बिहीबार, ११ पुस २०८१
ताजा लोकप्रिय

कालीगण्डकी करिडोरमा राति सवारीसाधन चलाउन रोक

शुक्रबार, २९ भदौ २०८०, ०७ : ४३
शुक्रबार, २९ भदौ २०८०

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित कालीगण्डकी करिडोरमा रातिको समयमा सवारीसाधन सञ्चालनमा प्रहरीले रोक लगाएको छ । निर्माणका क्रममा रहेकाले  जिल्लास्थित करिडोर खण्डमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपरासीपूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलका अनुसार करिडोर निर्माणको काम सम्पन्न भइनसकेकाले दुर्घटनाको जोखिम रहेका कारण रातिको समयमा यातायातकान साधन सञ्चालनमा रोक लगाइएको हो । 

नवलपुरमा कालीगण्डकी करिडोर करिब ८७ किलोमिटर लामो छ । यसमध्ये आधाजस्तो खण्डमा फोन सम्पर्कसमेत हुन नसक्ने भएकाले राति दुर्घटना भए उद्धारमा समेत समस्या हुने र यसले क्षति बढाउन सक्ने भएकाले सवारीसाधन सञ्चालनमा रोक लगाइएको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

“करिडोर निर्माणका चरणमा छ, पूरा भएको छैन । यसले दुर्घटनाको जोखिम बढाएको छ, राति उद्धारमा पनि कठिनाइ हुने गरेको छ”, उनले  भने । सञ्चारको पहुँच कम भएका क्षेत्रमा आवश्यक मात्रामा टावर जडान गर्ने विषयमा नेपाल टेलिकमसँग समन्वय भइरहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए । सञ्चारको पहुँच र करिडोर निर्माण सम्पन्न भएपछि मात्रै राति सवारीसाधन सञ्चालन  गरिने उनले बताए । 

निर्माणधीन कालीगण्डकी करिडोरको नवलपुर खण्डमा करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ । नवलपुरस्थित कालीगण्डकी करिडोरबाट जिल्लाका पहाडी क्षेत्रका लागि साना सवारीसाधन सञ्चालन हुने गर्छन् । यसबाहेक तनहुँका विभिन्न क्षेत्र, पाल्पा, स्याङ्जा र पोखराका लागि समेत सवारीसाधन सञ्चालन हुने गरेका छन् । नारायणगढ–गैँडाकोट हुँदै यस खण्डबाट विभिन्न क्षेत्रका लागि यातायातका साधन सञ्चालन हुने गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप