डाक्टरमाथि किन हुन्छ आक्रमण ?
काठमाडौँ । घटना नम्बर १ : हेटौंडास्थित सञ्चो अस्पतालका डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि बिरामीहरूको उपचार गरिरहेको अवस्थामा आक्रमण भयो । साउन २२ मा हेटौंडा, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधान सो अस्पतालमा उपचारका लागि आएका थिए । थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको दुई दिनपछि उनको मृत्यु भएको थियो । तर, रिफर गरिएको एक महिनापछि उपचारमा लापरबाही भएको भन्दै भदौ २७ मा मृतकका आफन्तले चिकित्सकमाथि कुटपिट गरे ।
घटना नम्बर २ : गुल्मी अस्पतालमा भदौ १२ मा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि चिकित्सकमाथि कुटपिट भयो । अर्घाखाँची, छत्रदेव गाउँपालिका–७ की ७ वर्षीय बालिका प्रशंसा मरासिनीको मृत्यु भएपछि अस्पताल प्रमुख डा राजेन्द्र जिसीमाथि एक समूहले कुटपिट गर्यो ।
घटना नम्बर ३ : मोरङको सुन्दरहरैंचा नगर अस्पतालका मेडिकल अधिकृत डा सन्दीप पोखरेलमाथि कुटपिट भयो । बूढीगंगा गाउँपालिका–७ का ३८ वर्षीय शुक्रराज माझीले भदौ २८ मा डा पोखरेलमाथि हातपात गरेका हुन् । उनी बुबालाई उपचार गराउन आएका थिए । उपचार नगरिदिएको भन्दै उनले डाक्टरमाथि आक्रमण गरेका थिए ।
घटना नम्बर ४ : ०७९ कात्तिक ६ गते गोरखा अस्पतालमा ड्युटीमा रहेका डाक्टर अविनाश पराजुलीमाथि बिरामीका आफन्तले हातपात गरेका थिए । स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेकी एक महिलाको रिपोर्टको विषयलाई लिएर ड्युटीमा खटिएका डाक्टर पराजुलीलाई उनका आफन्तले हातपात गरेका थिए ।
नेपालमा डाक्टर, नर्स अन्य स्वास्थ्यकर्मीमाथि आक्रमण भएका यी केही उदाहरणमात्र हुन् । यस्ता घटना बारम्बार प्रकाशमा आउने गरेका छन् । जनस्वास्थ्यविद् डा. शरद वन्तले यस्ता घटनालाई स्वास्थ्यकर्मीका पेसागत मुद्दाका रुपमा मात्रै नभएर मानव अधिकार सुरक्षाको मुद्दाका रुपमा पनि लिनुपर्ने बताए ।
हेटौंडामा हालै चिकित्सकमाथि भएको आक्रमण सिधा अपराध भएको उनको जिकिर छ । बिरामीको मृत्यु भएको एक महिनापछि रिफर गरिदिएको अस्पतालमा पुगेर बिरामीका आफन्तहरूले जे जस्तो व्यवहार गरे, त्यो क्षम्य नभएको उनले बताए ।
स्वास्थ्यकर्मीले स्वास्थ्य उपचारमा लापरबाही गरेको खण्डमा प्रमाण संकलन गरेर बिरामी र तिनका आफन्तले विधिसम्मत् ढंगले कारबाहीको माग गर्नुको साटो स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नु दुखद् भएको वन्त बताउँछन् ।
यस्तै ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनीले स्वास्थ्यकर्मीको कमजोरी भएमा उनीहरुलाई अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउन सकिने बताए । तर विधिसम्मत् बाटो नअपनाइ चिकित्सकमाथि हातपात गर्नेलाई कानुनी कठघरामा उभ्याउनुको विकल्प भएको उनको भनाइ छ ।
डाक्टर, नर्स र अन्य स्वास्थ्यकर्मीलाई आक्रमण गर्नेमाथि कारबाहीको व्यवस्था कानुनमा छ । तर उक्त कानुन कार्यान्वयन गर्न नसक्नु मुख्य कमजोरी भएको पूर्व निर्देशक डा. मरासिनी सुनाउँछन् ।
‘डाक्टर र बिरामीका आफन्तबिच कम्युनिकेसनको अभाव’
नेपालमा बिरामी, बिरामीका आफन्त र चिकित्सकबिच कम्युनिकेसन नहुने भएकाले बेलाबेला स्वास्थ्य क्षेत्र आलोचित हुने गरेको पूर्व निर्देशक डा. मरासिनी बताउँछन् । अस्पतालका स्वास्थ्यकर्मीले बिरामी र तिनका आफन्तलाई सही तरिकाले काउन्सिलिङ गर्न नसक्दाको परिणामस्वरुप स्वस्थ्यकर्मीमाथि आक्रमण हुने गरेको उनको जिकिर छ ।
डा. मरासिनी भन्छन्, ‘बिरामीसँग कसरी व्यवहार गर्ने, बिरामीलाई के–के कुरा जानकारी दिने र बिरामीका आफन्तलाई कसरी काउन्सिलिङ गर्ने भन्नेबारे कसैले ध्यान दिएका छैनन् ।’ कुनै शल्यक्रिया गर्नु परेमा त्यसको सफलता दर, कुनै जटिलता आउने सम्भावना र त्यस्तो जटिलता आउँदा अपनाउनुपर्ने उपचार पद्धति र जोखिमबारे बेलैमा बिरामीका आफन्तलाई चिकित्सकले थाहा दिनुपर्ने उनको भनाइ छ ।
जबसम्म चिकित्सा शास्त्रको पाठ्यक्रममा ‘कम्युनिकेसन इन म्यानेजिङ कोर्स’ अनिवार्य बनाइँदैन, तबसम्म नेपालमा बेलाबेलामा यस्तो खालका क्षम्य नहुने घटना तथा आलोचना स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीले खेप्नुपर्ने बाध्यता रहने उनी बताउँछन् ।
‘अमेरिकामा चिकित्सा शास्त्र अध्ययन गर्नेहरूलाई कम्युनिकेसन इन म्यानेजिङ कोर्स अनिवार्य रूपमा पढाइन्छ,’ डा. मरासिनीले भने, ‘नेपालमा डाक्टर, नर्सहरूलाई पर्याप्त मात्रा कम्युनिकेसनसम्बन्धी कोर्स अध्यापन नगराउँदा यस्ता समस्या उत्पन्न भएको हो ।’
मर्न लागेको बिरामी र उसका आफन्तसँग कसरी संवाद गर्ने, कसैलाई निको नहुने क्यान्सर भयो भने कसरी संवाद गर्ने, गम्भीर खालको बिरामी, निको हुने सम्भावना भएका÷नभएका बिरामीसँग कसरी सञ्चार गर्ने भन्ने कुरा पढाउन र सिकाउन आवश्यक भएको उनको भनाइ छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यस विषयलाई गम्भीर रूपमा लिनुपर्ने डा. मरासिनीले बताए । नेपालमा एकातिर स्वास्थ्यकर्मीले बिरामी र तिनका आफन्तलाई सही तरिकाले काउन्सिलिङ गर्न सक्दैनन् भने अर्कोतिर बिरामी र तिनका परिवारले कुरा नबुझिकन आवेशमा आउँदा स्वास्थ्य संस्था र स्वास्थ्यकर्मी माथि आक्रमण हुने उनी बताउँछन् ।
यस्तै, अस्पतालमा भर्ना गरेर राखेका बिरामीलाई समयमै डाक्टरले नहेरिदिँदा पनि आफन्तहरु रिसाएर आक्रमणमा उत्रिन सक्ने उनले सुनाए । यस्तोमा बिरामीको रोग पत्ता लागे नलागेको, बिरामी कस्तो अवस्थामा छ, कस्तो औषधि प्रयोग भइरहेको छ, अस्पतालमा कति समय राख्नुपर्छ भनेर पूर्ण रूपमा जानकारी दिन आवश्यक रहेको उनले बताए । भर्ना गरेका बिरामीको अवस्थाबारे कन्सल्ट्यान्ट डाक्टरले रामोसँग बिरामी वा परिवारका सदस्यलाई जानकारी दिएको खण्डमा त्यस्ता घटना कम हुने उनको भनाइ छ ।
जनस्वास्थ्यविद् शरद वन्त स्वास्थ्यकर्मीहरुको गलत मनसायबाट बिरामी मारमा परेको प्रमाणित भए नियमअनुसार कारबाहीको माग गर्न सुझाव दिन्छन् । तर, आवेशमा आई स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा क्षति पु¥याउनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको जिकिर छ ।
स्वास्थ्य सेवा प्रणालीमा सेवाग्राही र स्वास्थ्य सेवा प्रदायकबिचको कम्युनिकेसन ग्यापका कारण यस्ता घटना बारबार निम्तिने गरेको उनी बताउँछन् ।
‘बिरामीले आवश्यक सूचना प्राप्त गर्न सक्दैन । सेवा प्रदायक र सेवादायी बिचमा सहज रुपमा सञ्चार नहुँदा यस्ता खालका विकृति आएको हो,’ वन्तले भने, ‘अस्पतालहरूमा उपचारको प्रोटोकल बिरामी र उसका आफन्तले देख्ने गरी राखिँदैन । हरेक वार्डमा कुन रोग उपचार गरिन्छ, त्यसका लक्षणहरू के–के हुन्, उपचार विधि के–के हुन् भन्ने जानकारी दिने प्रणाली समेत नेपालमा छैन ।’
डा. वन्तका अनुसार एउटा चिकित्सकले कति चापमा बिरामीको उपचार गर्ने भन्नेबारे कुनै लेखाजोखा छैन । ‘जति जना बिरामी आए पनि चिकित्सकहरूले हेर्ने गर्छन् । समयको दबाबका कारण बिरामीसँग राम्रो सञ्चार गर्न सकिँदैन भनेर डाक्टरहरूले भन्न मिल्दैन,’ उनले भने, ‘यस्तोमा कुनै किसिमको एक्सक्युज हुँदैन । बिरामीले र उनका आफन्तले रोगबारे आवश्यक सूचना प्राप्त गर्नु उनीहरुको हक हो ।’
बिरामी र बिरामीका आफन्तले पनि नियममा आधारित रहेर अघि बढ्नुपर्ने वन्त बताउँछन् । ‘अस्पताल वा चिकित्सकको गल्ती भएमा अस्पतालको झ्याल ढोका फुटाउने, डाक्टर, नर्स कुट्ने सही होइन, विधिगत रुपबाट जानुपर्छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त