शनिबार, ०१ मङ्सिर २०८१
ताजा लोकप्रिय
सुन तस्करी प्रकरण

दावासँग सीआईबीको ७१ सवाल : सुनको अवैध कारोबारमा इन्कार, नेतासँगको सम्बन्धमा भने पारिवारिक चिनजानमात्रै

एक लाखमा नेपाली नागरिकता किनेको स्वीकारोक्ति
शुक्रबार, २९ भदौ २०८०, २२ : ५९
शुक्रबार, २९ भदौ २०८०

काठमाडौँ । ६० किलो अवैध सुन तस्करी प्रकरणमा तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङसँग सीआइबीले ७१ वटा सवाल गरेको पाइएको छ । सीआइबीको अनुसन्धानमा दावाले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरेका छन् भने माओवादी केन्द्रका नेताहरु र पूर्व प्रहरी महानिरीक्षकसँगको सम्बन्धका बारेमा औपचारिक चिनजान मात्रै रहेको बताएका छन् ।

रातोपाटीलाई प्राप्त दावाको बयानमा उनले सुन तस्करीमा आफ्नो संलग्नता अस्वीकार गरे पनि चिनियाँ नागरिकहरुले एक किलो सुन बिक्री गर्न सके २० हजार रुपैयाँ प्राप्त हुने बताएका कारण आफूले पनि ग्राहक खोज्न सहयोग गरेको बयान दिएका छन् । दावाले केही चिनियाँ सुन तस्करसँग आफ्नो चिनजान भए पनि आफू भने सुन तस्करीमा संलग्न नरहेको बयान दिएका छन् ।

आफू होटल व्यवसायी भएको कारण आफ्नो होटलमा आउने चिनियाँ नागरिकहरुलाई कोठा उपलब्ध गराउने गरेको तर तस्करीसँग आफ्नो कुनै सरोकार नरहेको उनले बताएका छन् । अधिकारप्राप्त अधिकारीसमक्ष सीआइबीका अनुसन्धान अधिकृतले राखेको प्रश्नमा दावाले माओवादी केन्द्रका नेता वर्षमान पुन र पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनसँगको सम्बन्धमा पनि आफ्नो ससुराली रोल्पा भएका कारण पारिवारिक सम्बन्धमात्रै भएको बयान दिएका छन् ।

अनुसन्धानका क्रममा नेपालमा तपाइको व्यापार व्यवसाय के हो भनी सोधिएको प्रश्नमा दावाले आफ्नो श्रीमती अमला रोका र मञ्जिल श्रेष्ठको संयुक्त नाममा ठमेलमा होटल भियाना सञ्चालन गरिरहेको बताएका छन् । त्यसबाहेक चीनबाट आउने जडीबुटी व्यापारीलाई जडीबुटी मिलाइदिने काम गर्ने गरेको उनले बयान दिएका छन् ।

दावालाई ‘तपाई के–कुन उद्देश्यले के कुन भिषामा कहिलेदेखि नेपाल आउनु भएको हो ? नेपालमा के–कुन स्थानमा बस्नुहुन्छ, विस्तृतमा बताइदिनु भनी सोधिएको प्रश्नमा दावाले आफू भारतबाट शरणार्थीको रुपमा बेल्जियम गएर त्यहीँबाट नागरिकता र पासपोर्ट लिएको बताएका छन् । आफू तिब्बती शरणार्थी रहेको र पहिले स्वयम्भुको गुम्बामा बसेको पनि दावाले बयान दिएका छन् ।

दावाले आफ्नो बयानमा भनेका छन्–

‘म तिब्बतमा जन्मिई करिब १७ वर्षको उमेरमा सन् १९९९ मा तिब्बतीयन शरणार्थी भई नेपाल आई काठमाडौं जिल्ला स्वयम्भूको तिब्बतीयन शरणार्थी क्याम्पमा बस्दै आइरहेकोमा तिब्बतीयन शरणार्थी क्याम्पले भारतको हिमाञ्चल प्रदेशमा अध्ययनका लागि पठाएकोमा सन् २००३ मा +१२ अध्ययन सकाई पुनः नेपालमा आई स्वयम्भुमा कोठा खोजी बसी न्यूरोडमा ४०–५० जोर जुत्ता र जिन्स पाइन्ट खरिद गरी बसमा भारत गई भारतमा उक्त जुत्ता तथा पाइन्टहरु बिक्री गर्ने गरेको थिएँ । पछि बौद्धमा गई तीन वर्ष बसी जडीबुटीको खरिद बिक्री गर्ने काम गरेको थिएँ ।

सोही क्रममा सन् २००९ मा मेरो श्रीमती अमला रोका मगरसँग भेट भई चिनजान भएपछि हामीले बिहे गर्ने भनी नयाँ बसपार्कमा कोठामा बस्दै आएकोमा सन् २०११ मा म भारतमा गई भारतबाट शरणार्थीको रुपमा बेल्जियम गएको हुँ । सन् २०१३ मा बेल्जियमको ग्रीनकार्ड र राहदानी पाइसकेपछि सन् २०१३ मा बेल्जियम नागरिकको पर्यटक भिषामा नेपाल आएको हुँ ।

बेल्जियम जाने आउने गरेकोमा सन् २०१५ पछि पर्यटक र अध्ययन भिषामा नेपाल आई गोङ्गबुमा बस्दै आइरहेकोमा सन् २०२० मा कामनपा–२६, ठमेल ज्याठामा भियना होटल सञ्चालन गरी बस्दै आइरहेको छु । भिषा नवीकरणका लागि प्रत्येक पटक बेल्जियम जाने आउने गरेको छु । हाल म ६ महिनाको अध्ययन भिषामा रहेको छु । मेरो भिषाको म्याद सन् २०२४ को जनवरीसम्म रहेको छ । म हाल विश्व भाषा क्याम्पसमा नेपाली भाषा अध्ययन गरिराखेको छु ।’

अनुसन्धानको क्रममा दावाले काभ्रेपलाञ्चोक जिल्लाबाट निमा तामाङको नाममा नागरिकता लिएको पाइएको थियो । सुरुमा उक्त नागरिकताबारे आफूलाई जानकारी नभएको बताए पनि पछि भने एक लाख रुपैयाँ तिरेर नागरिकता लिएको बयान दिएका छन् ।

सीआइबीले आफ्नो सवालको ६६ नम्बर बुँदामा दावालाई नेपाली नागरिकता के कसरी प्राप्त गरेको हो भनी सोधेको थियो ।

जवाफमा दावाको जवाफ यस्तो थियो–

‘मैले आज भन्दा १५–१६ वर्ष भन्दा अगाडि चिनेको तिब्बतीयन नागरिक जिम्बा दोर्जे लामाले मलाई नेपाली नागरिकता बनाई मसँग सुरुमा ५० हजार र सो पश्चात ५० हजार गरी जम्मा एक लाख रुपैयाँ रकम र मेरो फोटो लिई गई जिल्ला प्रशासन कार्यालय, काभ्रेपलान्चोकबाट पेमा तामाङको छोरा निमा तामाङ भनी मेरो फोटो टाँस गरी नेपाली नागरिकता प्रमाणपत्र बनाई ल्याई मलाई दिएको हो । सो नागरिकता बनाउने समयमा म गएको थिइनँ । निज जिम्बा दोर्जे लामाले के कसरी बनाई ल्याए, मलाई थाहा भएन । यसरी नक्कली तथा किर्ते कागजातको आधारमा नेपाली नागरिकता लिनु कानुन विपरीतको कार्य हो । नेपाली राहदानी लिएको छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप