‘बुवा बित्दा आर्यघाटमा रुन नपाउने अभागी हो म’
मलाई लाग्छ, सबैका बुवा एक आदर्श पात्र हुन् । मेरो पथप्रदर्शक, मेरो प्रगतिको कारक, मेरो आइडल, मेरो सर्वश्व, मेरो पृथ्वी, मेरो ब्रह्माण्ड सबै थोक हो बुवा ।
मेरो बुवा लेफ्टिनेन्ट कर्नेल ध्रुवबहादुर केसी अहिले यो संसारमा हुनुहुन्न । तर पनि उहाँलाई म हरेक दिन सम्झन्छु, पानी चढाउँछु । मेरो लागि आजको यो बुवाको मुख हेर्ने दिन, सोह्र श्राद्ध र बुवाको पुण्यतिथि विशेष लाग्छ ।
किनभने यो दिनमा म बुवाको अन्य समय भन्दा धेरै सम्झना गर्छु । घरको कौशीमा बसेर ‘ए बुवा भनेर’ भनेर चिच्याएर बोलाउँछु । त्यसो गर्दा आत्मसन्तुष्टि मिल्छ ।
बुवालाई वर्षको एकदिन मात्र सम्झने परम्परा मलाई त्यति ठिक लाग्दैन । किनभने हामीले अभिभावकलाई सधैँ सम्झनुपर्छ जस्तो लाग्छ । त्यसैले, घर भित्रको बैठक कोठामै मैले बुवाआमाको मूर्ति बनाएर राखेको छु ।
म हरेक दिनको सुरुवात उहाँहरूको मूर्तिमा फूल चढाएर, धूप बालेर गर्छु । हरेक दिन बुवाको तस्बिरको पैतालामा शिर राखेर ढोगेपछि मात्र मेरो दिनको सुरुवात हुन्छ । हरेक दिन उहाँको पूजा नगरी चिया, पानी केही खान्न ।
मेरो लागि बुवा टिचरदेखि युनिभर्सिटी सबै थोक हुनुहुन्थ्यो । उहाँ समाजमा साहसी, निडर र निर्भीक अनि समाजसेवीको रूपमा चिनिनु हुन्थ्यो ।
सानोमा बुवाको महत्त्व नबुझ्दा, दसैँमा नयाँ लुगा ल्याउँदा, टुरमा जाँदा पैसा दिने बेलामा पैसा लिँदा बुवा नभए यो गर्न पाउँदिन थिए भन्ने लाग्थ्यो । बुवाले स्कुलको फिस तिरेको देख्दा, मेरो हरेक आवश्यकता पुरा गरेको देख्दा सानैदेखि मलाई बुवाको महत्त्व महसुस भएको थियो ।
भारी बोकाएर जानुभयो
बुवा मेरो लागि आदर्श मात्र होइन, ‘डन’ पनि हो । उहाँसँग म सानैदेखि डराउँथे । उहाँ आर्मीको व्यक्ति भएकाले जंगी स्वभावको हुनुहुन्थ्यो ।
म सानोमा धेरै चकचके र गल्ती गरिरहने खालको थिएँ । त्यसैले, बारम्बार बुवाको कुटाई खान्थे ।
तर, उहाँ एकदमै माया गर्ने र व्यवहारिक पनि भएकोले उत्तिकै सम्मान पनि थियो । उहाँमा एक अनौठो कला पनि थियो । कसैलाई हात उठाउनु भन्दा पहिले व्यङ्ग्य गरेर थर्काउनु हुन्थ्यो । अहिले मेरो जीवनको ठुलो अभाव भनेकै बुवाको कमी हो ।
मैले त्यस्तै ३५/३६ वर्षको उमेर बुवाको छहारी गुमाएँ । वृद्धावस्थामा उहाँको धेरै सेवा गरेँ । नुहाउने, नङ काट्ने, दाह्री काट्नेदेखि खाना खुवाउनेसम्म गर्थे । मैले त्यसरी उहाँको सेवा गर्दा रुनु हुन्थ्यो ।
‘किन यसरी रोएको बुवा ?’ भनेर सोध्थे ।
‘जुन बेला जे खाए पनि हुन्थ्यो, त्यो समय अभावले खान पाइएन । अहिले अभाव छैन तर रोगले केही खान मिल्दैन,’ उहाँ भन्नुहुन्थ्यो ।
मेरो जीवनमा ठुलो बज्रपात भएको दिन बुवा बित्नु भएको दिन हो । त्यो समय त आकाश नै तल खसेजस्तो महसुस भयो । यो संसारै शून्य भएझैँ भयो ।
घरको सारा जिम्मेवारी बुवाले नै उठाउँदै आउनु भएकोले घर व्यवहार कसरी चलाउने, छोराछोरीको फिस कसरी तिर्ने, मेरो घरको आवश्यकता कसरी पुरा गर्ने भनेर स्तब्ध भएँ ।
आमाले मलाई निकै सम्झाउनु भयो । त्यो दिन बुवाले मलाई ठुलो भारी बोकाएर जानु भएको महसुस गरे ।
बुवा बित्दा रुन पाइनँ
बुवा बित्दा आर्यघाटमा रुन नपाउने अभागी हो म । त्यो समय मह सञ्चारको ‘१५ गते’ भन्ने सिरियल अभिनय गरेर म कल्लु पात्रको रूपमा हिट भैसकेको थिएँ । बजारमा हिँड्दा मलाई मानिसले चिन्न थालेका थिए । कल्लु भनेर जिस्क्याउँथे ।
बुवाको शव आर्यघाटमा जल्दै थियो । मेरो कपालदेखि आँखी भौँसम्म खौरिएको थियो । त्यो समय मानिसहरु कल्लु भन्दै मलाई हेरेर हाँसे ।
एकातिर मेरो बुवाको लास जलिरहेको थियो, अर्काेतिर मलाई चिन्ने दर्शक मलाई कल्लु भन्दै जिस्काउँदै हाँस्दै थिए । त्यो समय बुवाको निधनमा मैले धक फुकाएर रुन समेत पाइनँ ।
जब काजकिरिया सकियो, त्यसको केही दिनपछि दक्षिणकालीको डाँडामा गएर तीन घन्टा बुवा र उहाँसँगका पल सम्झेर रोएँ ।
म सानैदेखि छुकछुके, नपढ्ने, चल्ने, सामान किन्न पठायो भने नाफा खाने खालको थिएँ । त्यस्तो क्रियाकलाप बुवालाई मनपर्दैन थियो ।
घरको कान्छो छोरो भएकाले बुवाले मेरो नाममा नेपाल बैंकमा खाता खोलेर एक लाख रुपैया मुद्दतीमा राखिदिनु भएको थियो । त्यो उहाँले दिएको सबैभन्दा ठुलो गिफ्ट थियो । त्यो दिन मैले आफूलाई जिन्दगीको सबैभन्दा धनी महसुस गरेको थिएँ ।
विवाह, अमेरिकाको भिसा लागेको लगायत मेरो जीवनमा धेरै थरिका खुसी आयो । तर, एक लाख रुपैया मुद्दतीमा राखिदिनु भएको त्यो दिन मेरो जिन्दगीकै खुशीको उत्कर्ष थियो ।
बुवाको कुनै सपना पुरा गरिनँ
मैले बुवाको एउटा पनि सपना पुरा गरिनँ । मलाई कर्नेल बनाउने बुवाको सपना थियो, मेरो भने कलाकारिता । उहाँको ईच्छा पूरा नगरेकाले बुवा मेरो बारेमा मेरो एउटा फुल फुट्यो भन्नुहुन्थ्यो ।
अहिले बुवा बाँच्नु भएको भए मेरो नामबाट बाटो बन्दा, चोकको नाम रहँदा, संसार घुम्दा, राजा, राष्ट्रपति, प्रधानमन्त्रीदेखि धेरैबाट सम्मान पाउँदा, मिडियामा नाम, फोटो छापिएर चर्चा हुँदा धेरै खुसी हुनुहुन्थ्यो होला ।
मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यसँग अमेरिका, क्यानडा गएको, केही मिडियामा अलिअलि समाचार आएको मात्र बुवाले देख्नुभयो । त्यो समय २५ प्रतिसतसम्म खुसी हुनुभएको थियो कि । उहाँले अहिले मेरो रगजग देख्नै पाउनु भएन ।
बुवा प्रायः दौरा सुरुवाल, कमिज सुरुवाल लगाउनुहुन्थ्यो । म अहिले कहिलेकाहीँ आफ्नो फेसबुक हेर्दा दौरा सुरुवाल लगाएको फोटोमा बुवाको रूप देख्छु ।
बुवाको एउटा कमिज सुरुवाल फिल्म, टेलिफिल्म, म्युजिक भिडियोदेखि विज्ञापनसम्म अभिनयमा धेरै प्रयोग गरेको छु । केही अघि मदकृष्ण श्रेष्ठ दाइको शब्द, संगीत रहेको ‘होला होला’ भन्ने गीतको भिडियो अभिनयमा मैले लगाएको बुवाको त्यही दौरा सुरुवाल हो ।
अहिले पनि बुवाको धेरै लुगा मैले सुरक्षित राखेको छु । अहिले एक्लोपन महसुस हुँदा बुवाका लुगा हेर्छु, उहाँको शिक्षा सम्झन्छु र घण्टौँसम्म एक्लै रुन्छु । रोएरै बुवाको अभाव तृप्त गराउँछु ।
बुवाको हीराको एउटा आँठी अझै मसँग छ । विवाह, पार्टी, भोज भतेरलगायत विशेष समारोहमा त्यो प्रयोग गर्छु ।
मलाई बुवाप्रति गर्व छ । किनभने उहाँ आफैमा गाउँको सिङ्गो ठेगाना पनि हुनुहुन्थ्यो । गाउँका कसैको चिठ्ठी आउँदा मेरो बुवाको नाम जोडेर फलानाको घर भन्दा यता, उता भनेर आउँथ्यो । बुवाले दुःख, सुख गरेर जोडेका केही सम्पत्ति छ । भगवान्को कृपाले त्यो अहिलेसम्म बेच्नु परेको छैन ।
वरिष्ठ हास्यकलाकार केसीसँग रातोपाटीकर्मी कुबेर गिरीले गरेको कुराकानीमा आधारित
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
मेयर बालेन एमालेविरुद्ध परिचालित छन् भन्ने पुष्टि भयो : महासचिव पोखरेल
-
बालेन शाहले एमालेसँग १ लाख भिख मागे : महेश बस्नेत
-
रवि र छविसहित १० जनाविरुद्ध फेरि पक्राउ पुर्जी जारी
-
रुसी आक्रमणको धम्कीपछि युक्रेनी संसदको बैठक स्थगित
-
अवरूद्ध कर्णाली राजमार्ग सञ्चालनमा
-
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइँदै