‘भोलि कोही नआउञ्जेल सम्म’ कविता सङ्ग्रहमा हराउँदा
काठमाडौँ । वरिष्ठ बालरोग विशेषज्ञ प्रा.डा. सिर्जना श्रेष्ठको नयाँ कविता संग्रह ‘भोलि कोही नआउञ्जेलसम्म’ भर्खरै बजारमा आएको छ । यसअघि उनका तीन कृति प्रकाशित भइसकेका छन् — ‘प्रश्न चिह्नदेखि पूर्णविरामसम्म’, ‘बादललाई के थाहा’ र ‘सिर्जना श्रेष्ठया चिनाख’ ।
भर्खरै सार्वजनिक ‘भोलि कोही नआउन्जेल सम्म’ कविता सङ्ग्रहमा ५० वटा कविता छन् । हरेक कविता मन छुने छन्, केही कविता मैले तीन–चारपटक दोहोर्याएर पढिसकेँ । त्यसमा समावेश भएको ‘गरिबीले जिस्काउँदै गर्दा’ शीर्षकको कविताले दुर्गम बस्तीबाट सहर पसेको एक व्यक्तिको आरोह–अवरोहलाई निकै मर्मस्पर्शी ढंगले प्रस्तुत गरेको छ ।
‘फोनको घण्टी’ शीर्षकको कवितामा उनले अहिलेको व्यस्त समय, घरबाट टाढा रहेका छोराछोरी, उनीहरूले किनिदिएको फोन अनि फोन आउने पर्खाइलाई चित्रित गरेकी छन् । यस्तै ‘धागो चुँडिनु भएन’ शीर्षकको कवितामा उनले सम्बन्धका आयामलाई अनेक विम्बमा ल्याएकी छन् । माया–प्रेमका उतारचढाव, समय क्रममा सम्बन्धमा आउने विभिन्न छाललाई कविले यस कवितामा समाहित गरेकी छन् । सम्बन्धको डोरीमा गाँठो नपर्ने होइन तर परेको गाँठोले डोरी चुँडाल्न हुँदैन भन्ने आशय उनको कवितामा आएको छ ।
यस्तै, उनले महिलाका कर्तव्यसँगै अधिकार र सशक्तीकरणको आवाज पनि आफ्ना कवितामा उनेकी छन् । एक महिलाका अनेक भूमिका छन् — घरमा श्रीमती, आमा, बुहारी आदि । यी सबै भूमिका निभाएर कार्यालय जिम्मेवारी वहन गर्न सहज छैन । अरूलाई महत्त्व दिँदादिँदै उनीहरू आफ्नै ख्याल गर्न बिर्सन पुग्छन् । ‘तिमी त कामकाजी महिला’ शीर्षकको कवितामार्फत उनले महिलामाथि विभेद अहिले पनि छ तर विभेद सह्य छैन भनेर प्रस्ट पारेकी छन् । यीलगायत यस्ता थुप्रै विषय यस कविता सङ्ग्रहमा समाविष्ट छन् ।
चिकित्सकजस्तो व्यस्त जीवनका बीच उनले साहित्यिक कृति लेख्न सकेको देख्दा धेरै साहित्यानुरागीलाई लोभ लाग्छ । साहित्यमा रुचि भएका तर आफ्नो फरक पेसाका कारण व्यस्त रहेर साहित्य सिर्जना गर्न नपाएकाहरूका लागि प्रा.डा. श्रेष्ठ प्रेरणाकी स्रोत हुन् ।
प्रा.डा. श्रेष्ठलाई मैले २०७४ सालदेखि चिन्दछु । डाक्टर पढ्नका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेरो नाम निस्कियो, २०७४ सालमा । त्यतिबेला प्रा.डा. श्रेष्ठ स्कुल अफ मेडिसिनकी डिन थिइन् । त्यतिबेला उनले कवितावाचन गरेको मैले सुनेको थिएँ । साहित्यप्रति मेरो सानैदेखि रुचि भएकाले उनले त्यतिबेला वाचन गरेको कवितालाई मैले ध्यान दिएर सुनेको थिएँ अर्थात् म मन्त्रमुग्ध भएको थिएँ । डाक्टर बन्ने भएपछि साहित्यप्रतिको मेरो मोह घट्दै गयो, समय दिन सकिएन । तर प्रा.डा. श्रेष्ठले आफ्नो पेसा र साहित्य कर्मलाई सँगसँगै अगाडि बढाएको देख्दा मलाई लोभ लागेको छ ।
उनको पेसागत जीवनको कुरा गर्दा — कक्षामा अध्यापन गराउँदा निकै सरल र स्पष्ट । यस्तै डिनको कार्यकालमा पनि हामी विद्यार्थीका मागलाई सजिलै सम्बोधन गरिदिने । यही गुण र स्वभावले होला, उनले समय मिलाउँदै साहित्य सिर्जना गर्न सकेकी छन् । नेपाली साहित्याकाशमा उनको छुट्टै पहिचान बनिसकेको छ ।
ओपिडीमा होस् या वार्डमा — बिरामीको सेवामा सधैँ तल्लीन हुँदा उनले मानिसको वास्तविक पीडालाई नजिकबाट नियालेकी छन् । यिनै अनुभवलाई लिएर उनले साहित्य सिर्जना गरेर होला, उनका कविताले जनमानसमा गहिरो छाप पुर्याउँछ ।
उनका कविता पढिरहँदा हरेक कवितामा मैले आफैँलाई पात्र सम्झिरहन्छु, सायद कविको अर्को सफलता यही हो । विषयवस्तुको गहिराइमा पुगेर उतारचढाव केलाउँदै यथार्थलाई मार्मिक ढंगले पस्केकाले उनका कविता सुन्दर र शक्तिशाली बनेका छन् ।
(लेखक हाल इन्टर्न डाक्टरका रूपमा पाटन अस्पतालमा कार्यरत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
-
स्थानीय तह उपनिर्वाचन हुने स्थानमा मंसिर १६ गते सार्वजनिक बिदा दिन सिफारिस
-
स्वर्णलक्ष्मीबाट पूर्व डीआईजी जोशीले १ करोड ३० लाख ऋण लिएको भेटियो
-
२७ करोडमा बिक्री भए ऋषभ पन्त, दिल्लीले ११ करोड ७५ लाखमा किन्यो मिचेल स्टार्कलाई
-
बागमती सरकारद्वारा १४ उद्यमी सम्मानित
-
सरकारी कामकाजको भाषा चाँडै लागु हुन्छ: मुख्यमन्त्री सिंह