वूल्भ्सविरुद्ध लिभरपुलको कम्ब्याक
शनिबार, ३० भदौ २०८०, २० : १५

लण्डन । खेलको अन्त्यतिर दुई गोल गर्दै लिभरपुलले संघर्षरत वूल्भ्सविरुद्ध पुनरागामन गरेको छ । शनिबार भएको खेलमा लिभरपुल ३–१ गोलले विजयी बनेको हो ।
ह्वाङ ही चानले खेलको सातौँ मिनेटमा नै वुल्भ्सलाई अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको सुरुवातमा नै मोहमद शालाहको पासमा कोडी गाक्पोले खेल बराबरी गरे ।
८५ औँ मिनेटमा शालाहले पुनः एन्डी रोबर्टसनका लागि गोलको अवसर सिर्जना गरे । प्रिमियर लिगमा रोबर्टसनको यो २ सयौँ खेल थियो । इन्जुरी समयमा ह्युगो बुएनोले आत्मघाती गोल गरेपछि लिभरपुलले तीन अंक बटुल्न सफल रह्यो ।
५ खेलपछि लिभरपुलको १३ अंक रहेको छ । वूल्भ्सले भने समान खेलमा मात्र ३ अंक बटुलेको छ ।