पोखराका शिक्षक विद्यार्थीले हेरे ‘सरी मम’
काठमाडौँ । ‘सरी मम’ लागुऔषधविरुद्धको सन्देश दिने उद्देश्यले निर्माण भएको फिल्म हो । निर्माण युनिटले फिल्म जिल्ला जिल्लामा पुगेर त्यहाँको स्कुल र कलेजका विद्यार्थीमाझ प्रदर्शन गरिरहेको छ ।
यस्तैमा निर्माण युनिटले फिल्म भदौ महिनामा पोखराको विभिन्न स्कुलमा पुगेर विद्यार्थी तथा शिक्षकलाई देखाएको छ । स्कुल नजिक सिनेमा हल, पार्टी प्यालेस तथा विद्यालयमा रहेको हलमा फिल्म देखाइएको हो । यस्तो प्रदर्शनमा पोखराका विद्यार्थी र शिक्षक गर्दा ७ हजारभन्दा धेरैले फिल्म हेरेको निर्माण युनिटले जनाएको छ ।
अहिले धेरै युवा युवतीहरू लागूऔषध दुर्व्यसनमा फसिरहेका छन् । युवा युवतीलाई यो जालोबाट टाढा राख्न, समाजमा असल नागरिक भई बाच्न र सुन्दर भविष्य निर्माणको लागि प्रेरित गर्न फिल्मले टेवा पुग्ने निर्माता विनोद लामाले बताए ।
प्रदर्शनका क्रममा विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीले फिल्म अभिभावकको लागि पनि महत्त्वपूर्ण हुने भन्दै देखाउन माग गरेको विनोद लामाले बताए ।
फिल्म पोखरामा प्रदर्शनमा युनाईटेड क्लब पोखरा, हिसान, प्याब्सन, एन प्याब्सन, पोखरा महानगरपालिका शिक्षा महाशाखा लगायतको सहयोग गरेको थियो ।
लागुऔषधविरुद्धको कथामा बनेको फिल्मका निर्माता विनोद लामा र खेमराज अधिकारी हुन । नवीन बोगटीको निर्देशन रहेको फिल्ममा अभिनेता सरोज खनाल, सरिता लामिछाने, एलिस राई, प्रभात पल, आरबी कटुवाल, बसन्त राज कुँवर , बिहान श्रेष्ठ, युनिसा बजगाईँ, रेजिना मगर लगायतको अभिनय छ ।