शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सम्झनामा सुवास

पूर्वसभामुखहरूको नजरमा सुवास नेम्वाङ

मङ्गलबार, २६ भदौ २०८०, १९ : ५५
मङ्गलबार, २६ भदौ २०८०

काठमाडौँ । संविधानसभा अध्यक्ष एवं एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनबाट देशले एक अनुभवी, समन्वयकारी व्यक्तित्व गुमाएको छ । विद्यालयदेखि जीवनको उत्तरार्द्धसम्म वामपन्थी राजनीतिमा सक्रिय रहेका उनको मंगलबार बिहान ३  बजे ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।

आफ्नै निवास बालुवाटारमा बेहोस अवस्थामा भेटिएका उनलाई परिवारका सदस्यहरूले शिक्षण अस्पताल महाराजगञ्ज पुर्‍याएका थिए । तर चिकित्सकले उनी जीवित नरहेको घोषण गरे । नेम्वाङको निधनप्रति राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, विभिन्न राजनीतिक दलका नेताहरू लगायतले गहिरो दुःख व्यक्त गरेका छन् ।

नेपालको शान्ति प्रक्रिया, संविधान निर्माण, संसद् सञ्चालनमा नेम्वाङको नेतृत्वदायी र अतुलनीय भूमिका रहेको भन्दै सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ । नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने घोषणा पनि सरकारले  गरेको छ ।

नेम्वाङ ०६२/६३ को जनआन्दोलनपछि अन्तरिम संसद्को सभामुख, २०६४ र २०७० मा गरी २ पटक संविधानसभाको अध्यक्ष भएका थिए ।

शालीन, मिलनसार तथा सबैसँग मित्रवत् व्यवहार गर्ने स्वभावका उनी कानुन, संविधानमा पनि निकै दखल भएको व्यक्तित्व मानिन्छन् । साथै कुशल राजनीतिज्ञका रूपमा पनि नेम्वाङलाई नेताहरू सम्झिन्छन् ।

उनको निधनबाट यतिबेला देश नै शोकमा डुबेको छ । अस्पतालदेखि एमालेको पार्टी कार्यालय च्यासलसम्म शोक मनाउनेको भिड लागेको छ ।

नेम्वाङको निधनले मुलुकलाई पुगेको क्षति, उनको कार्यक्षमता, स्वभाव लगायत विषयमा रातोपाटीले पूर्वसभामुखहरूको धारणा लिएको छ ।

नेपालको संसदीय इतिहास २०१५ सालको निर्वाचनबाट प्रारम्भ भएको मानिन्छ । २०१६ पहिलो सभामुख कृष्णप्रसाद भट्टराई थिए । उनको निधन भइसकेको छ । तर २०१७ पुस १ गते राजा महेन्द्रले निर्वाचित सरकार र संसद् अपदस्त गरी निरंकुश पञ्चायती व्यवस्था लागु गरेपछि ३० वर्ष संसदीय निर्वाचन भएन ।

२०४६ को राजनीतिक आन्दोलनपछि २०४८ सालमा दोस्रो पटक प्रतिनिधिसभाको निर्वाचन भयो । त्यतिबेला दमननाथ ढुंगाना सभामुख निर्वाचित भए ।

ढुंगानाले नेम्वाङलाई एक संविधानवादी, नरम वामपन्थी नेताका रूपमा चित्रण गरेका छन् । नेम्वाङ प्रजातन्त्रका लागि धेरै उपयोगी मानिस रहेको ढुंगाना बताउँछन् । व्यवस्था परिवर्तनपछिको कठिन र सङ्क्रमणकालीन अवस्थामा नेम्वाङ संविधानसभा अध्यक्ष भएको स्मरण गर्दै ढुंगानाले नेम्वाङको भूमिका समन्वयकारी र नेतृत्वदायी भएको टिप्पणी गरे ।

‘उहाँ कठिन समयमा सभामुख र संविधानसभा अध्यक्ष बन्नुभयो । त्यतिबेला कांग्रेस, एमाले र माओवादीबिच आ–आफ्नै स्वार्थको लडाइँ थियो । त्यस्तो कठिन अवस्थामा उहाँले समन्वयकारी भूमिका निर्वाह गर्नुभयो । बढो कठिन समयमा काम राम्रो गर्नुभयो’, रातोपाटीसँग उनले भने, ‘सबैलाई विश्वासमा लिएर साझा एजेण्डा बनाएर लानुपर्ने अवस्थामा उहाँले नेतृत्वदायी भूमिका निर्वाह गर्नुभयो । त्यसैले उहाँ संविधानवादी, नरम वामपन्थी र प्रजातन्त्रका लागि काम लाग्ने व्यक्ति हुनुहुन्थ्यो ।’

एमालेजस्तो पटकपटक सत्ता र विपक्षी दलको भूमिका निर्वाह गरेको पार्टीको उपाध्यक्ष हुनुले पनि नेम्वाङ राजनीतिमा दखल भएको नेता भएको ढुंगानाको भनाइ छ ।

२०५१ को मध्यावधि निर्वाचनपछि सभामुख भएका रामचन्द्र पौडेल हाल राष्ट्रपति छन् । पूर्वसभामुखसमेत रहेका राष्ट्रपति पौडेलले नेम्वाङलाई गणतन्त्रका एक योद्धाका रूपमा स्मरण गर्दै उनको निधनबाट आफू दुःखी भएको जनाएका छन् ।  

यसैगरी २०५६ सालको प्रतिनिधिसभा निर्वाचनपछि सभामुख भएका तारानाथ रानाभाटले फरक पार्टी र विचार भए पनि नेम्वाङ एउटा मिल्ने सहपाठी भएको बताए । तर, २०६२/६३  को आन्दोलनले २०४७  को संविधान नै खारेज गरी संघीय गणतन्त्र स्थापना गर्न नेम्वाङले खेलेको भूमिकामा भने उनले असहमति राखे ।

‘व्यवस्था परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । दुई वटा विषयमा मेरो मत मिल्न सकेन । पहिलो, नेपाल जस्तो गरिब मुलुकमा संघीयता आवश्यक थिएन । दोस्रो, विश्वभर एकमात्र पहिचान भएको हिन्दुराज्य हटाइयो । त्यसमा मेरो मन मिलेन र मैले सभामुखको दाबी छाडेँ’, उनले भने ।

रानाभाटका अनुसार संसारभर हाम्रो पहिचान भनेको हिन्दु राष्ट्र हो । ‘यसलाई मेटाउन हुँदैन भनेर मैले गिरिजाप्रसादसँग पनि अडान राखेको थिएँ । उहाँले मान्नुभएन,’ उनले भने, ‘यसमा नेम्वाङजीको भूमिका पनि राम्रो देखिएन ।’

यद्यपि व्यक्तिगत रूपमा नेम्वाङ असाध्यै मिलनसार, मृदुभाषी, कसैलाई नबिझाउने मानिस भएको उनले चित्रण गरे । उनको निधनले आफू स्तब्ध भएको भन्दै खबर पाएपछि सबैभन्दा पहिला अस्पताल पुग्ने व्यक्ति आफू भएकोसमेत दाबी गरे ।

२०७२ को संविधान जारी भएपछि पहिलो महिला सभामुख भएकी ओनसरी घर्तीले नेम्वाङलाई अभिभावकको रूपमा चित्रण गरिन् । २०७० को दोस्रो संविधानसभा निर्वाचनपछि नेम्वाङ अध्यक्ष हुँदा उनी उपाध्यक्ष थिइन् । संविधान जारीपछि सहमतिमै आफूहरूले एकअर्कालाई राजीनामा बुझाएको पनि घर्तीले स्मरण गरिन् ।

त्यसपछि संसदमा नेम्वाङले सल्लाहकारको रूपमा अभिभावकीय भूमिका निर्वाह गरेको पनि उनले बताइन् ।

‘२०७२ मा हामीले सहमतिमा राजीनामा दियौँ । उहाँले राजीनामा गरेर मलाई दिनुभयो । मैले राजीनामा उहाँलाई बुझाएँ । त्यसपछि उहाँले अनौपचारिक रूपमा मेरो सल्लाहकारको भूमिका निर्वाह गर्नुभयो,’ पूर्वसभामुख घर्तीले भनिन् ।

अभिभावकको भूमिकाका रूपमा आफूलाई नेम्वाङले आवश्यक सुझाव र सल्लाह दिएको पनि उनले स्मरण गरिन् । ‘उहाँको मूल सिद्धान्त सहमति, सहकार्य र समन्वयकारी भूमिका थियो । उहाँले सुझाव र सल्लाह कसैका विरुद्ध वा कुभलो हुने गरी दिनुभएन’, नेम्वाङलाई सम्झिँदै घर्तीले भनिन् ।

२०७० मा आफू उपाध्यक्ष/उपसभामुख भएको बेलामा पनि नेम्वाङले वरिष्ठ हुँ भन्ने हेपाहा प्रवृत्ति कहिल्यै नदेखाएको उनले बताइन् । साथै बैठक सञ्चालनको विषयलाई लिएर कहिल्यै मनमुटाब नभएको उनले भनिन् ।

सबै दललाई मिलाएर सहमति र सहकार्य गरेर लैजानुपर्छ भन्ने हिसाबले सुझाव दिने र  जुनसुकै दल वा राजनीतिक पृष्ठभूमिबाट आए पनि सभामुख साझा हुनुपर्छ भन्ने कुरामा शालीन र अडिग रहने व्यक्तित्व भएको उनले बताइन् ।

संविधान जारीपश्चात् २०७४ मा भएको पहिलो संघीय निर्वाचनपछि सभामुख भएका कृष्णबहादुर महराले नेम्वाङको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको बताए । शान्ति प्रक्रिया, संविधान निर्माण र संसद् सञ्चालनमा नेम्वाङको भूमिका अविस्मरणीय भएको महराको भनाइ छ ।

‘शान्ति प्रक्रिया, संविधान निर्माण, संसद् सञ्चालनमा उहाँले सन्तुलित, समन्वयकारी र नेतृत्वदायी भूमिका खेल्नुभयो’, महराले भने, ‘यस दुःखद क्षणमा उहाँको निधनले सिङ्गो नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनलाई अतुलनीय क्षति पुगेको छ ।’

यसैगरी नेम्वाङको निधनप्रति अर्का पूर्व  सभामुख अग्निप्रसाद सापकोटाले पनि गहिरो दुःख व्यक्त गरेका छन् । संविधान निर्माणमा नेम्वाङले नेतृत्वदायी भूमिका खेलेको स्मरण गर्दै सापकोटाले शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउने नेम्वाङको तीव्र चाहना भए पनि पूरा नभएको भन्दै दुःख व्यक्त गरे ।

‘संविधान निर्माणमा उहाँले नेतृत्वदायी भूमिका खेल्नुभयो । शान्ति प्रक्रिया निष्कर्षमा पुर्‍याउन पनि सकारात्मक भूमिका रह्यो तर त्यो चाहना पूरा भएन । उहाँको अभाव प्रतिनिधिसभा र राष्ट्रिय राजनीतिमा खड्किरहने छ’, सापकोटाले भने ।

नेम्वाङलाई सन्तुलित, समन्वयकारी, समझदारी र सम्वाहकको रूपमा आफूले सम्झिने सापकोटाले बताए । शान्ति प्रक्रिया निष्कर्षमा पु¥याउन, सदनलाई प्रभावकारी, जीवन्त र जनमुखी बनाउने सवालमा नेम्वाङको भूमिकालाई सबैले शिक्षाका रूपमा लिनुपर्ने सापकोटाको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप