बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कला

समूहगत कला प्रदर्शनीको रौनक ‘अमालगम’ र ‘हिमालयन आर्ट फेस्टिभल’

शनिबार, ३० भदौ २०८०, १६ : २२
शनिबार, ३० भदौ २०८०

गएको अगस्तको २४ देखि ३० सम्म सिद्धार्थ कला दीर्घामा ‘अमालगम’ शीर्षकको र जुलाई २७ देखि अगस्त २७ सम्म नेपाल आर्ट काउन्सिलमा हिमालयन आर्ट फेस्टिभल (प्रदर्शनी) गरियो । 

कलाका सबै विधा तथा उपविधा यी प्रदर्शनीमा समावेश भएका थिए । प्रदर्शित कलाका स्वभाव र प्रकृति चाहिँ समसामयिक कलाकै नजिक भएकाले लोककला वा परम्परागत कला पनि आधुनिक पारामै देखापरे । 

बिक्रीको सम्भावना बढी हुने हुँदा यी दुई कला दीर्घामा प्रदर्शनी गर्न धेरैले रहर गर्छन् । चित्रसँगै टाँसिएको ‘प्राइस ट्याग’मा एउटै चित्रको १८–२० लाख रुपैयाँ देख्दा भावकले जिब्रो काट्दै अगाडि बढेको दृश्य पनि यी कला प्रदर्शनीमा देख्न सकिन्छ । हामीकहाँ कला ग्यालरीहरू कलाको मूल्य कम राखिदिए हुन्थ्यो जस्तो गर्छन् भने कलाकारहरू बढी मूल्य राख्न चाहन्छन् । यसो हुँदा ग्यालरी र कलाकारबीच एक खालको जुहारी चल्दै आइरहेको छ । 

हिमालयन आर्ट फेस्टिभल

आर्ट काउन्सिलमा भएको ‘हिमालयन आर्ट फेस्टिभल’मा प्रदर्शित सबै कला अब्बल भने थिएनन् । अलि पुराना र वरिष्ठ कलाकारका धेरैपल्ट प्रदर्शन भइसकेका काम नै पुनः प्रदर्शनमा राखिएका छन् । धेरैपल्ट एउटै चित्र प्रदर्शन गरिहनु, भइरहनु राम्रो संस्कार होइन । नयाँ, कतै प्रदर्शन नभएको वा सजिलै अवलोकन गर्न नसकिने र मौलिक गुणस्तरका कलालाई नै भावक वा सङ्ग्रहकर्ताले अवलोकन गर्न चाहन्छन्, त्यसपछि मात्रै खरिदको कुरा अगाडि बढ्ने हो । यस्ता कला यस कला प्रदर्शनीमा कमै देखापरेका छन् । 

यो कला प्रदर्शनीको सबल पक्ष भनेको एउटा कला इतिहास बोकेका वयोवृद्ध कलाकार गोविन्द नारायण ज्यापु (जन्म ः सन् १९२६)को सम्पूर्ण जीवनी, कामलाई आकर्षण ढंगले प्रस्तुत गरिएको थियो । नेपाली परम्परागत मूर्तिकलालाई आधुनिक मूर्तिकलाको क्षेत्रमा पर्दापण गराउनेमध्ये एक प्रमुख कलाकारको रूपमा ज्यापुलाई चिनिन्छ । ९७ वसन्तमा हिँड्दै गरेका यी पाका कलाकार कला क्षेत्रमा सक्रिय देखिनु धेरै कलाकारका लागि प्रेरणा हो । 

IMG_20230122_125408

यस्तै, कला सिर्जनामा व्यस्त भइरहने युवा कलाकारका राम्रा र स्तरीय कला समेत यहाँ प्रदर्शनी भए, यसलाई अर्को सबल पक्ष मान्न सकिन्छ । अरुका कामभन्दा स्वभाव र रूपमा यिनीहरूका कला फरक देखिन्छन् । यी युवा कलाकारले नेपाली समसामयिक कलामा एउटा निश्चित धारलाई समातेर आ–आफ्नो पहिचान बनाइसकेका छन् ।

यी हरेकजसो कलाकारको कलागत आरोह–अवरोह निकै लामो छ । केही न केही गुणस्तरका काम गरिरहने युवा कलाकार भएको नाताले आम भावकका लागि यसपल्ट चाहिँ के नयाँ नौलो लिएर आए भन्ने हेर्ने चासो हुन्छ । 

रवीन्द्रले पारदर्शी खाली सिसैसिसाको बाकस बनाई यसमाथि हिमाल चढ्ने डोरीहरूको थुप्रो राखेर एउटा कलाको निर्माण गरेका छन् । दिवंगत आफ्नो साथी पर्वतारोहीलाई सम्झने अलिकति उपक्रम यसमा देखिन्छ । कोसिस गर्दागर्दा अर्का पर्वतारोही साथी सफल भएको स्मरण उनको यस इन्सस्टलेसन काममा आएको छ । 

यसपल्ट कैलाशले लमतन्न लामो तर शरीरबिनाको अचम्मको चित्र बनाएका छन् । लुगाफाटो मात्र बनाएर मान्छेको रूपले आजको राजनीतिज्ञ पहिचानको प्रत्याभूति दिन्छ । मात्र माला र खादा ओढेर बसेको देखिने त्यो मान्छे भित्रबाट खाली छ, वास्तवमा भन्ने हो भने त्यो मान्छे नै होइन, छैन ।

हरियो चिसो शीतल रङले बनाएको प्रवीण श्रेष्ठको मनमोहक समसामयिक दृश्यचित्र अर्को उत्कृष्ट काम हो । लयात्मक रूपमा बगेको नदी र बीचोबीच अजीव प्रकारले स्थापना र कल्पना गरिएका रुख, घर अनि मन्दिरलाई अनौठो किसिमले संयोजन गरिएको छ । नितान्त विपरीत रङले भावकको मन खिच्न प्रयत्न गर्नु दृश्यचित्रमा देखिएको सर्वथा नौलो प्रयोग पनि हो । 

यस्तै, मुना भडेलले परम्परागत वेशभूषालाई केन्द्रमा राखेर ‘सुपररियालिस्टिक’ शैलीमा सिर्जना गरेको कामलाई प्रदर्शनीको राखिएको थियो । 

बौद्ध देवी–देवतालाई अनेक टेक्चरले भरिभराउ गर्दा मुकेश श्रेष्ठका कला पारदर्शी, कोमल, मनमोहक ढंगको बनेका छन् । हल्का पहेँलो, सेतो र हरिया रङ सङ्गठित तथा सुशोभित भएको उनको काम साँच्चै लोभलाग्दो छ । लालित्यपूर्ण र दुरुस्त परम्परागत जस्तो देखिने यी चित्र समसामयिक चित्रमा रूपान्तरण हुँदा भावकलाई नौलो अनुभूत हुन्छ । नौलो प्रयोग अनि मौलिकताको प्रत्याभूति हुँदा झन् यसले सुनमा सुगन्ध थपेको अनुभूत हुन्छ । 

पब्लिक आर्टमा स्पष्ट स्थान बनाइसकेका युवा कलाकार हुन्, कैलाश श्रेष्ठ । अनेकौँ राजनीतिक, सामाजिक सवाललाई बहस र चर्चामा ल्याउने कलाकारको रूपमा पनि उनी चिनिन्छन् । यसपल्ट उनले लमतन्न लामो तर शरीरबिनाको अचम्मको चित्र बनाएका छन् । हुन त यही अवधारणा र प्रकृतिमा उनका कला सिरिज नै बनेको छ । लुगाफाटो मात्र बनाएर मान्छेको रूपले आजको राजनीतिज्ञ पहिचानको प्रत्याभूति दिन्छ । मात्र माला र खादा ओढेर बसेको देखिने त्यो मान्छे भित्रबाट खाली छ, वास्तवमा भन्ने हो भने त्यो मान्छे नै होइन, छैन । समसामयिक राजनीतिको अवस्थाको चित्रण अनि कलाकारले बनाएको रमाइलो प्यारोडीका साथ बनेको यो चित्र निकै उत्कृष्ट छ ।     

अलि पाका असीको दशकमा उदाएका कलाकारद्वय किरण मानन्धर र रागिनी उपाध्याय यसपल्ट अलग्ग शैली र रूपमा उदाएको देखिनु पनि यो कला प्रदर्शनीको उपलब्धि नै हो । किरण ठुल्ठुला आकर्षण तुलिकाघातसँग खेल्न रमाउँछन् । अमूर्तताको सौन्दर्यता, रङको माधुर्यता, मनमोहकतामाथि खेलिबस्ने यी कलाकार यसपल्ट भने अमूर्तता घेराभित्र लोकगाथाका साथ प्रस्तुत भएको देखिन्छ । भगवान् कृष्णले सिङ्गो पर्वतलाई कान्छीऔँलाले उचालेको परिदृश्यलाई प्रस्तुत गर्नु यो कला प्रदर्शनी आकर्षण चित्र पनि हो । 

यस्तै, मनीषलाल श्रेष्ठकोे पहेँलपुर–घन्टी पनि यो कला प्रदर्शनीको आकर्षण काम हो । उनले यस प्रकारका घन्टीहरू दुई दशकदेखि बनाउँदै आएका छन् । अहिले नेपाली समसामयिक कला क्षेत्रमा घन्टी भन्नेबित्तिकै उनै मनीषलाललाई सम्झने गरिन्छ । 

पछिल्लो समय खुर्सानीलाई मूल विषय बनाई कलाको सिरिज बनाउँदै आएकी सरिता डंगोल यसपालि पनि खुर्सानीको सिरिजका साथ देखा परेकी छन् । यसै विषयमा उनको थुप्रै एकल कला प्रदर्शनी समेत भइसकेको छ ।   

कहीँ कसैसँग नमिल्ने एक अलग्ग कलागत शैलीका साथ गतका कैयौँ दशकदेखि सक्रिय हुँदै आएका कलाकार चिराग वाङ्देलको काम यो प्रदर्शनीमा देख्न पाइयो । सरल, सहज काममा दत्तचित्त भइरहने चिराग कवि पनि हुन् । उनी अङ्ग्रेजीमा अति लोभलाग्दा कविता लेख्छन् । यसो हुँदा उनका कला एक अलग्ग प्रकारले संयोजित भएको देखिन्छ । चहकिलो सपाट विपरीत रङसँग खेल्न रुचाउने चिराग एकैजस्तो मुखाकृति तथा भावका साथ उदय हुँदा यसपालि उनका चित्रमा लोककलाको स्वभाव, शैली–प्रवृत्तिले यथेष्ट प्रभाव देखिन्छ । लोकगाथाको एउटा टुक्रा समाहित भएजस्तो पारामा उनको काम देखिएको छ । लोककला र परम्परागत कलाका थुप्रै विम्बलाई प्रयोग गर्ने यी कलाकारले यसपल्ट भने प्रतीकात्मक विम्बको रूपमा कमलको फूल (लोककलाको अभिन्न पात्र) समात्न भ्याएका छन् । कहीँकतै गन्तव्यमा हिँड्न खोजेजस्तो पारामा बनेका यसपल्टका उनका चित्रमा स्वैरकाल्पनिकता पनि भरपुर रूपमा गुथेको देखिन्छ । नीला, हरिया र सेता रङ अनि लयात्मक सशक्त रेखा खेलाएर चित्रलाई माधुर्यता प्रदान गर्नु उनको चित्रको मूल विशेषता देखिन्छ  । 

नेपाली समसामयिक कलामा स्थापित बनिसकेका अर्का कलाकार हुन्, पृथ्वी श्रेष्ठ । अलिकता स्वैरकाल्पनिकतामा कला बनाउन रुचाउने पृथ्वी सुरुको बेला (सन् २००३) देखि नै पफर्मेन्स कलामा निरन्तर काम गर्दै आएका छन् । यस विधामा संस्थागत रूपमै आफू अगुवा भई धेरै कलाकारलाई अभिपे्ररित पनि उनले गरे ।

कलाकार पृथ्वीले चित्रपटमा सपनामा डुबल्की मारेजस्तो भाकामा नीलो मुखाकृति बनाउँछन् । मुखाकृतिभन्दा ठूलो सग्लो माछालाई उनले महत्त्वपूर्ण मोटिफका रूपमा लिन्छन् अनि अनुहारमा आँखा भएर उदाएको देखाउँछन् । यस चित्रमा चित्रपटको सानो कुनाको भागमा विष्णु भगवान्को मत्स्य अवतारलाई स्थापित गरेको देखिन्छ । सँगसँगै पृष्ठभूमि निख्खर हरियो रङले भरिँदा सेता कागजका नाउँ, रकेटहरू चारैतिर मडारिरहेको समेत देखिन्छ । अनौठो जस्तो लाग्ने उनको यो चित्रले भावकलाई सपनामा कल्पना जोडिएको भान गराउँछ । यस चित्रको अवलोनक गर्दा भावकले स्वप्नमय संसारको गहिराइमा डुबुल्की मार्दाको आनन्दानुभूति गर्न सक्छन् । 

यस चित्रले माछाबाट भगवान् विष्णुले अवतार लिँदै गरेजस्तोे आभास समेत गराउँछ । स्पष्ट रूपमा भन्दा यो चित्र वर्तमान र परम्पराको एक प्रकारको द्वन्द्व नै हो । प्यारोडी, व्यंग्य अनि सामाजिक सवालसँग खेली बस्ने पृथ्वीलाई यसपल्ट मिथले लोभ्याएको देखिन्छ, मिथमा पनि उनले संस्कृति र संस्कारलाई जोडेका छन् । हरेकजसो मोटिफभित्र बाहिर टेक्चरहरूले भरिनु उनको आफ्नै पहिचान हो । झर्को नमानी बनेका अनेक बुट्टाले कलालाई एक प्रकारको सौन्दर्यता प्रदान गरिरहेको देखिन्छ । यो उनको कलागत विशेषता नै हो ।

अति विस्तारमा बुट्टाहरूसँग खेल्ने अनि युगल प्रेमीलाई आफ्ना कलाको मूल मोटिफको रूपमा समायोजन गर्ने सविता डंगोलले यसपल्ट पनि यी र यस्तै पात्रलाई छुटाएको देखिँदैन । घन्ट, फूल, पात अनि माछा आदि पात्र यसपल्टका उनका कलामा देखिएका छन् । मूलतः उनले डेकोरेटिभ फर्ममा चित्र संयोजन गरेकी छन्, यो फर्ममा काम गर्न कलाकारमा संयमता, धैर्यता, लगनशीलता आवश्यक हुन्छ । यसैमा उनको अलग्ग पहिचान समेत बन्न गएको छ । उनी पनि पर्फर्मेन्स कलाको स्थापित कलाकार हुन् । 

यस्तै, कृष्ण गोपालको सुपररियालिस्टिक वर्क साँच्चिकै अब्बल रूपमा देखापरेको छ । एउटा भाव, निश्चित मुद्रा र परम्परागत वेशभूषामा सजिएकी सुन्दर मलीन नेवार युवती आफैँमा हेरिरहँु जस्तो गरी चित्रमा उत्रेकी छन् । चित्रमाथि अर्को चित्र थपिने क्रममा भित्तामा टाँगिएका परम्परागत चित्र आदिले अलौकिक सौन्दर्यता र संस्कार कलात्मक ढंगले समायोजन भएको देखिन्छ । उनी दृष्टान्त चित्रमा माहिर पनि मानिन्छन् । 

कलाकार रोशन प्रधान मिथहरूलाई पुनव्र्याख्याका साथ प्रयोग गर्ने सजग र शक्तिशाली कलाकारको रूपमा चिनिन्छन् । उनले आजको समयसँग मिथलाई गाँस्दै नयाँ संरचना र स्वरूपमा चित्रित गर्छन् । यसपल्टको उनको चित्रमा मानवरूपी कछुवाको ढाडमाथि उग्र भैरवको अनौठो पोस्चर देखापरेको छ । एउटा कथाको परिकल्पना अनि यसलाई समसामयिक अवस्थासँग जोडेर प्रस्तुत भएको यो चित्रले थप अनेकौँ कथा भनिरहेको जस्तो देखिन्छ । 

मुखाकृतिभन्दा ठूलो सग्लो माछालाई उनले महत्त्वपूर्ण मोटिफका रूपमा लिन्छन् अनि अनुहारमा आँखा भएर उदाएको देखाउँछन् । यस चित्रमा चित्रपटको सानो कुनाको भागमा विष्णु भगवान्को मत्स्य अवतारलाई स्थापित गरेको देखिन्छ ।

यसपालि सङ्गी श्रेष्ठको कलागत ढाँचाले पनि थोरै कोल्टे फेरेको देखिएको छ । हल्का गाढा पहेँलो रङले पूर्णतः डोमिनेन्ट गरेको यसपल्टको आकारमूलक चित्रमा देवी–देवतालाई भित्र्याउँदै उनले मिथको प्रयोग गर्न पुगेकी छन् । मुखाकृति अजीव ढंगले प्रस्तुत गरे पनि अन्य शरीरलाई सग्लो पारेर प्रस्तुत गर्नु उनको यसपल्टको विशेषता हो । 

यसबाहेक यो कला प्रदर्शनीमा उल्लेख गर्नुपर्ने कलाकारका रूपमा मीना कायस्थ, सुरेश महर्जन, हरिओम मेहता, सन्ध्या सिलवाल, इसान परियार, राजन, कृष्ण लामा, गोपाल कलाप्रेमी, कुन्तीश्री आदि छन् । 

शक्तिशाली तुलिकाघात अनि आकर्षण रङसँग खेली अमूर्त चित्र बनाउने सागर मानन्धर मूर्तिकला लिएर देखापरेका छन् । यस्तै शशिकला तिवारीको काम देखिनु नै एउटा उपलब्धि हो । यसबाहेक एरिना ताम्राकार, आशा डंगोल, विनोद प्रधान, प्रमिला वज्राचार्य र  प्रदीप वज्राचार्य चाहिँ काष्ठमण्डपमा आबद्ध कलाकार भए । यी कलाकार स्वयं आयोजक हुन् । यी सबै कलाकारका चित्र आ–आफ्ना ठाउँमा राम्रै स्वरूपमा देखापरेका छन् । 

अमालगम

सिद्धार्थ कला दीर्घामा ‘अमालगम’ शीर्षकमा सामूहिक कलाकारका काम राखिएका थिए । नवयुवा कलाकार सोफिया महर्जनको काम फेब्रिकमाथिको स्टिचिङको रूपमा देखापरेको छ । अर्थात् कपडामाथि धागोले बुनेर बनाएको चित्र । विषय साधारण छ, चित्रपटभरि पाथीलाई मूल पात्रका रूपमा ल्याइएको छ । पाथीको औचित्यलाई केन्द्रमा राखेर खैरो, रातोपनको बुनोटमा बनेको उनको चित्र अब्बल देखिन्छ । 

यस्तै अञ्जली तामाङको ‘द कल्चरल म्याप’ शीर्षकको चित्र प्रदर्शनीको अर्को आकर्षणका रुपमा थियो । महिलाको अनुहारलाई नाक, मुख, आँखा केही पनि नराखी पहिचानको विम्बको रूपमा उभ्याइएको उनको चित्रमा जनजातिले प्रयोग गर्ने निश्चित प्रकारको पहिरन, वेशभूषा, गरगहनालाई विम्बको रूपमा प्रस्तुत गरिएको छ । अलग–अलग जातिले अलग–अलग स्थानमा लगाउने अलग प्रकारका गरगहना पनि पहिचानको द्योतक हुने गर्छ । यसो हुँदा यसैलाई कलाकारले पात्रको रूपमा उभ्याउने कोसिस गरेका देखिन्छ । गतका केही वर्षदेखि उठिरहेको समावेशीकरण मुद्दालाई उठान गर्नु पनि समसामयिक सन्दर्भ नै देखिन्छ । 

यसपालि मुुना भडेलले पनि वेशभूषालाई चित्रको केन्द्रमा पारेकी छन् । नेपाली अझ पूर्वीय कला दर्शनलाई प्रतीकका रूपमा उनले आफ्नो काममा समाहित गरेकी छन् । चित्रभित्र अर्को चित्र बनाएर प्रस्तुत गर्नु आफैँमा अनौठो सोच र संयोजन हो । उनको यो काम सुपर रियालिस्टिक शैलीमा उत्कृष्ट रुपमा देखिएको छ । यो उनको पुरानो काम पनि हो, निकैपटक प्रदर्शन पनि भइसकेको हो । तापनि यसले एक अर्थ र महत्त्व चाहिँ राखेकै देखिन्छ । 

IMG_20230827_115443

रवीन्द्र खनियाको ‘द मेटामोर्फोसिस अफ पावर’ नामक चित्र इचिङ (प्रिन्ट मेकिङ कला)को रूपमा देखापरेको छ । सेतो, कालो, खैरो रङको यो चित्र मान्छेले टाढा रहेको केही वस्तुमाथि राखेको आकांक्षाको विम्बको रूपमा देखापरेको छ । 

विनोद गिरीले परम्परागत चित्र ह्वाइट तारालाई रङ छर्केजस्तो टेक्चर प्रयोग गरी आधुनिक कला बनाउने प्रयास गरेका छन् । मौलिक र नेपालीपन देखाउने होडबाजीमा परम्परागत नेपाली कला समसामयिक प्रवृत्तितिर फर्कनु राम्रो वा नराम्रो हो, समयले नै बताउँला । तथापि यो उनको चित्र बडो आकर्षण ढंगबाट प्रस्तुत भएको देखिन्छ । 

सुजनवीर वज्राचार्यको अलि अनौठो संयोजन गरिएको काम पनि यहाँ प्रस्तुत गरिएको छ । उद्धवराज रिमालको ‘कन्फ्लिक्ट अफ थट’ पनि एक प्रकारका चित्रको रूपमा यहाँ हेर्न सकिन्छ । चन्द्रमणि मगरको ‘एक्लो इतिहास’ सानो तर आकर्षण ढंगले प्रस्तुत भएको देखिन्छ । 

पूजन खतिवडाको टुवार्डस स्पेस पनि कम घतलाग्दो छैन । सुरेश बस्नेतको सफोकेसन मार्मिक चित्रका रूपमा देखिन्छ । मिनी तामाङको ‘वेभ’ अनि सम्झना राजभण्डारीको भैरवको उडकट पनि प्रदर्शनी गरियो । 

पृथ्वी श्रेष्ठको आजको मानवको मास्क र अनि परम्परागत चित्र देवीदेवता आदि सम्हालेर बनाइएको अद्भूत चित्र पनि यहाँ प्रदर्शित गरिए । यस्तायस्तै अझ धेरै चित्र यो कला प्रदर्शनी प्रदर्शित गरिएका थिए । सबैको उल्लेख र चर्चा यो सानो आलेखमा सम्भव हुन सकेन । 

(लेखक मल्ल कलाकार र कला समीक्षक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुकेश मल्ल
मुकेश मल्ल
लेखकबाट थप