सभाध्यक्षमा सुवासको पहिचान : सभामुखबाट क–कसले रचे इतिहास ?
काठमाडौं । संविधानसभा अध्यक्ष तथा पूर्वसभामुख स्व.सुवासचन्द्र नेम्वाङको बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय झण्डा ओढाएर सम्मान गरे । पूर्वप्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्ट पार्टीको झण्डा ओढाएर बिदाइ गरे ।
नेम्वाङलाई अन्तिम श्रद्धाञ्जली दिन प्रधानमन्त्रीसहित पूर्वप्रधानमन्त्री, मन्त्री, विभिन्न दलका नेता, संवैधानिक निकाय, कुटनीतिक निकाय, परिवारजन, समर्थक, शुभचिन्तकहरू आर्यघाट पुगेका थिए । जीवनको उत्तरार्द्धसम्म वामपन्थी राजनीतिमा सक्रिय रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो । उनी एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेतासमेत थिए । उनको निधनसँगै एक युगको अन्त्य भएको छ ।
२००९ सालमा इलामको सुन्तलाबारीमा जन्मेका नेम्वाङ मनमोहन अधिकारी नेतृत्वको मन्त्रिपरिषद्मा कानुन, न्याय राज्यमन्त्री थिए । उनी इलाम–२ बाट २०५६, २०६४, २०७०, २०७४ र २०७९ को निर्वाचनमा विजयी भए । २०६२/६३ को दोस्रो जनआन्दोलनले २४० वर्ष लामो राजतन्त्र ढाल्यो । त्यसपछि पुनर्स्थापित संसदको सर्वसम्मत सभामुख बन्न उनी सफल भए । २०५६ मा कांग्रेसबाट सभामुख भएका तारानाथ रानाभाटले संघीयता र हिन्दु राष्ट्र खारेज गरेकोमा असहमति जनाउँदै पुनर्स्थापित संसदको सभामुख बन्न अस्वीकार गरेका थिए ।
विश्वमा एकमात्र हिन्दु राष्ट्र रहेको नेपालमा पहिचान मेट्न नहुने, सानो मुलुकमा खर्चिलो संघीयता आवश्यक नभएको भन्दै निर्णयमा पुनर्विचार गर्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादसँग रानाभाटले प्रस्ताव गरेका थिए । तर उनको प्रस्ताव गिरिजाले ठाडै अस्वीकार गरेका थिए ।
त्यसपछि संक्रमणकालीन अवस्थामा कांग्रेससहितको सहमतिमा २०६३ वैशाख ३० पहिलो पटक नेम्वाङ सभामुख भएका हुन् । अन्तरिम संविधान जारीपश्चात् उनी ३ माघमा पुनः सर्वसम्मत सभामुख बने । २०६४ मा पहिलो संविधानसभा निर्वाचन पश्चात् नेम्वाङ २०६५ साउन १२ तेस्रोपटक सभामुखको भूमिकासँगै संविधानसभा अध्यक्ष सर्वसम्मत बन्न सफल भए । २०७० फागुन ६ मा उनी फेरि संविधानसभा अध्यक्षमा निर्विरोध भए ।
पटक पटक गरी ९ वर्षसम्म सर्वसम्मत सभामुख÷अध्यक्ष भएर उनले सर्वमान्य र समान्वयकारी नेतृत्व क्षमता देखाउन सफल भए । विश्वमै विरलै हुने संविधानसभा नेपालमा दुई पटक भयो । दुवै पटक उनी निर्विरोध अध्यक्ष भएर इतिहास लेखाए । उनकै नेतृत्वामा २०७२ असोज ३ गते संविधान जारी भएको थियो । शालीन, समन्वयकारी, निर्भिक राजनीतिज्ञ नेम्वाङ अब सम्झनामा मात्र सीमित छन् ।
पूर्वसभामुखमध्ये कोही प्रधानमन्त्री, कोही राष्ट्रपति, कोही गुमनाम
२००७ सालको क्रान्तिपछि २०१५ सालमा पहिलोपटक संसदीय निर्वाचन भएको थियो । त्यतिबेला १०९ प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा कांग्रेसले दुई तिहाइ सिट जितेको थियो । बीपी कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । २०१६ जेठमा प्रतिनिधिसभाको पहिलो सभामुख कृष्णप्रसाद भट्टराई भए ।
यद्यपि राजा महेन्द्रले २०१७ साल पुस १ मा संसद विघटन गरी सत्ता आफ्नो हातमा लिएपछि लामो समय निर्वाचन भएन । सन्त, मिजासीला र सरल नेताका रूपमा परिचित भट्टराई २०४७ र २०५६ मा दुई पटक प्रधानमन्त्री भए । सभामुख भएका व्यक्ति मुलुकको २÷२ पटक कार्यकारी प्रधानमन्त्री भएर इतिहास लेखेका छन् ।
२०४६ को जनआन्दोलनले निरंकुश पञ्चायती व्यवस्था ढालेपछि २०४८ मा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले नै बहुमत ल्यायो । २०५ सिटमध्ये कांग्रेसले ११० सिट जितेको थियो । त्यतिबेला कांग्रेसबाट दमननाथ ढुंगाना सभामुख भए । तर कांग्रेसभित्रको आन्तरिक विवादलाई देखाएर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले तीन वर्ष नै नपुगी संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरे । २०५१ मा भएको निर्वाचनमा एमाले ८८ सिटसहित पहिलो दल बन्न सफल भयो भने कांग्रेस ८३ सिटमा खुम्चियो । निर्वाचनमा कांग्रेस पराजित भएसँगै निष्क्रिय देखिएका ढुंगाना मानव अधिकारवादीका नेताका रूपमा परिचित छन् ।
त्यतिबेला ठूलो दलको हैसियतले मनमोहन अधिकारीले अल्पमतकै सरकारको नेतृत्व गरे । त्यतिबेला कांग्रेसका रामचन्द्र पौडेल सभामुख निर्वाचित भए । उनी अहिले राष्ट्रपति छन् । सभामुख बनेर राष्ट्रपति भएको उनी पहिलो व्यक्ति हुन् ।
२०५६ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि कांग्रेसले बहुमत ल्यायो । २०५ सिटमध्ये कांग्रेसले १११ सिट जितेको थियो । त्यतिबेला कांग्रेसका तारानाथ रानाभाट सभामुख भए । देशभर माओवादी सशस्त्र द्वन्द्व बढिरहेको अवस्थामा २०५८ जेठ १९ गते दरबार हत्याकाण्डमा राजा वीरेन्द्रसहित वंशनास भएको थियो । वीरेन्द्रको वंशनासपछि राजा भएका ज्ञानेन्द्रले २०५९ असोज १८ गते सत्ता आफ्नो हातमा लिए ।
२०६१ मघ १९ गते ज्ञानेन्द्रले आफ्नै नेतृत्वमा मन्त्रिपरिषद गठन गरे । राजाले प्रजातान्त्रिक सरकार अपदस्थ गरी राज्यसत्ता आफ्नो हातमा लिएपछि तत्कालीन संसदवादी सात दल र विद्रोही माओवादीबिच २०६२ मंसिरमा १२ बुँदे सहमति भयो । त्यसकै बलमा २०६२÷६३ सालमा दोस्रो जनअन्दोलन सफल भएको थियो । यही संक्रमण कालमा नेम्वाङले आफ्नो नेतृत्व क्षमता प्रदर्शन गरी सबैको मन जित्न सफल भएका हुन् ।
नेम्वाङले २०७२ असोज ३ मा नयाँ संविधान बनेपछि पूर्वसहमति अनुसार सभामुख पद माओवादीलाई हस्तान्तरण गरे । एउटै व्यक्ति झण्डै १० वर्ष सभामुख र सभाध्यक्ष भएर उनले इतिहासमा नाम लेखाएका छन् । त्यसपछि माओवादी केन्द्रबाट ओनसरी घर्ती सभामुख भइन् । उनी नेपालको पहिलो महिला सभामुखको रूपमा इतिहासमा दर्ज छिन् । २०७० मा उनी संविधानसभा उपाध्यक्षसमेत थिइन् ।
२०७४ को निर्वाचनपछि वामपन्थी गठबन्धबाट केपी शर्मा ओली प्रधानमन्त्री भए । सभामुखमा कृष्णबहादुर महरा सर्वसम्मत निर्वाचित भए । तर संसदै एक कर्मचारीसँग यौन दुराचारको आरोप लागेपछि २०७६ असोजमा उनले पदबाट राजीनामा दिए भने केहीसमय जेल परे । त्यसपछि माओवादीबाटै अग्निप्रसाद सापकोटा सभामुख भए । नेपालको इतिहासमै एकै कार्यकालमा दुई पटक संसद विघटनको सामना गर्ने सभामुख सापकोटा भएका छन् । उनकै पालामा नेकपाभित्रको विवादलाई देखाएर तत्कालीन प्रधानमन्त्री ओलीले २ पटक संसद विघटन गरी मध्यावधि घोषणा गरेका थिए । यद्यपि दुवै विघटन सर्वोच्च अदालतले बदर गरेको थियो ।
२०७९ को निर्वाचनपछि एमालेका देवराज घिमिरे सभामुख भएका छन् । राजतन्त्र कालमा कांग्रेसबाट मात्र सभामुख भएकोमा गणतन्त्र स्थापनापछि अहिलेसम्म कम्युनिस्टबाट सभामुख भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जागरण सभाका नाममा शक्ति प्रदर्शन गर्दै एमाले
-
आजको दिन कुन राशिका लागि राम्रो ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना
-
नेपालमा ओमानी रियाल पनि खरिदबिक्री हुने, विदेश पुगेका नेपालीलाई राहत
-
के हो अक्युपञ्चर उपचार विधि ?, के छ महत्व ?
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?