सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
स्मृतिमा रामराजाप्रसाद सिंह

गणतन्त्रका खातिर नारायणहिटी र सिंहदरबारमा बम प्रहार गर्ने योद्धा

बुधबार, २७ भदौ २०८०, २१ : ०९
बुधबार, २७ भदौ २०८०

नेपालमा शताब्दीऔँदेखि राजतन्त्रात्मक शासन व्यवस्था चलिआएको थियो । निरङ्कुश राजतन्त्र भएको देशमा प्रजातन्त्र सधैँ कमजोर र निरीह हुन्छ । किनभने प्रजातन्त्रलाई राजतन्त्रले सधैँ दबाबमा राख्छ । कुनै समय नेपालमा राजतन्त्र र प्रजातन्त्र एकअर्काका विरोधी नै थिए । २००७ सालको जनक्रान्तिद्वारा स्थापित प्रजातन्त्रलाई राजा महेन्द्रले सैन्यबलमा हरण गरेका थिए ।

उसो त, राजा त्रिभुवनले नै पनि प्रजातन्त्रका लागि तयार पारिएको अन्तरिम विधानलाई पटक पटक संशोधन गरी कार्यकारी, विधायिकी र न्यायिक अधिकार आफूमा निहित गरेका थिए । जनक्रान्तिको मुख्य उद्देश्य संविधान सभाको चुनाव थियो । त्यसलाई राजा त्रिभुवनले विभिन्न बहानामा टारे । उनको मृत्युपछि महेन्द्रले त संविधान सभाको चुनाव गराउनुको सट्टा २०१५ मा संसद्को चुनावको मिति घोषणा गरिदिए । 

संसदीय चुनावमा नेपाली कांग्रेसले अत्यधिक मत ल्यायो । उसले बहुमतको सरकारसमेत गठन गर्‍यो । बीपी कोइरालाको प्रधानमन्त्रित्वमा गठित सरकारले धमाधम प्रगतिशील काम गर्न थाल्यो । सामन्ती व्यवस्थालाई समाजवादी ढाँचामा ल्याउन विर्ता उन्मूलन, जमिनदारी उन्मूलन, भूमि सुधार, वनजङ्गलको राष्ट्रियकरण, सहकारी आन्दोलन जस्ता काममा तीव्रता दिन थाल्यो । नेपालको विदेशसँगको कूटनीति सम्बन्ध बढाउन थालियो । १८ महिनाभित्र नै कांग्रेसको सरकारले विकास र निर्माणको काम मा सफलता हासिल गर्दै गर्‍योए । यसरी प्रजातान्त्रिक सरकारको प्रगतिशील काम देखेर राजा महेन्द्रमा ईष्र्या र द्वेष उत्पन्न थाले । राजाले आफ्नो भूमिका ओझेलमा परेको अनुभव गर्न थाले । 

राजा महेन्द्रमा उब्जिएको राजशक्तिको आसक्तिले २०१७ साल पुस १ गते संसद्, सरकारलाई सैनिक शक्तिको बलमा विघटन गरी अन्त्यमा प्रजातन्त्र नै अपहरण गरे । शासन सत्ता आफूमा सीमित पारे । उनले जनक्रान्ति र जनअनुमोदित संसदीय प्रजातन्त्रलाई समाप्त पारे । निरङ्कुश राजतन्त्रले गर्दा मुलुकमा प्रजातन्त्रको संरक्षण र संवद्र्धन नहुने देखेर राजतन्त्रको उन्मूलन भए मात्र प्रजातन्त्र, लोकतन्त्र फस्टाउन सक्छ भन्ने निष्कर्षमा जनता पुगे । नेपालमा गणतन्त्रको स्थापना अपरिहार्य छ भनी रामराजाप्रसाद सिंह त्यसतर्फ अघि बढे । हुन त उनी भारतको बनारस हिन्दु युनिर्भसिटीमा अध्ययनरत रहँदा नै गणतन्त्रतिर लागिसकेका थिए । 

खासगरी २०१८ सालमा दुर्गानन्द झाले राजा महेन्द्रमाथि जनकपुरमा बम प्रहार गरेपछि उनलाई दिएको फाँसीको सजायले त रामराजालाई राजतन्त्रप्रति तीव्र घृणा बढेर गयो । राजाको त्यो जघन्य अपराधबारे बनारसबाट प्रकाशित हुने पत्रिकामा त्यसको विरोधमा लेख नै छपाएका थिए । दुर्गानन्द झाको फाँसीको सजायबारे लेखिएको त्यस लेखको सार थियो– ‘सहादतको बलिवेदीमा दुर्गानन्द झाले अमरत्व प्राप्त गर्नुभएको छ’ । त्यही साल पटनामा भारतीय कांग्रेस पार्टीको सम्मेलन भइरहेको थियो । त्यो मौका छोपेर रामराजाप्रसाद सिंह पटना पुगी नेपालमा गणतन्त्र र लोकतन्त्रको बहाली हुनुपर्छ भनेर पर्चा बाँडेका थिए । सो पर्चामा भारतीय कांग्रेस र सरकारले सहयोग र समर्थन गरिदिन अनुरोध गरेका थिए । यसरी भारतमा अध्ययन गरिरहेको बेलादेखि नै रामराजाप्रसाद सिंह नेपालमा गणतन्त्र र पूर्ण लोकतन्त्रको बहाली हुनुपर्छ भनी आन्दोलनरत थिए । 

भारतमा पढाइ सकिएपछि सिंहले नेपाल आएर सर्वोच्च अदालतमा वकालत गर्न थाले । २०२४ सालमा स्नातक क्षेत्रको चुनाव लडे । उनले त्यो उम्मेदवारी पञ्चायती व्यवस्था ढाल्नका लागि मात्र नभई निरङ्कुश राजतन्त्रका अन्त्यका लागि जनचेतना पनि जगाउनका लागि थियो । 

रामराजाप्रसाद सिंहले आफ्नो उम्मेदवारी किन र कसका लागि भनेर पर्चासमेत छपाएका थिए । उनले काठमाडौँको बत्तिसपुतलीमा पहिलो भाषण दिँदै गर्दा २०१७ सालमा राजा महेन्द्रबाट ‘कु’ भयो । त्यसको विरुद्ध कसरी लड्ने भन्ने चुनौती आइपर्‍यो । त्यसमा उनले भनेका थिए– यो अवस्थामा सबै चिज भताभुङ्ग पारेर जानुपर्छ । एउटा चिजलाई खत्तम गर्न सकिन्न भने कहिलेकहीँ हरेक चिजलाई खतम गरेर जानुपर्ने हुन्छ । यो स्थितिमा जनक्रान्तिको कुरा पनि आउँछ । त्यसका लागि क्रान्तिकारीहरू तयार हुनुपर्छ । 

चुनावी सभामा क्रान्तिकारी भाषण गर्दै हिँडेकाले पञ्चायती सरकार डराएर रामराजालाई गिरिफ्तार गर्‍यो, उम्मेदवारी नै रद्ध गरायो। ।

रामराजाप्रसाद सिंह चार बर्ष पछि २०२८ सालमा फेरी स्नातक क्षेत्रमै उम्मेदवार बने । एकदमै व्यवस्थित ढङ्गले चुनावी सभा सञ्चालन गर्न थाले । २०२४ सालको चुनावमा नै उनी चर्चित भइसकेकाले यो चुनावमा ठाउँ ठाउँमा जनताले भाषण गर्न बोलाउन थाले । उनले आक्रामक रूपमा भाषण गर्न थाले । पञ्चायती संविधानको विरोध मात्र होइन भाषणका व्रmममा उनले राजाको पनि विरोध गर्न थाले । पञ्चायतको दबदबा रहेको त्यो समयमा राजधानीमा नै दरबार अगाडि गएर विरोध गर्नु कम साहसका कुरा थिएन । 

विद्रोहको सिलसिलामा एक दिन त्रिभुवन विश्वविद्यालयको प्राङ्गणभित्र रहेको ‘सेडा’ ले एउटा कार्यव्रmमको आयोजना गरेको थियो । त्यसको प्रमुख पशुपति शमशेर राणा थिए । त्यस कार्यव्रmममा रामराजा बाबुलाई एउटा एक सपाट कमेन्टेटरका रूपमा बोलाइएको थियो । कानुन र संवैधानिक विषयमा छलफल र टिप्पणी गर्न त्यो कार्यव्रmमको आयोजना गरिएको थियो । उक्त कार्यव्रmममा काननुका विद्वानहरू कुसुम श्रेष्ठ, कृष्णप्रसाद पन्त लगायतको संयुक्त कार्यपत्र थियो । उनीहरूले प्रस्तुत गरेको कार्यपत्रको आशय यस्तो थियो– पञ्चायतकालीन संविधानको धारा १७ को कारणले हाम्रा मौलिक हक प्रतिबन्धित भएका छन् । त्यो धाराका कारण हामी मौलिक हकको उपभोग गर्न पाउँदैनौँ । अन्य धाराले त अधिकार दिएका छन् भन्ने उनीहरूको कार्यपत्रको आशा थियो । 

तर रामराजाप्रसादले संविधानको धारा १७ को कारणले मात्र हामीले मौलिक हक नपाएका होइनौँ भनेर विरोध गर्दै भनेका थिए– नैसर्गिक अधिकार एकअर्काका पूरक हुन्छन्, एउटा मौलिक अधिकार छ भने अरू मौलिक अधिकार पनि प्राप्त हुन्छन्, एउटा मौलिक अधिकार दिइएको छैन भने अरू मौलिक अधिकार पनि प्राप्त हुन सक्दैनन् । मौलिक हक एकअर्कामा गएर समाहित हुनुपर्छ । एकअर्काबाट निःसर्त हुनुपर्छ र एक अर्कामा गएर पूर्णता प्राप्त गर्छ ।

पञ्चायती संविधानमा मौलिक हक छैनन् । मानिस त्यसबेला मात्र मानिसका रूपमा बाँच्न सक्छ जुनबेला उसले प्राप्त गर्नुपर्ने हक पाएको हुन्छ । तर यो संविधानले नेपाली जनतालाई मौलिक हक दिएको छैन । यसले एउटा पनि नेपालीलाई जिउँदो बन्न दिएको छैन । राजनीतिक पार्टी खोल्ने हक नै यो संविधानले दिएको छैन भने अरू कुनै पनि अधिकार यसमा हुँदैन । त्यस कारण एउटा मौलिक हकलाई जहाँ अस्वीकार गरिन्छ त्यहाँ सबै मौलिक हक अस्वीकृत हुन पुग्छन् । यो संविधानले नेपालका सबै मौलिक हकलाई अस्वीकार गरेको छ ।

यसरी रामराजाप्रसाद सिंहले त्यो गोष्ठीमा बोल्दा सबै अलमल्ल परे । बैठकको प्रमुखको हैसियतले पशुपति शमशेरलाई झन अपठ्यारोमा परे । त्यसपछि उनले राजविराजमा गएर आमसभा गरे । उनको क्रान्तिकारी भाषण सुन्न गाउँ गाउँबाट हजारौँ जनता भेला भएका थिए । यो पञ्चायती व्यवस्था अराष्ट्रिय र असंवैधानिक व्यवस्था हो भनी गर्जिन थाल्दा तालीको गडगडाहट आएको थियो । तर प्रहरीहरू आएर घेरा हाली लाठी चार्ज गर्न थाले । रामराजासहित रामेश्वरप्रसाद सिंह, इन्द्रदेव सिंह, हिम्मत सिंह, खुसीलाल मण्डल, मधुकान्त सिंह लगायत थुपै जना घाइते भए । स्वयं पङ्क्तिकार पनि प्रहरीको लाठी खाएर बेहोस भएको थियो । सबै घाइतेलाई अस्पतालमा लगियो र प्राथमिक उपचार गरियो । कतिपय घाइतेलाई आफन्तले बोकेर घर लगे ।

यो घटनापछि पनि रामराजा बाबुले विराटनगर गएर भाषण गरे । विराटनगरमा नेपाल विद्यार्थी सङ्घले राम्रो व्यवस्था गरेको थियो । हामी राजविराजबाट नेविसङ्घका नेता–कार्यकर्ता पनि पुगेका थियौँ । विराटनगरको सन्सरीमाई स्थानको ठूलो चौरमा आमसभा भएको थियो । त्यहाँ रामराजा सिंहको निकै जोसिलो भाषण भयो ।

त्यहाँ उनको भाषणको सार यस्तो थियो– राजा रगतको होली खेलिराखेका छन् । अब रक्तक्रान्ति पनि नजिक आउँदै छ । यस्तै हुँदै जाने हो भने सशस्त्र क्रान्ति चाँडै हुन्छ । तर अहिले हाम्रो सङ्घर्षको चरण हो, अहिंसात्मक सङ्घर्षको । तर यस्तै हुँदै गयो भने नेपालका रूखमा बम, बारुद, बन्दुक र तरबार फल्ने छैन । यहाँका नदीमा पानी होइन रगतको भेल बग्ने छ । 

सिंहले यसरी क्रान्तिकारी भाषण गर्दा हजारौँ जनताले स्वागत गर्दै पर्रर ताली पिटेका थिए । त्यो देखेर प्रशासन निकै तर्सियो । पूर्वाञ्चलका प्रायः सबै जिल्ला प्रजातन्त्रवादीहरू त्यहाँ भेला भएका थिए । अनि स्थानीय प्रशासकले काठमाडौँमा खबर गरेपछि डीआईजी स्वयं हेलिकेप्टरमा आएर उनलाई पक्रिएर लगे ।

यसरी २०२८ मा रामराजाप्रसाद सिंह स्नातक क्षेत्रबाट निर्वाचित भई राष्ट्रिय पञ्चायत सदस्य भए । तर शपथ ग्रहण गर्न दिइएन । सुरक्षा काननु लगाएर नक्खु जेलमा वर्षौं राखे । जेलबाट छुटेर २०३६ सालमा जनमत सङ्ग्रहका लागि जिल्ला जिल्ला गएर क्रान्तिकारी भाषण गर्दै हिँडे । जनवादी मोर्चा गठन गरेर पूर्णकालीन राजनीतिमा होमिए । तर नेपालगन्जमा भाषण गदागर्र्दै वारेन्ट जारी भएपछि उनी भारतको पटनामा गएर बसे । त्यस क्रममा भारतका झारखण्ड, देहरादुनलगायत ठाउँमा गई कार्यकर्तालाई गुरिल्ला ट्रेनिङ दिए । विसं २०४२ मा काठमाडौँको नारायणहिटी राजदरबार, सिंहदरबार, अन्नपूर्ण होटल लगायतका ठाउँमा बम विस्फोट उनले नै गराए । यो राजतन्त्रका लागि निकै ठूलो चुनौती थियो ।

२०६२–६३ सालको दोस्रो जनआन्दोलनपछि गणतन्त्रको स्थापना भएपछि उनलाई माओवादीले राष्ट्रपतिको उम्मदेवार बनायो । तर अन्य पार्टीले खासगरी तत्कालिन मधेशी जना अधिकार फोरमले सहयोग नगर्दा पराजय भोग्नु प¥यो । यसरी निरङ्कुश राजतन्त्र र पञ्चायती व्यवस्थाको जगजगी भएको बेला गणतन्त्र नेपालको नारा लगाउनु ठूलो हिम्मत र साहसको काम थियो ।

नेपालमा गणतन्त्रको नारा लगाउँदै ‘म चुनाव होइन, क्रान्ति चाहन्छु, पद होइन, गणतन्त्र चाहन्छु’ भनी उनको उद्देश्यमा सहमत हुँ २०६५ जेठ १५ गते गणतन्त्र घोषणा भयो । उनको मृत्यु २०६९ साल भदौ २७ गते काठमाडौँमा भयो भने जन्म सप्तरीको कोइलाडी गाउँमा १९९२ असोज ३० गते भएको थियो । 

गणतन्त्रका प्रणेता रामराजाप्रसाद सिंहप्रति सतत नमन । राज्यले निर्माणाधीन संसद भवनमा रामराजाप्रसाद सिंहको संस्मरणमा पूर्णकदको शालिक बनाई उनको योगदानको कदर र सम्मान गर्नु पर्छ । यो नै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामनारायण देव
रामनारायण देव
लेखकबाट थप