नेतृत्व हस्तान्तरणमा ओलीले खोलेको ‘फायर’ : कसलाई पर्ला चिट्ठा ?
काठमाडौँ । ‘मेरो अनुपस्थिति अझै २० वर्ष हुँदैन । दोस्रो पटक प्रत्यारोपण गरेको किड्नीले राम्रोसँग काम गरिरहेको छ,’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा आफ्नो स्वास्थ्य अवस्थालाई जोड्दै भने, ‘म अझै २० वर्ष सक्रिय रहन्छु । यो भन्नुको मतलब म नेतृत्व ओगटेर बस्छु भन्ने होइन ।’
अध्यक्ष ओलीको यो अभिव्यक्तिसँगै नेकपा एमालेमा पुनः नेतृत्व हस्तान्तरणको बहस सुरु भएको छ । यसले एमालेका नेता कार्यकर्ताहरुमा एक हिसाबले हौसलासमेत थपिएको छ । तर स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ अध्यक्षले बोले पनि एमालेभित्र नेतृत्व हस्तान्तरणको औपचारिक बहस सुरु भई नसकेको दाबी गर्छन् ।
‘सधैँभरि एउटै नेतृत्व हुँदैन, यो सत्य कुरा हो । तर हाम्रो आम पार्टीपंक्तिभित्र नेक्स टर्मका लागि अर्को नेतृत्व सोचिएको छैन’, तामाङले भने, ‘११ औँ महाधिवेशनमा उहाँ (ओली) बाहेक अर्को नेतृत्व होला भन्ने दृष्टिकोण पार्टीमा छैन ।’ यद्यपि उनले नेतृत्व हस्तान्तरण केन्द्रीय अध्यक्षको मात्र नभएर अरु पदको पनि हुनसक्ने बताए ।
पूर्व राष्ट्रपति तथा एमालेको पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलिरहेका बेला ओलीको यो अभिव्यक्तिलाई कतिपयले भण्डारीको चाहनासँग समेत जोडेर विश्लेषण गरेका छन् ।
एमालेको एक पक्ष भण्डारीलाई एमालेमा ल्याउन सक्रिय रूपमा लागेको छ भने अर्को पक्षले भित्रभित्रै विरोध पनि गरिरहेको छ । एमाले अध्यक्ष ओलीलाई पार्टी नेतृत्वबाट हटाएर २०८४ सालको आमनिर्वाचनमा भण्डारीको नेतृत्वमा प्रतिस्पर्धा गर्ने योजना भण्डारी पक्षधरको छ । भण्डारीलाई पार्टीमा सक्रिय गराउन चाहनेहरूको बुझाइ अध्यक्ष ओलीको नेतृत्वमा २०७९ सालको आम निर्वाचनमा राम्रो नतिजा ल्याउन नसकेको भन्ने छ ।
तत्कालीन नेकपाको दुई तिहाइ नजिकको बहुमत जोगाउन ओली असफल भएको र उनकै नेतृत्वमा २०७९ सालको निर्वाचनमा प्रतिस्पर्धा गर्दा राम्रो नतिजा आउन नसकेको उनीहरूको बुझाइ छ ।
ओलीकै नेतृत्वमा २०८४ सालको निर्वाचनमा समेत राम्रो नतिजा ल्याउन नसकिने भएकाले त्यसअघि नै नेतृत्व फेर्नुपर्ने भन्दै भित्री कसरत भइरहे पनि अध्यक्ष ओलीका सामु या सार्वजनिक रुपमा कसैले यस्तो धारणा अभिव्यक्त गर्न सकेको अवस्था छैन ।
स्थायी कमिटी सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम अध्यक्ष ओलीले नेतृत्व हस्तान्तरणका लागि म यो विधिबाट अघि बढ्छु भनेर दिएको अभिव्यक्ति प्रस्ट भएको बताए । ‘योग्य व्यक्तिलाई लोकतान्त्रिक विधिबाट नेतृत्व हस्तान्तरण गरेर अघि बढ्छु भन्ने कुरा धेरै उच्चस्तरीय र राम्रो छ’, गौतमले भने ।
गौतमले नेतृत्व निर्माणको प्रक्रिया के हो भन्ने सन्दर्भमा अध्यक्षको अभिव्यक्ति आएको पनि बताए । ‘सैद्धान्तिक, वैचारिक हिसाबले लोकतान्त्रिक विधिबाट हुन्छ, त्यसका निम्ति मेरो अवधारणा यो हो भनेर अध्यक्षले भनेको हो’, उनले थप प्रस्ट पारे ।
अध्यक्ष ओलीको नेतृत्व हस्तान्तरणबारे आएको अभिव्यक्ति पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सहज हुनेगरी आएको हो ? भन्ने प्रश्नमा गौतमले त्यसबारे अहिले कुनै प्रसङ्ग र छलफल नै नभएको दाबी गरे ।
साथै उनले भण्डारी देशको दुईदुई पटक राष्ट्रको उच्च सम्मानित पद ‘राष्ट्रपति’को जिम्मेवारी पूरा गरिसकेको व्यक्तित्व भएकाले सक्रिय राजनीतिमा आउने कि नआउने भन्नेबारे उनी आफैँ प्रस्ट हुनुपर्ने धारणा राखे ।
‘यस विषयमा पहिलो निर्णय गर्ने उहाँ आफैँले हो । तर अहिले उहाँले त बोल्नुभएको छैन’, गौतमले भने, ‘उहाँले बोलेपछि बल्ल पार्टी बोल्ला ।’
उनले भण्डारी आफैँले निर्णय नगरी पार्टी बोल्ने कुरा टाढाको विषय भएको बताए । ‘यसलाई कसैले सार्वजनिक बहसको विषय बनाउने भन्दा पनि उहाँ आउने कि नआउने भनेर निर्णय गर्ने पहिलो अधिकार उहाँको हो’, उनले भने ।
गौतमले यसलाई माध्यम बनाएर छलफल गर्ने, विवादमा तान्ने अभ्यास गरेको हुनसक्ने भए पनि यति ठुलो सर्वोच्च पदमा पुगेको व्यक्तिले सबै आयाम हेरेर निर्णय गर्ने विषय भएको बताए ।
तर, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल अध्यक्ष ओलीको सक्रियता र नेतृत्व हस्तान्तरणबारे सार्वजनिक प्रसङ्गलाई सकारात्मक रुपमा लिनुपर्ने बताउँछन् ।
‘योग्य नेतृत्व त्यो हो, जसले आफू सक्रिय हुँदै योग्य व्यक्ति वा उत्तराधिकारीलाई नेतृत्व हस्तान्तरण गर्ने कुरा गर्नु अत्यन्त सकारात्मक हो’, वरिष्ठ उपाध्यक्ष पोखरेलको प्रतिक्रिया छ ।
अध्यक्ष ओलीले आफू राजनीतिमा सक्रिय रहँदै नेतृत्व सुम्पिने चाहना रहेको प्रस्ट बताएका छन् । जुन नेपालको राजनीतिक अभ्यासमा कमैमात्र प्रयोगमा आएको देखिन्छ ।
अध्यक्ष ओलीको यो अभिव्यक्तिलाई एमालेका युवा पुस्ताका नेताहरुले पनि सकारात्मक लिएका छन् । सक्रिय रहेकै बेला योग्य व्यक्तिलाई जिम्मेवारी सुम्पेर देश चलाउन सहयोग गर्ने ओलीको भनाइ सकारात्मक रहे पनि त्यसको कार्यान्वयन पक्ष कस्तो हुने भन्नेबारे अन्यौल कायमै छ ।
एमाले पोलिटव्युरो सदस्य ठाकुर गैरे अध्यक्ष ओलीको पछिल्लो अभिव्यक्ति प्रस्ट र सकारात्मक भएको बताउँछन् । ‘किनभने अध्यक्षले आफू २० वर्ष सक्रिय हुने र आफू सक्रिय रहँदानै नेतृत्व हस्तान्तरण गर्ने चाहना रहेको बताउनुभएको छ’, गैरेले भने, ‘पुरानो पुस्ताले आफ्नै अगाडि आफ्नै संरक्षकत्वमा अर्को पुस्ताले सफलतापूर्वक मुलुकको नेतृत्व गरेको देख्ने अपेक्षा गर्नु हाम्रोजस्तो मुलुकमा सुखद पक्ष हो ।’
तर यसको कार्यान्वयन कसरी र कहाँबाट सुरु हुन्छ ? त्यो फरक कुरा भएको गैरेको बुझाइ छ ।
‘किनभने हामीसँग राज्य सञ्चालन र पार्टी सञ्चालनको क्षेत्रमा दुई वटा पाटा छन् । त्यसैले यसको कार्यान्वयनको प्रक्रिया, वैधानिकता लगायतका कुरामा उहाँको थप व्याख्या आउला’, गैरेले भने । उनले एमालेमा अध्यक्ष ओलीपछि नेतृत्व गर्ने क्षमता राख्ने नेताहरु छैनन् भनेर गरिने टिप्पणीको पनि प्रतिवाद गरे ।
‘एमालेमा अध्यक्षपछि विकल्प छैन भन्ने कुरा म मान्दिनँ । एमालेमा नेतृत्व गर्नसक्ने क्षमता भएका धेरै नेता छन् । हामी जब सामूहिकतामा चल्ने र त्यस्तो नेतृत्व प्रणालीको विकास गर्छौँ भने कुनै व्यक्तिले चलाउने कुरा होइन, सबै मिलेर चलाउने हो’, उनले भने, ‘त्यसकारण कलेक्टिभ लिडरसिपको प्रक्रियाबाट चल्ने र वैधानिक व्यवस्थाबाट नेतृत्व चयनमा जाँदा एमालेमा नेतृत्व अभाव भन्ने होइन, प्रशस्त सम्भावना भएको नेताहरु हुनुहुन्छ ।’
उनले यसमा पनि अध्यक्षको अहिलेको सोचअनुसार चल्दा नयाँ नेतृत्व निर्माण गर्न झन् सहज, सरल र उचित प्रक्रियामा जान सकिने बताए ।
‘जहाँसम्म ७० वर्षेको कुरा छ, त्यो महाधिवेशनले नै फैसला गर्ने विषय भएकाले आवश्यकता अनुसार निर्णय हुँदै जाने हो’, गैरेले रातोपाटीसँग भने, ‘त्यसले आजको पार्टीको मुल नेतृत्व तहमा रहेका नेताहरुबिचमा राज्य सञ्चालन र पार्टी निर्माणको क्षेत्रमा एउटा सोचबाट अघि बढौँ भन्ने र सामूहिक सोचका साथ अघि बढ्नुपर्छ भनेर अघि बढ्यौँ भने उमेर वा संविधानका प्रावधानलगायतमा देखिएका विरोधाभासको पनि सही समाधान गर्न सकिन्छ ।’
नेकपा एमालेले ७० वर्षे उमेर हदलाई खुकुलो बनाएपछि अध्यक्ष ओली नै पुनः अध्यक्ष बन्ने बाटो खुलाएर अरुलाई अवसरबाट वञ्चित गर्न खोजिएको टिप्पणी भएका थिए ।
त्यसो त नेपालका राजनीतिक पार्टीहरुमा नेतृत्व हस्तान्तरणका कुनै सर्वस्वीकार्य विधि देखिँदैनन् । यद्यपि नेपालका राजनीतिक पार्टीहरुमा अहिलेसम्म सामान्यतया दुई प्रक्रिया प्रचलनमा देखिन्छन् । पहिलो, नयाँ विचार र कार्यक्रमलाई स्थापित गरेर । दोस्रो, कार्यकालको सीमितताको संस्थागत मापदण्ड लागु गरेर वा स्थापित नेतृत्वले पुस्तान्तरण गरेर ।
नयाँ विचार र कार्यक्रमको हकमा एमालेमै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादलाई लिन सकिन्छ भने कार्यकालको सीमिततामा कुनै पनि पार्टीले अहिलेसम्म ठोस नीति बनाइसकेका छैनन् । तर एमालेले दशौँ महाधिवेशन अघि ७० वर्षे उमेर हद लागु गर्ने निर्णय गरेर एउटा विधिको सुरुवात गरे पनि यो व्यवस्था बिचमै निलम्बन गरेकाले त्यसमा समेत प्रश्न उठिरहेको छ ।
वैचारिक र अनुशासित कार्यकर्ता पंक्ति भएको भनिएको एमालेमा बेलाबेला नेतृत्व हस्तान्तरणको चर्चा चले पनि त्यसका लागि ठोस विधि र प्रक्रिया बन्न भने सकेको छैन । जसले गर्दा यो पार्टीमा पनि अरु पार्टीमा जस्तै ‘धनवाद र डनवाद’ जस्ता गलत प्रवृत्ति मौलाएकोमा नेता कार्यकर्ता चिन्तित हुँदै आएका छन् ।
गुण्डागर्दी र गम्भीर अपराधमा संलग्न समेतलाई विभिन्न तहको नेतृत्वमा स्थापित गर्न शीर्ष तहकै नेताको प्रत्यक्ष भूमिका नहटेसम्म एमालेको धमिल्याएको छवि सङ्लिने र लामो योगदान गरेका अनुशासित कार्यकर्ताहरूमा बढेको निराशा आशामा बदलिने सम्भावना कमैमात्र देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बोटबाटै सुन्तला झर्न थालेपछि किसान चिन्तित
-
२४ वटा जङ्गली हात्तीले आतंक मच्चायो
-
पाल्पामा नयाँ उद्योग दर्ताभन्दा खारेजको सङ्ख्या धेरै
-
कांग्रेस सभापति देउवा आज धनुषा जाँदै
-
बागमतीमा मन्त्रालयका लागि भवन अभाव, भत्काउन तयारी गरिएको घरमा २ मन्त्रालय
-
प्रधानमन्त्रीले बोलाएको बैठकमा बाबुराम नजाने, सामाजिक सञ्जालबाटै दिए सुझाव