खाना खाएपछि अघिल्लो दिन जस्तै पहिला पढेको नक्सालस्थित विद्यालयमा  साथीहरूसँग भेट्न गई घर आएर खाना खाएर सुतेको खुल्न आएको पनि प्रहरीले जनाएको छ । 

आइतबार बिहान सिन्धुपाल्चोकमा लुकेर बस्ने योजनाका साथ जान लागेका उनलाई  खुकुरीसहित प्रहरीले पक्राउ गरेको हो । 

प्रतिवादी जन्मजात बोल्न नसक्ने, सिन्धुपाल्चोक बाह्रबिसेमा ८ कक्षासम्म अध्ययन गरी १२ कक्षासम्म काठमाडौँमा अध्ययन गरेको खुल्न आएको छ । प्रतिवादीले सम्पूर्ण घटना एक्लै घटाएको स्वीकार गरेको र थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

भण्डारीलाई केही समयअघि चाबहिलमा नवीन राई सवार मोटरसाइकलले ठक्कर दिएको र सोही क्रममा विवाद भएर सिसिइबी बढेको खुलेको छ ।  त्यसकै निहुँमा उनी बसेको स्थान फेला पारेर हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । 

नविनसँग मात्रै दुष्मनी भएपनि पोल खुल्ने डरले उनले अन्य तीन जनाको पनि हत्या गरेको खुलेको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए । 

तीनकुने सामूहिक हत्या प्रकरणमा प्रहरीले यसअघि पक्राउ परेका दीपेन्द्र राईलाई रिहा गरेको छ । उनको हत्यामा कुनै संलग्नता नरहेको खुलेपछि रिहा गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय एसएसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए ।   

हत्या आरोपमा प्रहरीले सिन्धुपाल्चोकका सञ्जय भण्डारीलाई पक्राउ गरेर आजै सार्वजनिक गरेको थियो । शुक्रबार राति तीनकुनेको दिव्य सःमिलमा नवीन राईसहित ४ जनाको धारिलो हतियार प्रहारबाट हत्या भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप