मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार : प्रधानमन्त्री

बिहीबार, २८ भदौ २०८०, १७ : ३६
बिहीबार, २८ भदौ २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार भएको बताएका छन् । खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरूसमत समाधान भएको उल्लेख गर्दै प्रधानमन्त्रीले सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध रहेको बताए । 

बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा १९ औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडीहरूको बिदाइ कार्यक्रममा प्रधानमन्त्रीले सबै खेलाडीलाई सफलताको शुभकामना दिए । 

‘मैले पटकपटक जोड दिएर भन्दै आएको छु, खेलकुद मात्र एउटा यस्तो क्षेत्र हो, जहाँ खेल कुटनीतिमार्फत् ठूलाठूला युद्ध र मानवसिर्जित विपत्तिहरू समाधान भएका छन्, ठूलठूला द्वन्द्व र सम्भावित नरसंहारहरू टरेका छन् । खेल कुटनीतिमार्फत् आपसी सहकार्य, विश्वास, विश्व एकता र पुनर्मिलनका आधार खडा भएका छन्’, प्रधानमन्त्रीले भने, ‘खेल क्षेत्रको विकास राष्ट्र विकासको महत्वपूर्ण आधार हो । नेपाल सरकार यस क्षेत्रसँग सम्बन्धित सम्पूर्ण नीतिहरूको प्रभावकारी कार्यान्वयन गर्न, अपर्याप्त नीतिहरू निर्माण गर्न र संस्थागत एवं संरचनागत विकासका साथै क्षमता अभिवृद्धि गर्न प्रतिवद्ध छ ।’  

त्यसका लागि खेल क्षेत्रमा लगानी वृद्धि गर्ने, खेलाडीहरूको आत्मस्वाभिमान, प्रोत्साहन, पुरस्कारका साथै वृत्तिविकासमा थप योगदान गर्ने, राज्यको भूमिकालाई थप प्रभावकारी र जिम्मेवार बनाउन सरकार प्रयत्नशील रहने प्रधानमन्त्रीले बताए ।  

सो अवसरमा प्रधानमन्त्रीले नेपालले मार्सल आर्टमा विगतमा राम्रो सफलता हासिल गरेको र यसपटक पनि राम्रो गर्नेछ भन्ने सरकारको विश्वास रहेको बताए । ‘पछिल्लो समय राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले राम्रो प्रदर्शन गरिरहेको छ, सफलता हासिल गरिरहेको छ । धेरै खेलहरूमा नेपाली खेलाडीहरूको राम्रो प्रस्तुति देखिएको छ’, खेलाडीलाई हौस्याउँदै प्रधानमन्त्रीले भने, ‘तपाईहरूको अथक मेहेनत र परिश्रम देख्दा म आफूलाई समेत गौरवको अनुभूति हुने गरेको छ । मलाई पूर्ण विश्वास छ– यसपटक तपाईहरूले थप राम्रो गर्नुहुनेछ, देशको गौरव र उचाइ बढाउनुहुनेछ ।’

खेलाडी छनोटका लागि तीन चरणको प्रक्रिया पूरा गरी अढाइ महिनादेखि बन्द प्रशिक्षण चलेको जानकारी आफूले पाएको प्रधानमन्त्रीले सो क्रममा बताए । यसकारण पनि यसपटक नेपालले राम्रो गर्ने विश्वास आफूमा रहेको उनको भनाइ थियो । आफूसँग प्रतियोगिता हेर्न चीन भ्रमणमा जान लागेको जानकारी दिँदै प्रधानमन्त्रीले त्यसले खेलाडीको मनोबल बढाउन र खेल कुटनीतिमा नेपालको भूमिका स्थापित गर्न सहयोग पुग्ने आफूले विश्वास लिएको बताए । 

सो अवसरमा प्रधानमन्त्रीले यसअघि घोषणा गरिएको पुरस्कार खेलाडीहरूले अझसम्म नपाएको गुनासोबारे जानकार रहेको भन्दै छिट्टै यो समस्या समाधान गरिने बताए । ‘तपाईहरूको मनोवल र वृत्ति विकासलाई सधैं प्राथमिकतामा राखिनेछ, त्यसमा विश्वस्त रहनेसमेत म तपाईहरूमा आग्रह गर्दछु’, प्रधानमन्त्रीले भने । 

यही असोज ६ गतेदेखि २१ गतेसम्म चीनको हाङ्झाओमा १९ औँ एसियाली खेलकुद प्रतियोगितामा आयोजना गरिएको छ ।  विश्वका ४५ देशको सहभागिता रहने प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा १२७ जना महिला र १२६ जना पुरूष गरी २५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ । नेपालबाट पहिलोपटक यति ठूलो संख्यामा खेलाडीहरु सहभागी हुन लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप