बुधबार, ०५ मङ्सिर २०८१
ताजा लोकप्रिय
लघुकथा

मोज

शनिबार, ३० भदौ २०८०, १३ : १०
शनिबार, ३० भदौ २०८०

“भाइ हालखबर ठिक छ ?” राती ट्रेनबाट कोठामा फर्कँदै गर्दा कुमार दाइ भेटिनु भयो ।

थकान र निद्राले पीडित आँखा ठुलो पार्ने प्रयास गर्दै मैले भने “ठिकै छ दाजु । हजुरलाई कस्तो छ ?” 

“के हुनु चलेकै छ । काम कस्तो छ आजभोलि ?” कुमार दाइले सोध्नु भयो । 

“अब त सजिलो छ भन्नु पर्ने होला नि दाजु । बानी पनि पर्दै गयो ।” मैले भने । उहाँ खिसिक्क हाँस्नु भयो । 

अर्को स्टपमा कुमार दाजु झर्नु भयो । म झर्ने ठाउँ आउन अझै आधा घण्टा थियो । आँखा चिम्लेर भए पनि आराम दिन खोजेँ । शरीर थकित थियो । 

“ट्रेनबाट ओर्लेपछि अस्तिजस्तै रक्सी खाएको मानेर प्रहरीले सोधखोज गर्ने हो कि ?” मनमा कुरा खेलिरहेको थियो । 

हातको मोबाइल बज्न थाल्यो । नेपालमा हुँदा सँगै काम गरेको साथीको फोन रहेछ । मेसेन्जर खोलेँ, “के छ खबर फोन पनि गर्दैनौ यार ?” उसले भन्यो । 

मैले नेपालको समय हेरेँ । दिउँसोको एक बज्दै थियो । “ समयको तालमेल नमिलेर हो । मैले पनि सम्झिरहेको छु यार तिमीलाई । भन के छ नयाँ खबर ? ।” मैले औपचारिकता निभाउँदै सोधेँ । 

“तिमीलाई पो मोज छ यार उता । हाम्रो के नयाँ हुनु । घरकाले हैरान बनाइसके तर भिसा लाग्दैन । के गरौँ ? ” उसले भन्यो । 

उसको क्याबिनमा कोही पसेजस्तै लाग्यो । चिया दिने मान्छे रहेछ । म यता आएपछि बैंकमा मेरो ब्रान्च म्यानेजरको पद उसले सम्हालेको पो रहेछ ।

पोखरा–७ मासबार, कास्की 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ढाकामोहन बराल
ढाकामोहन बराल
लेखकबाट थप