शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका कमजोर बनाउने प्रावधान सच्याउन इप्पानको माग

आइतबार, ३१ भदौ २०८०, १५ : ३५
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले सरकारले संसदमा पेश गरेको विद्युत् विधेयक, २०८० मा विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका कमजोर पार्ने प्रावधानहरु रहेको भन्दै सच्याउन माग गरेको छ ।  

आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गदै इप्पानले सरकारले संसदमा पेश गरेको विद्युत् सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विद्युत् विधेयक,२०८० मा विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका कमजोर बनाउने खालका ऐनहरु संशोधन गर्न सरकारसँग माग गरेको हो । 

इप्पानले सरकारले संसदमा पेश गरेको विद्युत् विधेयक,२०८०मा विद्युत् उत्पादनमा निजी क्षेत्रको भूमिका कमजोर पार्ने खालका प्रावधानहरु रहेको आरोप लगाएको छ । इप्पानले विद्युत् विधेयक, २०८० को परिच्छेद–६, दफा ३१ को उपदफा १, २, ३ र ४ ले विद्युत् वितरण तथा ग्राहक सेवाको अनुमतिपत्र जारी गर्ने विषयको भने स्वागत गरेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै इप्पानका महासचिव बलराम खतिवडाले विद्युत् विधेयक २०८० आउँदा निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोल्ने र विद्युत् उत्पादनमा जसरी नै विद्युत् निर्यातमा बिटुबी निर्यात गर्न सकिने बताए । उनले सरकारले विद्युत् विधेयक ल्याउँदा संघीयताको मर्म अनुसारका सिद्धान्त अवलम्बन गर्दै विद्युत् ऐन, २०४९ मा रहेका सकारात्मक पक्षको निरन्तरता र कमजोरीहरुको निराकरण गर्ने अभिप्रायले ल्याउन आवश्यक रहेको बताए । उनले नेपालमा ऊर्जा उत्पादनमा निजी क्षेत्रले प्रवेश पाएको तीन दशकको अवधिमा लगभग ७० प्रतिशत हिस्सा पुर्याउन सफल निजी ऊर्जा उत्पादकहरुलाई सरकारले एकपटक पनि औपचारिक छलफल नगरी विधेयक ल्याएको बताए । 

महासचिव खतिवडाले विद्युत् विधेयक, २०८०  विद्युत् उत्पादन अनुमति पत्रको अवधि यो ऐन जारी हुनुभन्दा अगाडि अवधि तोकी जारी भएका अनुमति पत्रको हकमा सोही अनुमति पत्रमा उल्लेखित अवधि भन्ने व्यवस्थाको सट्टा विद्युत् ऐन, २०८० जारी भएपश्चात विद्युत् ऐन, २०४९ अनुसार जारी गरिएका सम्पूर्ण अनुमतिपत्रहरु विद्युत् ऐन, २०८० अनुसार नै लागू हुने व्यवस्था गर्न माग गरे । 

महासचिव खतिवडाले विद्युत् ऐन, २०४९ सालको आधारमा अनुमति पत्र लिएका हौँ र हाम्रो अनुमति पत्रको शर्तमा नै अनुमति पत्रको म्याद सकिनु एक वर्ष अगाडि ऐन अनुसार म्याद थपको प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले यस्तो व्यवस्था गर्नुपर्ने बताए । उनले आर्थिक आधारमा निःशुल्क दिइने शेयर, निःशुल्क दिइने विद्युत् ऊर्जा, अग्रिम रुपमा एकमुस्ट बुझाउन कबुल गरेको रकम, वार्षिक किस्ताबन्दी रुपमा बुझाउन कबोल गरेको रकम र विद्युतको महसुल दरका अाधारमा प्रतिष्पर्धाबाट अनुमतिपत्र दिने भन्ने व्यवस्था हटाई सबैलाई समान ढंगले प्रतिष्पर्धाको वातावरण बनाउन माग गरे । 

इप्पानका अध्यक्ष गणेश कार्कीले विद्युत् प्राधिकरणको अहिलेकै जनशक्तिले धेरै विद्युत् आयोजनाहरुको अध्ययन र डिजाइन गरेर समयमा जलविद्युत आयोजनाको पहिचान तथा विकास गर्न नसक्ने बताए । उनले निजी क्षेत्र आफैँले आयोजनाहरुको पहिचान गरी निर्माण गर्दा कति रकमसम्म बनाउन सकिन्छ भन्ने यकिन गर्न सकिने भएकाले जलविद्युत आयोजनाहरुको निजी क्षेत्र आफैँले पहिचान गरी विकास गर्न पाउने व्यवस्थाको माग गरिएको बताए । उनले पाँच वर्षसम्म पीपीए नभएको तर अगाडिदेखि लाइसेन्स लिएर बसेकाको पनि पाँच वर्ष पूरा भएका आयोजनाहरु अगाडि बढ्न नसकेको बताए । उनले सरकारले जलविद्युत उत्पादनको लागि पहिचान गर्दा राम्रा–राम्रा आयोजनाहरु आफैँ राख्ने र आर्थिक स्रोत सुनिश्चितता नभएका आयोजनाहरु मात्रै निजी क्षेत्रसँग टेण्डर गर्न खोजेको आरोप लगाए । 

इप्पानल सरकारले सुपर–६ आयोजनाहरु प्रतिष्पर्धाबाट निजी क्षेत्रलाई दिएको अभ्यासलाई हेर्दा प्रतिष्पर्धा गराउँदा मात्र विद्युत् उत्पादन छिटो हुन्छ भन्ने मान्यता गलत सावित भएको बताएको छ । विद्युत् उत्पादनमा खुल्ला प्रवेशको व्यवस्थाका कारणले निजी क्षेत्रले २५ वर्षमा गरेको योगदानका कारणले देश वर्षायाममा विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको बताएको छ । विद्युत् १५ वर्षपछिको रोयल्टी जडित क्षमतामा प्रतिकिलोवाट १ हजारमा २ सय रुपैयाँ वृद्धि गरेर १२ सय र प्रतियुनिट सरदर बिक्री मूल्यको १० प्रतिशतमा २ प्रतिशत वृद्धि गरेर १२ प्रतिशत पुर्याएको भन्दै साना अयोजनाहरुको सन्दर्भमा अहिलेको रोयल्टी घटाउन र ठूला आयोजनाहरुको हकमा साबिक अनुसार गर्न माग गरेको छ । विद्युत् उत्पादनको सर्भेक्षण अनुमति पत्र दिएका स्वदेशमा विद्युत् खपतहुने आयोजनाको हकमा विद्युत् वितरण संस्थाले खरिद दरमा प्रतिष्पर्धा गराई विद्युत् खरिद गर्नुपर्नेछ भन्ने व्यवस्था संसोधनको लागि माग गरेको छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप