शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
निबन्ध

मृत्यु उत्सवमा ताण्डव नृत्य

शनिबार, ३० भदौ २०८०, १२ : ५१
शनिबार, ३० भदौ २०८०

यतिबेला म मेरै निबन्ध सङ्ग्रह ‘मृत्यु उत्सव’ मा आफूले लेखेका आफ्नै अनुभूतिहरू सम्झिरहेछु । मृत्युले हामी रुन्छौँ, रुवाबासी गर्छौ वा रुन पनि नसकी हिक्क हिक्क गर्छौँ । तर मृत्युले भने उत्सव मनाइरहेको हुन्छ । मृत्युले ताण्डव नृत्य गरिरहेको हुन्छ । सो सङ्ग्रहका अधिकांश मेरा निबन्धहरू यिनै र यस्तै आशय–अभिव्यक्तिमा आधारित छन् । हामी मृत्यु शोकमा व्याकुल बनेर छटपटी रहेको बेला मृत्यु उत्सवको ताण्डव नृत्य हुने गर्छ । 

आज निकै वर्ष अन्तरालपछि मेरा तिनै लेखनका अनुभूति सम्झिँदै अरू विस्तृत भावनामा बग्न मन लाग्यो । शोक र संवेदनाले मानिसलाई कति भावुक र स्तब्ध बनाउँछ कि यो कुरा भुक्तभोगीहरूलाई मात्रै थाहा हुन्छ । वास्तवमा प्रत्येक मृत्युमा आँसु बग्छ । हाँसोको अनिकाल लाग्छ । हामीले देख्दैनौँ, थाहा पत्तो पाउँदैनौँ । हाम्रै वरिपरि मृत्युले उत्सव मनाइरहेको हुन्छ । कुन बेला, कसलाई, कसरी मृत्युको मुखमा पारी लैजाऊँ भनी मृत्युले उत्सव मनाउन पर्खिरहेको हुन्छ ।

यो साता कति शोक मग्न समय । मौसम पनि कति रोइरहेथ्यो रातिदेखि । भाद्र २६ गते मङ्गलबारको बिहानै शुभ समाचारले सुखद सन्देश सम्प्रेषण गर्नुपर्ने थियो । तर अशुभ समाचारका दुःखद घटनाले सामाजिक सञ्जालले काम पाइहाले । बाँचुन्ज्याल तिनले कहिले गुणगान गाएका थिए र ? मरेपछिको तारिफले के गर्नु ? मृतक व्यक्तिलाई त्यसले मल्हमपट्टीको काम गर्न सक्दैन । 

मृतकलाई फूलमाता र अबिरले श्रद्धा गरेर मृत्युलाई मत्थर पार्न सकिँदैन । श्रद्धाञ्जलीका शब्दले के गर्छ र ! समवेदनाका शब्दले सहानुभूति कति दिन्छ र ! तैपनि हाम्रो चलन छँदैछ, श्रद्धाका फूल अर्पण गर्ने । समवेदनाका शब्द व्यक्त गर्ने । वास्तवमा यिनले खासमा केही गर्दैन तर हाम्रो मनोविज्ञान वा मानसिकता यसमै विश्वस्त छ कि यसले केही न केही गतिलै काम गर्छ ।

तथापि हाम्रो समाज यस्तै संस्कारले सुशोभित । अर्काको चियो चासोमा समय खर्चिन्छौँ र कसैको प्रगति देखिसहँदैनौँ । अनि कसैको मृत्युमा श्रद्धाञ्जली अर्पण गर्न तँछाड मछाड नै गर्छौँ । र, समवेदना व्यक्त गर्न हतारिन्छौँ ।

आज पनि त्यस्तै भयो । चिन्ने जान्नेले जे लेखे, धेरै लेखे । नचिन्नेहरूले पनि मनग्यै तारिफ गरेर लेखे । शोक अभिव्यक्ति पोखे । श्रद्धाञ्जलीको स्वाङ गरे । हुन त कसैको मरणमा श्रद्धा अर्पण गर्नु मानवीय स्वभाव हो । 

एउटा शालीन भव्य, सभ्य, मृदुभाषी, बौद्धिक साह्रै मिठासपूर्ण वाणीयुक्त सबैका प्रिय व्यक्ति । आँखैमा राख्दा पनि नबिझाउने मान्छे थिए सुवास नेम्वाङ । मनैमा राख्दा पनि नघोच्ने, नपोल्ने, नपिरोल्ने स्वभावका थिए । 

कथासँगै समालोचना र कवितामा अब्बल अनि सज्जन, असल मान्छे थिए राजेन्द्र पराजुली । भनिन्छ, यस्तै राम्रा र असल मान्छेलाई नै कालले पनि चाँडै लैजाँदो रहेछ । 

पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ र कथाकार राजेन्द्र पराजुलीको परमधाम गमनले उब्जाएका प्रश्नहरू धेरै छन् । नेम्वाङसँग मेरो कुनै चिनजान छैन । तर, २०६३ साल माघ ९ गते ‘साधना कला सम्मान’ मैले उहाँको हातबाट ग्रहण गर्ने अवसर पाएको थिएँ ।  

नेम्वाङले सम्मानपत्र दिँदै भन्नु भएको अझै सम्झन्छु– ‘तपाईंको नाम सुनेको हो । तर, युवा पो हुनु हुँदोरहेछ । मभन्दा जेठो ठानेको थिएँ । तर कान्छो पो हुनु हुँदोरहेछ तपाई ।’

वास्तवमा ‘समकालीन साहित्य’ पत्रिकामा दुई तीन पटक मेरो परिचयमा जन्म मिति २०२७ साल हुनुपर्नेमा २००७ साल भनेर छापिएको थियो । यो कुरा सिक्किम जाँदा समालोचक गुमानसिंह चाम्लिङले पनि भन्नुभएको थियो । 

झापाका झर्रो भाषाका अभियन्ता चूडामणि रेग्मीले पनि अचम्म मानेर ‘तपाईं त २००७ सालको मान्छे कसरी युवक देखिनु भयो ?’ भन्नु भएको थियो । सायद नेम्वाङज्यूले पनि सो पत्रिका पढेर थाहा पाउनु भएको हुन सक्छ ।

अश्रुपुरित नयनले आर्यघाटमा विदाइ गरेर फर्किएको क्षणलाई कति शुभचिन्तकहरूले शब्दमा सुस्केरा पोखे । र, शान्तिको कामना गरी  आत्मशान्ति महसुस गरे । कतिका भावुक भावना, कति चोट र कति खोटहरू, कति रिक्तता र शून्यता शब्दमा पोखिए, तस्बिरमा देखिए !

पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको निधनकै दिन २०६७ साल फागुन २० गते ऐतिहासिक उपन्यासका शिखर पुरुष डायमन शमशेर राणाको निधन ओझेलमा प¥यो । त्यसै गरी, अस्ति भदौ २६ गते राति सुवास नेम्बाङको निधनकै दिन बिहान साहित्यकार राजेन्द्र पराजुलीको निधनले पराजुलीको निधन ओझेलमा प¥यो  । 

२०५८ साल जेठ १९ गते राति राजदरबार हत्याकाण्ड  हुँदा प्रसिद्ध पौभा कलाकार सिद्धिमुनि शाक्यको मृत्युको समाचार नै आएन । 

समाचारमा पनि ठूलाबडाको मात्रै प्राथमिकता ? साहित्यकार न कुनै पार्टीको, न कुनै जातिको हुन्छ, ऊ त देश र जनताको हुन्छ ।

हुन त मृत्यु अवश्वयम्भावी छ । मृत्युलाई कसैले रोकेर रोक्न सक्दैन । कसैले बचाएर बचाउन सक्दैन । काल आएपछि वा मिति पुगेपछि कसैको केही लाग्दैन । कसैले छेकेर छेकिँदैन । लुकाएर लुकिँदैन । भगाएर कतै भागिजान सकिँदैन । यमराजले मृत्यु घोषणा गरेपछि स्वर्गलोकमा तात्तातै उपस्थित भइहाल्नुपर्छ । आफ्नो भन्ने सबै सारा कुराहरू छोडेर । फेरि कहिल्यै नफर्किने गरी । फेरि कसैसँग भेट हुनै नसक्ने गरी । कता जानुपर्छ, कहाँ पुग्नुपर्छ, के गर्नुपर्छ ? यी सबैको उत्तर आजसम्म कसैले पनि पाएका छैनन् ।

कसैको पनि मृत्यु असामयिक, अस्वाभाविक र आकस्मिक होला तर मृत्यु आफैँमा स्वाभाविक हो । मृत्यु आकस्मिक हो । मृत्यु असामयिक नै हो । परन्तु ९० वर्ष वा १०० वर्ष उमेरका मानिसको मृत्युलाई पनि हामी असामयिक दुःखद निधन भनी धकै नमानी निर्धक्क भनिदिन्छौँ । कहिले अप्रत्याशित निधनले अपूरणीय क्षति हुन गएको र यो क्षति पूरा हुन नसक्ने ठोकुवासमेत गर्न हामी पछि पर्दैनौँ ।

अज्ञात यात्रा, अनाम गन्तव्य मृत्युपछि । पराई को होलान्, आफन्त को रहलान् ? थाहा हुँदैन केही । माया ममता, घृणा, दोष अथवा लोभमोह आदि केही बाँकी रहँदैन मृत्युपश्चात् । सबै सिद्धिन्छन् मान्छेका अहम् । सबै रित्तिन्छन् मान्छेका चाहनाहरू ।

डाक्टर, बैद्य, धामी झाँक्रीको उपचारले कुनै काम गर्न सक्दैन । लाखौँ नगदले वा करोडौँ मायाले अथवा अर्बौँ सेवा शुश्रूषाले समेत मरणलाई जीवन दान दिएर सदासर्वदा जीवित कायम राख्न सक्दैन । कस्तै वैज्ञानिक, दार्शनिक, ज्योतिष विद्वानहरूले पनि मृत्युको समाधान गरी मानिसलाई अमर राख्न अहिलेसम्म सकेका छैनन् । 

धन सम्पत्ति, पैसाले बचाउन सक्दैन । नभए धनीमानीहरू सधैँ बाँचिरहने थिए । गरिबहरू मात्रै परिरहने थिए । औषधोपचार वा डाक्टरले बचाउने भनेको केही समयका लागि मात्र हो, सधैँलाई होइन ।

कसैको कति सकस जीवन कि बाँचेर पनि मरेको जस्तो । आफैँलाई कष्टको पराकाष्ठा । देख्ने, हेर्नेहरूलाई पनि गाह्रो हुन्छ । घिटी घिटी हुँदै पनि बाँच्नुपर्ने बाध्यता । मर्छु भनेर मर्न नसकिने । कोही बाँच्छु भनेर बाँच्न नसक्ने । कसैको माया, दया, पैसा, पदले पनि नबचाउने । 

मृत्युका लागि कुनै कारण चाहिँदैन । मृत्युका लागि कुनै समय हुँदैन । जन्म जस्तो मृत्युको कुनै मिति तोकिएको हुँदैन । मृत्यु भनेको जन्मपछि जुनसुकै बेला जहाँ पनि हुन सक्छ । कसैलाई उमेरले रोक्दैन । कसैलाई उमेरै नपुगी, कसैलाई रोगै नलागी मृत्युको शिकार हुनुपर्छ । अतः मृत्यु जहिले पनि, जहाँ पनि र जसको पछि पनि पछ्याइरहेकै हुन्छ ।

कसैको मरण यति गुमनाम हुन्छ कि मरेको र बाँचेको केही थाहै हुँदैन । कोही सधैँ बाँचिरहे हुन्थ्यो जस्तो लाग्छ । कसैलाई ‘कालले बिर्सेको’ भन्छौँ । कसैलाई ‘उमेर नै नपुगी कालले कति छिट्टै लगेको’ भनी चुक्चुकाउँछौँ । असल र खराब कर्मको मूल्याङ्कन त हामीले यहीँ गर्ने गरेका छौँ ।

मलामी बनेर मसानघाटमा पुग्दा प्रत्येक मानिस अतिशय भावुक र संवेदनशील हुन्छन् । चुपचाप टोल्हाउँछन् । बोल्न, हाँस्न र रमाउन मुस्किल हुन्छ तिनलाई । सारा ईष्र्या, लोभ, घृणा र स्वार्थका स्वभावहरू लास जलेका खरानीसँगै खरानी भएको ठानिन्छ । तर, घाटबाट फर्किएपछि पुनः उही अहम्, शङ्का, षड्यन्त्र, लोभमोह जस्ता अनेक थरीका अमानवीय दोषहरूको भारी बोक्न थाल्छौँ । 

अन्ततः तुरून्तै आफ्नो मृत्युलाई बिर्सन्छौँ र सधैँ बाँचिरहने घमण्डले जे गर्न नहुने, त्यही काम गर्न अग्रसर हुन्छौँ, भइरहेका छौँ ।

आखिर मृत्युलाई कसले जित्न सकेको छ र ? मृत्युसँग सबै सधैँ पराजित छन् । मृत्युलाई जितेर कोही विजयी बनेको इतिहास छैन । मृत्युबाट बाँचेर कोही अजर, अमर रहेको अभिलेख–प्रमाण छैन । हामी जतिसुकै निर्दयी र निष्ठुरी, कठोर र निरङ्कुश बने पनि जाने घाटै हो, हुने लासै हो । जीवन छउञ्जेलको मायाप्रेम, सद्भाव, शुभेच्छा र हार्दिक भावना नै मृत्युपछिको सम्झना हो । 

यद्यपि कोही–कोही मृत्युपछि पनि बाँचिरहन्छन् । जस्तै  देशका लागि प्राण बलिदान दिने सहिदहरू । असल काम गरेर समाज र राष्ट्रका लागि योगदान दिनेहरूलाई मरेर गएको वर्षाैसम्म पनि सम्झना र श्रद्धा गरिन्छ । उसको गुणगान गाइन्छ । असल कामको अनुसरण गर्ने जमर्को थालिन्छ ।

मृत्यु सबैको हुन्छ । मृत्यु सबैको एउटै हो । कसैको कालगतिले, कसैको अकालले हुन्छ । असाध्यै बिरामी भएर कसैको मरण बडो कष्टकर मृत्यु हुन्छ । कसैको बोल्दाबोल्दै, हिँड्दाहिँड्दै हुन्छ । 

कसैको मृत्युु निकै महँगो हुन्छ । उपचारमा घरजग्गा, श्रीसम्पत्ति नै स्वाहा भएर पनि जीवनले मृत्युलाई जित्न सक्दैन । मृत्यु वरण गरी परमधाम जानुपर्छ । कसैको मृत्यु अपत्यारिलो हुन्छ । फुस्स सास जान्छ ‘मरेको हो र’ भन्नै सकिन्न । पत्याउनै कठिन हुन्छ ।

कसैको मृत्युले सारालाई रूवाउँछ । कसैको मृत्यु अरूका लागि हाइसञ्चोको हुन्छ । कोही मृत्युसँग डराउनेहरू हुन्छन् । कोही मृत्युलाई अँगालेर आत्महत्या गर्न उद्धत रहन्छन् । कसैको मृत्युको कुनै कारण चाहिन्न । कसैको मृत्युुले अनेक कारण खोज्छ । आखिर मृत्यु भनेको मृत्यु नै हो । 

मरेपछि मृत लासलाई, मरेको मान्छेलाई जे भने पनि, जे गरे पनि हुन्छ । कसैको गाली र तारिफले केही गर्दैन । ऊ अर्कै जुनी, अर्कै संसारको अञ्जान ठाउँमा प्रस्थान भइसकेको हुन्छ । हामीसँग बाँकी रहने भनेको उसको नाम र काम मात्रै हो । हामी पनि भोलिका लागि नाम र कामले सम्झिने कार्यशैलीमा आफूलाई रूपान्तरण गरौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप