‘नेपाली मौलिक प्रकारको लोकतन्त्रबारे विश्व समुदायलाई भन्न पाउनु महत्त्वपूर्ण अवसर’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकामा जारी संयुक्त राष्ट्रसंघको ७८ औं महासभा र त्यसपछि हुने चीन भ्रमणबारे प्रतिनिधिसभामा जानकारी गराएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिक प्रकारको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र सम्मुन्नत नेपाल निर्माणको प्रयासका विषयलाई विश्व समुदाय समक्ष मुखरित गर्न पाउनुलाई महत्वपूर्ण अवसरको रुपमा लिएको बताएका छन् ।
उनले संयुक्त राष्ट्रसंघका महासचिवबाट महासभाका सम्बोधन गर्नका लागि निमन्त्रण प्राप्त भएको बताउँदै त्यसतर्फ भाद्र ३० गते नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रस्तान गर्ने बताएका छन् । उनले भने– ‘यसै वर्ष दिगो विकास, जलवायू परिवर्तन, विश्वव्यापी महामारीका कारण सिर्जित विश्व चुनौतीहरु, दिगो विकासका लक्ष्य हासिल गर्न वित्तिय प्रवन्ध लगायतका संयुक्त राष्ट्रसंघका मुलुकहरुका साझा चासो एवं सरोकारका विषयहरुमा गहन रुपमा छलफल हुने गरी साइडलाइनमा आयोजना हुने बैठकमा समेत सहभागी हुन मलाई निमन्त्रणा प्राप्त भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले अगाडि भने– ‘यसवर्षदेखि अल्पविकसित राष्ट्रहरुको अध्यक्षको हैसियतले नेपालले ४७ वटा देशको प्रतिनिधित्व गर्दै साझा चासोका विषयमा विभिन्न मञ्चमा धारणा राख्नुपर्ने जिम्मेवारीपनि हामीलाई आएको छ । यो सधै प्राप्त हुने अवसर हैन, विषेश कालखण्डमा प्राप्त हुने यो अवसर प्राप्त छ ।’
उनले चीनका प्रधानमन्त्री लि छियाङको मैत्रीपूर्ण निमन्त्रणमा चीनको औपचारिक भ्रमणमा जान लागेको बारेपनि जानकारी गराएका छन् ।